सुर्खेत : कर्णाली प्रदेशको आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले मंगलबारको बैठकमा आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन ।
यस वर्षको नयाँ बजेट नीति तथा कार्यक्रममा रहेर विनियोजन गरिएको मन्त्री शर्माले बताए । बजेट धेरै स्वास्थ्य र कृषिमा केन्द्रित रहेको छ । महामारीलाई मध्यनजर गरी प्रदेश सरकारले हालै पारित गरेको नीति तथा कार्यक्रममा समावेश स्वास्थ्य, शिक्षा र कृषिमा उत्पादनमुलक स्वरोजगार कार्यक्रमलाई प्राथमिकता लिइएको मन्त्री शर्माको दाबी छ ।
बजेट कोभिड–१९ को प्रभावका कारण विकास प्रयासमा गतिरोध उत्पन्न भएको यस प्रतिकूल परिस्थितिबीच सुझबुझपूर्ण प्रतिकार्य गर्दै कर्णाली प्रदेशको ‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’को दीर्घकालीन सोच हासिल गर्न प्रथम पञ्चवर्षीय योजनाले लिएका लक्ष्य, उद्देश्य, प्राथमिकता तथा रणनीतिहरू कार्यान्वयन गर्दै गरिबी निवारण र आर्थिक–सामाजिक रुपान्तरणसहितको समानुपातिक समावेशी विकास हासिल गर्ने दिशामा आगामी कार्यक्रमहरू केन्द्रित गर्दे बजेट विनियोजन गरिएको मन्त्री शर्माले थपे ।
यस्तै कर्णालीमा दिगो र समावेशी आर्थिक वृद्धि हाँसिल गर्दै सामाजिक, आर्थिक न्यायसहितको विकासका लागि ‘स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगार दिगो विकास र समृद्धिको लागि पूर्वाधार’ भन्ने मूल ध्येय लिइएको बजेटमा उल्लेख छ।
कोरोना नियन्त्रणका लागि ५३ करोड
कर्णाली प्रदेशले कोरोना नियन्त्रणका लागि ५३ करोड ९३ लाख बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै आर्थिक मन्त्री शर्माले कोरोना नियन्त्रणका लागि ५३ करोड ९३ लाख बजेट विनियोजन गरेको बताए ।
प्रदेश अस्पताल सुर्खेतलाई ५ सय शय्या, डोल्पा, मुगु र हुम्ला जिल्ला अस्पताललाई ५० शय्या, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान अस्पताललाई १०० शय्याका रुपमा स्तरोन्नतिका साथै प्रदेशका सबै जिल्लामा मिनी अक्सिजन प्लान्ट सञ्चालन गरिने भएको छ।
भने, कोरोना नियन्त्रण तथा रोकथाका लागि अत्यावश्यक साम्रगी, तोकिएका अस्पतालमा निःशुल्क उपचार तथा पोसिलो खाना तथा कर्णालीबासीलाई कोरोना खोपको लागि तथा समग्र कर्णालीको स्वास्थ्य सेवा सुदृढीकरणका लागि २ अर्ब ६१ करोड बजेट विनियोजन गरिएको मन्त्री शर्माले बताए ।
स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता
कोरोना महामारीबाट नागरिकको जीवन रक्षा सम्पुर्ण कर्णालीबासीलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको छ । प्रदेशका मुख्य नाका सल्यानको कपुरकोट र सुर्खेतको बबईमा सेन्सरसहितको हेल्थ डेस्क राखिने भएको छ । महामारी नियन्त्रणमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मीलाई तलबको शतप्रतिशत जोखिमभक्ता दिने भएको छ ।
विपत्तिको लागि १ करोड
कर्णालीमा हुने वर्षेनी बाढी, पहिरो, आगलागी, जस्ता विपद् हुने क्षेतीको सामना गर्न तथा विपदमा परेका नागरिकलाई तत्काल उद्धारको लागि एक करोड रकम विनियोजन गरिएको छ ।
तीन जिल्लामा नमुना विद्यालय
कर्णालीका तीन जिल्लामा नमुना शिक्षालयको स्थापना गरिने भएको छ । कर्णाली प्रदेशमा ६७ प्रतिशत मात्रै नागरिक साक्षर रहेको बताउँदै मन्त्री शर्माले कर्णाली प्रदेशलाई पुर्ण साक्षर बनाउँनको लागि तीन जिल्लामा नमुना शिक्षालयको स्थापना हुने बताए । जसमा जुम्ला, रुकुमपश्चिम र सुर्खेतमा स्थापना हुने छन् । भने स्थापनाको लागि आवश्यक बजेट विनियोजन गरिएको बताए । साथै कर्णाली स्थापना तथा अन्य कारणले शहिद भएका परिवारका सदस्यले स्नातक तह सम्म निःशुल्क पढ्न पाउँने व्यवस्था गरिने भएको छ ।