दैलेख: कोरोनाको दोस्रो लहरले दैलेख लगायत कर्णालीका अन्य जिल्लाहरुमा भयावह रुप लिएको छ । कतै अक्सिजन नभइ ज्यान गुमाउनुपर्ने अवस्था छ । लक्षण देखिएका विरामीहरुले सिटामोल समेत पाएका छैनन् । यसलाई मध्यनजर गर्दै सामाजिक सेवा केन्द सोसेकले दैलेख, कालिकोट, अछामका जिल्लाहरुमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि ५४ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । तीन जिल्लामा सञ्चालित सोसेकको कार्यक्रमले महामारी नियन्त्रणमा सहयोग गरेको संस्थाका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले बताए ।
मंगलबार सोसेकले सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले गुराँस गाउँपालिकालाई ८ लाख ६० हजार बराबरको सामग्री सहयोग समेत गरेको छ । गाउँपालिकालाई एन्टिजेन किट, पीपीइ , वेड, डेडवडी ब्याग, स्प्रे पम्प, पल्स अक्सिमिटर, सर्जिकल मास्क र ग्लोब्स सहयोग गरेको बताइएको छ । उक्त संस्थाद्धारा सञ्चालित साकार परियोजना मार्फत दैलेखको दुल्लु र आठविस नगरपालिका तथा अछामको पंचदेवल विनायक नगरपालिकालाई १२ लाख २५ हजार बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको थियो । भने, आधार परियोजनामार्फत दैलेखको भैरबी गाउँपालिका, कालिकोटको पलाँता गाउँपालिका र खाँडाचक्र नगरपालिका, जिल्ला प्रहरी कार्यालय कालिकोट र दैलेख, पत्रकार महासंघ कालिकोट र दैलेख, नारायण नगरपालिका र राउटे नागरिकहरुलाई ७ लाख २६ हजार बराबरको अक्सिजन सिलिण्डर, मास्क, पीपिइ , अक्सिमिटर, ग्लोब्स, स्प्रे ट्यांकी, फेससिल्ड लगाएतका सामग्री सहयोग गरिएको निर्देशक श्रेष्ठले बताए ।
ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामार्फत ४० हजार बराबरको मास्क र सेनिटाइजर नौमूले गाउँपालिकालाई सहयोग गरिएको छ । हेल्भेटास स्वीसइन्टरकोअपरेशन नेपाल/एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रममार्फत दुल्लु नगरपालिकास्थित दुल्लु अस्पताल र डुङ्गेश्वर गाउँपालिकालाई ३ वटा अक्सिजन कन्सन्ट्रेटर २ वटा अक्सिजन सिलिण्डर सहित १५ लाख ३१ हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेको संस्थाले जनाएको छ । संस्थाका अनुसार उत्थान परियोजनामार्फत दुल्लु नगरपालिका र आठवीस नगरपालिका तथा दैलेख आइसोलेसन अस्पताल, नौमूले गाउँपालिका र समुदायस्तरमा १० लाख १८ हजार बराबरको स्वास्थ्य उपकरण, सरसफाई र सुरक्षाका सामग्री सहयोग गरिएको छ । मंगलबार नेपाल पत्रकार महासंघ दैलेखको समन्वयमा सोसेकद्धारा आयोजित जिल्लामा क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।