सुर्खेत : केही दिनयता अविरल वर्षाका कारण देशका विभिन्न ठाउँहरुमा बाढी पहिरोको जोखिम बढेको छ । यस्तो बेला कर्णालीका विभिन्न ठाउँहरुमा बाढीले उथल पुथल बनाएको छ । यस विपद्लाई प्रतिकार्य गर्न कर्णााली सरकार पनि आफ्नो तहबाट जुटिरहेको छ ।
गएको चार दिनअघि नेपाल प्रवेश गरेको यो वर्षको मनसुन सक्रिय भएसँगै लगातार वर्षा परेको छ । कर्णाली प्रदेशको सुर्खेतलगायत छिमेकी जिल्लाहरु बाढीपहिरोको उच्च जोखिममा रहेको भन्दै प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले प्रदेश नागरिकलाई सर्तक रहन आग्रह समेत गरेको छ ।
बुधबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद न्युनिकरणका लागि जुट्न सबै स्थानीय तहहरुसँग समन्वय गरेर अघि बढ्ने बताइएको छ । कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित सिम्ता, भुप्रा, चिंगगाड, खहरे, गोछे, इत्राम, खोर्के, निकास खोला, भेरी तथा कर्णाली नदीको तटिय क्षेत्र आसपासमा बाढीपहिरोको उच्च जोखिम देखिएको छ ।
तर पनि यस बर्ष पनि असार लागेसँगै निरन्तर बर्ष हुँदा गतबर्ष जस्तो विपत्ति रोक्न विपद् न्यूनिकरणका लागि सरकारले तयारी थालेको हो । तर मनसुन सक्रिय भइरहँदा राहत, उद्धार र व्यवस्थापनका सामग्री भण्डार भने भएका छैनन् । ‘ विपद् व्यवस्थापनका सामग्री भण्डारण गर्नका लागि गोदाम घर त तयार छ । आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले भने, ‘गोदाममा राहत र उद्धार लागि चाहिने सामग्री कुनै पनि छैनन ।’
विपद् प्रतिकार्यका लागि १० करोड बजेट
कर्णाली प्रदेश सरकारले बाढी र पहिरो जस्ता विपद्सँग जुध्नका लागि १० करोड बजेट छुट्याउने निर्णय गरेको छ । प्रदेश विपद् व्यवस्थापन परिषद्को कोषमा तत्काल १० करोड रुपैयाँ छुट्याउने निर्णय गरेको सरकारको प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानूनी मन्त्री सीताकुमारी नेपालीले जानकारी दिइन् ।
उक्त रकम विपद् प्रतिकार्यका लागि आवश्यक सामग्री खरिद तथा जनशक्ति परिचालन गरिने छ । यस्तै बाढी पहिरोको जोखिममा रहेका बस्तीमा बाढीको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । मन्त्रालयले सम्बन्धित जिल्ला र स्थानीय तहसँगको समन्वयमा बाढीपहिरोको जोखिममा रहेको बस्तीमा प्रभावकारी सूचना प्रवाह गर्नेछ ।
डोजर तयारी अवस्थामा
बर्खायाममा बाढी र पहिरोले सडक अवरुद्ध हुनसक्ने भन्दै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको समन्वयमा मुख्य राजमार्गमा डोजर तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । कर्णाली राजमार्ग, छिन्चु–जाजरकोट सडक खण्ड र राप्ती लोकमार्गमा डोजर तयारी अवस्थामा राख्ने निर्णय गरिएको हो । मन्त्रालयले ती सडक खण्डमा सडक डिभिजन कार्यालयहरु र सम्बन्धित विपद् व्यवस्थापन समितिको समन्वयमा डोजरहरु राख्ने जनाएको छ ।
वडास्तरमा तालिम प्राप्त स्वयंसेवक परिचालन
विपद् व्यवस्थापन परिषद्को बैठकलले जोखिबाट हुने क्षति कम गर्नका लागि वडास्तरमा स्वयंसेवक परिचालन गरिने निर्णय गरेको छ । सम्बन्धित स्थानीय तहको समन्वयमा खोलाको किनार, बगर र पहाडी इलाकाहरुमा बस्तीहरुलाई बाढी आउनु पूर्व नै बस्ती छोड्न सूचना गरिने छ । स्वयंसेवक हरुलाई नेपाल प्रहरीले उद्धारको तालिम दिनेछ ।
साथै विपद्मा घटनास्थलमै पुगेर उपचार गर्नको लागि स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा राख्न सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । मन्त्रालयले सम्बन्धित जिल्ला, स्थानीय तह र प्रदेश अस्पतालसँग समन्वय गरेर स्वास्थ्यकर्मी घटनास्थलमै पठाउने छ । स्वास्थ्यकर्मी परिचालन र व्यवस्थापनको जिम्मेवारी प्रदेश स्वास्थ्य निर्देशनालयलाई दिइने छ ।
प्रतिकार्यक्रमा खटिन निर्देशन
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विपद् प्रतिकार्यमा खटिन मातहतका निकायलाई निर्देशन गरेको छन् । बुधबार प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन् ।
बर्खायाम सुरु भएसँगै बाढी पहिरोको जोखिम बढेका कारण विपद् प्रतिकार्यमा खटिन निर्देशन दिएका हुन् । विपद् जोखिम क्षेत्रमा वसोवास गरिरहेका नागरिकहरूलाई सचेत गर्न र अस्थायी रूपमा सुरक्षित ठाउँमा वसोवास सार्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएका छन् ।
कर्णालीमा बाढीको उच्च जोखिम, सर्तक रहन प्रशासनको आग्रह
सुर्खेतका विभिन्न क्षेत्रमा बसोवास गर्ने नागरिकलाई उच्च सर्तकता अपनाउन प्रशासनले सचेत रहन आग्रह गरेको छ । जोखिमयुक्त स्थानमा बसोबास गर्ने समुदायले सर्तकता अपनाउन तथा कुनै अप्रिय घटना घटेमा स्थानीय वडा, गाउँपालिका, नगरपालिका तथा सुरक्षा निकायमा जानकारी गराउनको लागि अनुरोध गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
देशैभर मनसुन सक्रिय भएसँगै पछिल्ला केही दिनयता कर्णालीसहित अधिकांश भू-भागमा भारी वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा सुर्खेतमा ४१ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ । यस्तै कर्णालीका अन्य जिल्ला दैलेखमा, जाजरकोटमा, हुम्ला विमानस्थलमा वर्षा भएको छ । पानी निरन्तर परिरहदा कर्णाली नदी आसपास, दैलेख, अछाम, कालीकोट लगायत केही क्षेत्रमा बसोवास गर्ने नागरिकलाई उच्च सर्तकता अपनाउन सुर्खेत प्रशासनले आग्रह गरेको हो ।