सुर्खेत : बिहान ८ बजे बालाइएको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक १२ बजेपछि सुरु भयो । पुनर्वहाली भएका सांसदहरुको सहभागीमा आनाकानीपछि बैठक ४ घण्टा ढिलो सुरु भएको हो । बैठकमा पुनर्वहाली भएका चार जना सांसद मध्ये सांसद प्रकाश ज्वाला पनि सहभागि भएका छन् । नीति तथा कार्यक्रम पारित गर्ने र बजेट प्रस्तुत गर्ने समयमा चार जना सांसदको पुनर्वहाली भएसँगै सदनमा एमालेको संख्या २० पुगेको छ ।
संसदीय दलको बैठकमा पुनर्वहाली भएका चार सांसदहरु प्रकाश ज्वाला मध्ये तीन सांसद हाल कर्णालीका मन्त्री अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा बैठकमा सहभागी भएका छैनन् । सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ पेश हुनुअघि बिहान ८ बजेका लागि बैठकमा उपस्थित हुन उक्त चार सांसदलाई पत्राचार गरिएको थियो । एमालेका प्रमुख सचेतक गुलावजंग शाहले जेष्ठ ३१ गते नै आज बिहान ८ बजे संसदीय दलको बैठकमा सहभागीका पत्राचार गरेका थिए । उक्त पत्राचारको अस्विकार गर्दै ज्वाला बाहेक अन्य तीन सांसद बैठकमा अनुपस्थित नभएका हुन् ।
पुनर्वहाली भएका एक सांसदले उक्त पत्राचार आफु कहाँ आइ नपुगेको र आफुमाथि पार्टीले गरेको कारबाही तत्काल फिर्ता लगे मात्रै दलको बैठकमा सहभागी हुने बताए । उनले भने, ‘प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित पश्चात मात्रै हामी बैठकमा सहभागी हुने सल्लाह गरेका छौं,’ अहिले नै बैठकमा जाने भन्ने छैन । हामी आपसी छलफलमै छौं ।’
पार्टीको ह्वीप विपरित फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाएका चार जना सांसदलाई एमाले संसदीय दलले सांसद पद नरहने गरि कारबाही गरेको थियो । तर सर्वोच्च अदालतले उनीहरुलाई पुनर्वहाली गरिदिएपछि संसदीय दलको आजको बैठकमा सहभागी हुन एमालेले पत्राचार गरेको थियो ।
उक्त पत्राचार गरेपनि ज्वाला बाहेक आफुहरु बैठकमा सहभागी नभएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले जानकारी दिए । त्यस्तै सभामुख राजबहादुर शाहीले पुर्नवहाली चार सांसद एमाले नै भएको प्रदेशसभामा हिजोको बैठकमा घोषणा समेत गरेका छन् ।
सभामुख शाहीले पुनर्वहाली चार सांसदहरुलाई सदनको प्रतिपक्षकै सिटमा बस्नका लागि कुर्सी समेतको व्यवस्था गरी सकेका छन् । ज्वाला बैठकमा सहभागि भएपछि एमाले कर्णालीका कार्यकर्ता एमाले एक हुनेमा आशावादीमा छन । बैठकले सरकारको नीति तथा कार्यक्रम बारे धारणा तय गर्नेछ भने बजेट बारेमा आवश्यक सल्लाह गर्ने एमाले प्रमुख सचेतक शाहले जानकारी दिए ।