काठमाडौ, १६ चैत । दक्षिण एसियामा सबैभन्दा ठूलो जोखिम मानिएको भारतमा कोरोनबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ५ जनाको ज्यान गएको हो । दुई हप्ताअघि भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या शुरु भएको थियो ।
अहिलेसम्म ९ सय ८७ जनामा कोरोना संक्रमण देखिएकामा ८७ जना मात्रै उपचारपछि घर फर्किएका छन । बाँकी सबैको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कोरोना भाइरस चीनबाट युरोप पुग्दा दक्षिण एसियामा भारत 'इपिसेन्टर' बन्ने अनुमान गरिएको थियो ।
तर युरोपमा इटाली र स्पेन कोरोनाको इपिसेन्टर बन्दा भारत भने धेरै हदसम्म सम्हालिएको छ । अहिले कोरोनाले अमेरिकालाई केन्द्रबिन्दु बनाएको छ । सानो लापरबाहीबाट पनि ठूलो क्षति हुने भएपछि भारतले समयमै लकडाउन गर्दा क्षति घटाउन सफल भएको विश्लेषण छ ।
भारतपछि पाकिस्तानमा पनि ज्यान गुमाउनेको संख्या बढेको छ । पाकिस्तानमा अहिलेसम्म १२ जनाले ज्यान गुमाउँदा १४ सय ९५ जना संक्रमित छन । पाकिस्तानमा भारतको भन्दा छिटो र धेरैमा कोरोना फैलिएको छ । भारत र पाकिस्तानबाहेक अरु देशमा कोरोनाको संक्रमण त्यति धेरै फैलिसकेको छैन ।
भारतमा भयभीत नेपाली !
यतिबेला भारतमा अरु कसैलाई समस्या छ भने ती नेपाली हुन । साँझ बिहान मजदुरी गरेर आफू र आफ्नो परिवार पालिरहेका नेपालीलाई भारतमा ठूलो संकट आइलागेको छ । कतिपयले नेपाल फर्किने भनेर नौकरी छाडेर रेलयात्रा शुरु गरिसकेका थिए । कतिपय नेपाली सीमासम्मै पुगिसकेका पनि थिए ।
तर भारतले लकडाउन शुरु गरेको पर्सिपल्टै नेपालले समेत लकडाउन गरेपछि नेपालीहरु अलपत्र परेका छन । भारतका दिल्ली, गुजराज, मुम्बईका शहरमा नेपालीका कहालीलाग्दा दिन बितिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
भारतका विभिन्न सडकमा काखे बालबच्चा च्यापेर अलपत्र परेका नेपालीको कहालीलाग्दो अवस्थाका बारेमा भारतीय मिडियाले स्थलगत रिर्पोट समेत सार्वजनिक गरेका छन । जुन हेरेर नेपालीको मुटु भक्कानिने गरेको छ ।
दुबै देशका सरकारले लकडाउन गरेपछि घरमै बस्नुपर्ने बेला भारतमा रहेका केही नेपाली सडकमै रात कटाउन बाध्य छन ।