डोटी : जिल्लामा असार १० गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ । जिल्लामा चौथोपटक निषेधाज्ञा थप गर्ने निर्णय भएको हो । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले गए राति १२ बजेदेखि लागू हुने गरी असार १० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
कोभिड–१९ को सङ्क्रमण घटेको भए पनि नियन्त्रण हुन नसकेकाले निषेधाज्ञा केही खुकुलो गरी थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए । थपिएको निषेधाज्ञाको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, फैन्सी÷कपडा, निर्माण सामग्रीका पसल बिहान ७ देखि ११ बजेसम्म खोल्न पाइने भएको छ । बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० देखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने जनाइएको छ ।
विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाउने भएका छन् । निषेधाज्ञाको अवधिमा होटल, रेष्टुरेन्ट, सैलुन, ब्यूटीपार्लर, जिमहल र सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने निर्णय भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले जनाएको छ । भिडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, सेमिनार, खेलकूद गतिविधिलगायतका कार्यक्रम गर्न नपाइने उक्त सूचनामा उल्लेख गरिएको छ ।
कोरोनाबाट बच्न सचेतीकरण अभियान
दोस्रो चरणको कोरोना भाइरसका कारण जिल्लामा दैनिक सङ्क्रमणदर बढ्न थालेपछि यहाँको एक गैरसरकारी संस्थाले सचेतीकरण अभियान सञ्चालन गरेको छ । लामो समयदेखि जिल्लामा विभिन्न विकासमूलक तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सम विकास केन्द्र नेपालले कोरोना भाइरसबाट बच्न जिल्लामा १० दिने सचेतना अभियान सञ्चालन गरेको हो । एचबिसिसी, युनिलिभर र एक्सनएड नेपालसँगको सहकार्यमा स्थानीय समुदायमा कोरोनासम्बन्धी सचेतना फैलाउने उद्देश्यले युवा स्वयंसेवकको अगुवाइमा उक्त अभियान सञ्चालन गरिएको संस्थाका कार्यक्रम संयोजक केशव परियारले जानकारी दिए ।
उनका अनुसार यहाँका स्थानीय नागरिकलाई कोरोनाबाट जोगिने उपाय र सर्तकताबारे सचेतना गर्न सन्देशसहित माइकिङ, प्रचारप्रसार गर्ने गरिएको छ । संस्थाद्वारा परिचालित युवाहरुले समुदायमा गएर कोरोना भाइरसबारे जानकारी, यसको लक्षण, कोरोना सङ्क्रमण सर्ने कारण र त्यसबाट बच्ने उपायसम्बन्धी जानकारी दिन थालेको संस्थाका अध्यक्ष अधिराज बिसीले बताए ।
अभियानको शुरुआतमा दिपायल सिलगढी नगरपालिका–२, ४, ५, ६ र ७ का विभिन्न ठाउँमा सचेतनामूलक सन्देशसहित माइकिङ गरिएको छ । साथै उक्त अभियान दिपायल सिलगढी, शिखर नगरपालिका र केआइसिंह गाउँपालिकाका विभिन्न वडा तथा बस्तीमा १० दिनसम्म सञ्चालन गरिने संस्थाले जनाएको छ । जिल्लामा पछिल्लो समय कम्तीमा पनि एक हजार २०० कोरोनाका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस