सल्यान : अविरल वर्षाका कारण कर्णाली लगायत अन्य ठाउँहरुमा बाढी पहिरो खनिएको छ । पहिरोले राप्ती राजमार्गसहित दुई दर्जन ग्रामीण सडक अवरुद्ध छन । सडकमा खसेको पहिरो हटाउने काम जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार खलंगा–बालुवासंग्रही, त्रिवेणी–काभ्रा–रामपुर, त्रिवेणी– फलाबाङ, लुहाम–पिमखोला, कालीमाटी–दम्दवाली, छत्रेश्वरी–झिम्पे, बाग्चौर– दार्मा, बाग्चौर– रागेचौर–चौरजहारी लगायतका सडकहरु अवरुद्ध भएका छन । सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ । पहिरो प्रहरी सडक विभागले पन्छ्याउँदै गएको छ ।
खलंगा–लक्ष्मीपुर, बरला–सापमारा, बरला– माल्नेटा, रामेखोला–ओखरेनी, ढोडचौर–कालालेख,चाक्लिघाट–कुमाख, बाबियाचौर–निगालचुला, सल्लीबजार–बामे, कपुरकोट–रिम, कपुरकोट–गर्पा, लान्ती–दहखोला, मौख्ला– दमाचौर सडक पनि बन्द भएको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण कपुरकोट गाउँपालिका–३ दसरेमा पहिरो खस्दा बुधबारदेखि राप्ती लोकमार्ग अवरुद्ध भएको छ । लगातार भइरहेको वर्षाका कारण खसेको पहिरो पन्छाउन समस्या भएको हो । पहिरोले दाङ, सल्यान र रुकुमको सडक सम्बन्धविच्छेद बनाएपछि यात्रुहरू हिँडेरै गन्तव्यमा जान बाध्य छन् । डोजरले समयमै पहिरो हटाउन नसक्दा झन्डै एक सय मालबाहक गाडी सडकमै अलपत्र परेका छन् । झन्डै ५० यात्रुबाहक गाडीलाई कपुरकोट र तुलसीपुरमा रोकिएको छ ।
डोजर लगाएर पहिरो पन्छाउन खोजिए पनि माथिबाट ढुंगा खस्ने क्रम नरोकिएकाले सडक सुचारु गर्न समस्या भएको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए । उनका अनुसार धेरै जोखिम भएपछि पहिरो पन्छाउने काम रोकिएको छ । सडक अवरुद्ध भएपछि किसानले उत्पादन गरेको तरकारीले बजार नपाएको कपुरकोट तरकारी हाटबजारका सचिव तिलक शर्माले बताए । उनका अनुसार कपुरकोट हाटबजारमा झन्डै १० लाख रुपैयाँको ताजा तरकारी थन्किएको छ । ‘राजमार्ग र अधिकांश ग्रामीण सडकमा जताततै पहिरैपहिरो छ,’ उनले भने, ‘वर्षा नरोकिएकाले किसानले उत्पादन गरेको तरकारी घरमै कुहिने अवस्था आयो ।’ सडक बन्द भएपछि गम्भीर अवस्थाका बिरामी र कोरोना संक्रमितलाई अस्पताल लैजान समस्या भएको छ । लगातारको वर्षापछि आएको बाढीले दुई जनाको मृत्यु भएको डीएसपी थापाले बताए । उनका अनुसार कपुरकोट र छत्रेश्वरीमा दुई घर भत्किएका छन् । झन्डै एक दर्जन परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।