काठमाडौँ : विपक्षीको चर्को आलोचना खेपेर पनि कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याएको छ । नीति तथा कार्यक्रममा धेरै जटिलता व्यहोरेको कर्णाली प्रदेश सरकारले बजेट भने सहजै ल्याएको हो । गएको वर्षभन्दा तीन अर्ब बढी अर्थात ३६ अर्बको बजेट सरकारले ल्याएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध चर्काउँदा नीति तथा कार्यक्रम र बजेट पारित गर्न नदिने रणनीति बनाएको थियो । तर एमाले माधव नेपाल पक्षका सांसदले नैतिक जिम्मेवारी लिँदै मुख्यमन्त्री महेन्द्र शाहीलाइ दिएको समर्थन अनुसार नीति तथा कार्यक्रम र बजेट पारित गर्न सघाएका थिए ।
सोही अनुसार निकै मुश्किलले प्रदेश सरकारले बजेट तथा नीति एवं कार्यक्रम पारित गर्न सफल भएको हो । तर रोचक के छ भने चार वर्षअघि कर्णाली प्रदेश सरकारले तय गरेको पुरानै नारालाई यस वर्ष पनि निरन्तरता दिइएको छ ।
जसको अर्थ, औचित्य र सार्थकता न बजेटमा देखिन्छ । न त नीति तथा कार्यक्रममा छ । चार वर्षअघि नेकपा एमाले र माओवादी एक भएर नेकपा बनेका बेला सरकारले समृद्ध नेपाल, सुखी नेपाली नारा अघि सारेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले सो नारा तय गरेका थिए । जुन नारा केन्द्र सरकारमा अझै चर्चित छ । त्यतिबेला हुबहु नक्कल गरेर समृद्ध कर्णाली, सुखी कर्णालीबासी नारा अहिले पनि कायमै छ ।
जबकी कर्णालीमा अहिले माओवादी केन्द्रकै सरकार छ । मुख्य सत्ता साझेदार नेकपा एमाले प्रतिपक्षमा बसेको छ । ओलीले तय गरेको नारा त्यतिबेला एमाले र माओवादी मिलेका बेला सोही नारा नक्कलै गरेर कर्णालीको नाममा हालिएको थियो ।
तर अहिले दुई पार्टी अलग हुँदा पनि कर्णाली प्रदेश सरकारले पुरानै नारा तय गरेको छ । त्यो हो, समृद्ध कर्णाली, सुखारी कर्णालीबासी । जबकी कर्णालीको अहिलेको विशेषता सुखी कर्णाली होइन, रोजगारी र विकासले तडपिएको कर्णाली हो ।
यसतर्फ सरकारको ध्यान गएको छैन । हुन त कांग्रेससँग सत्ता सहकार्य गरेको माओवादीका मुख्यमन्त्रीले ६ महिनापछि स्वतः राजीनामा दिनेछन् । त्यसपछि कांग्रेसका संसदीय दलका नेता जीवन शाही मुख्यमन्त्री बन्ने चर्चा छ । तर यसका लागि दुई कित्तामा उभिएको एमाले जतिसक्दो छिटो मिलेमा यो आशंका सिमित रहनेछ ।
समृद्धिको नारामा जलस्रोत, कृषि र पर्यटन गायब
कर्णाली प्रदेश सरकारले ल्याएको नारा आफैमा अपुरो, अधुरो र चिन्ताको जस्तो देखिन्छ । कर्णालीको वास्तविकता र नाराको तालमेल भने बजेटमा देखिदैन् । प्रदेश सरकारको कामको सफलता र नयाँ कणाृली बनाउनका लागि नारा पनि तय गरिएको छ ।
अर्थमन्त्री गोपाल शर्माले कर्णाली प्रदेशको समृद्धको आधारका लागि सार्वजनिक गरिएको नारा आफैमा अधुरो र अपुरो देखिन्छ । समृद्ध कर्णालीको आधार ः शिक्षा, स्वास्थ्य, उत्पादन र पूर्वाधार भन्ने तय गरिएको छ ।
यो किन अपुरो नारा हो भने कर्णालीको समृद्धका लागि नयाँ नारा तय गर्ने होइन, कर्णालीमा भएको प्राकृतिक स्रोत साधनमाथि विश्वास गर्ने हो । जसलाई थप प्रचार प्रसार गरेर कर्णालीमा पर्यटक भित्र्याउने हो ।
यसै पनि कर्णालीमा पर्यटनको सम्भावना धेरै छ । पर्यटन, कृषि र जलविद्युतले भरिपूर्ण कर्णालीको यो सम्पति प्रदेश सरकारको नारामा समेटिएको छैन् । खाली कर्मकाण्डी बजेट ल्याउन कर्णाली प्रदेश सरकारले यसमाथि कुनै गम्भीर छलफल गरेको देखिदैन ।
जसले गर्दा आफ्नो सरकारले कार्यान्वयन नगर्ने भएपछि बजेटका लागि मात्रै मुख्यमन्त्री महेन्द्र शाही सरकारले बजेट ल्याएको देखिन्छ ।