कालिकोट : अविरल वर्षापछि कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक खण्ड अवरुद्ध भएको छ । दैलेखको किटु, कालीकोटको गगनेखोला, हुल्म, सुनारखोला, पिली सेराबाड, खल्लागाड, भिग्म लगायत ठाउँमा पहिरो खनिदा सडक अवरुद्ध हो । अवरुद्ध हुँदा कालीकोट, जुम्ला र मुगुका लागि दैनिक उपभोग्य सामान र निर्माण सामग्री बोकेका गाडी बाटोमै रोकिएका छन् ।
अवरुद्ध सडक खुलाउन मंगलबार पहिरो पन्छाए पनि वर्षा नरोकिएकाले राजमार्ग पुनः अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । पहिरोले सडक अवरुद्ध हुँदा बाटोमा सास्ती भएको समाज कल्याण परिषद्का सदस्य गोविन्द बहादुर शाहीले बताए । वर्षाले ठाउँठाउँमा पहिरो खसेपछि जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।
कालिकोटमा गत बर्ष पहिरोले घर क्षतिग्रस्त भएका पीडित परिवारलाई बाँसको समस्या थपिएको छ । ‘पानी परेपछि पहिरो झरिहाल्ने समस्या बढी छ । पूर्वतयारी गर्न सकिएन भने फेरि विपद्ले सताउन सक्छ । त्यसैले अहिले जिल्ला विपद् व्यवस्थापन समिति पुर्व तयारीमा लागिरहेको प्रजिअ आचार्यले भने ।
दुई साता अघि कालिकोट पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सहभागितामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गत वर्ष जिल्लाभर भत्किएका १ हजार १ सय घर निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको छ । यसका लागि प्रदेश सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
बैठकले स्थानीय तहमा सडक अवरुद्ध नहुँदै आवश्यक खाद्यान्न र उद्धार सामग्री भण्डारण गर्ने, प्रत्येक वडामा उद्धारमा सहयोग गर्न खोज तथा उद्धार टोली गठन गर्ने लगायतका निर्णय गरेको थियो । यसै बीच कर्णाली प्रदेश सरकारले बाढी–पहिरो जस्ता विपद् प्रतिकार्यका लागि १० करोड बजेट छुट्ट्याउने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले विपद् कोषमा तत्काल उक्त रकम छुट्ट्याउने निर्णय गरेको हो ।