नयाँ आर्थिक वर्षका लागि स्थानीय तहले पनि बजेट ल्याउन सुरु गरेका छन् । संघीय र प्रदेश सरकारले बजेट ल्याइसकेपछि अब स्थानीय तहले पनि बजेट ल्याउन थालेका हुन् । बजेट ल्याउँदा यसपटक उनीहरुले कुन कुन कुरालाई प्राथमिकता राख्छन् भन्ने चाँसो छ । त्यो बाहेक उनीहरुले यस वर्ष मुख्य के के काम गरे त ? कसरी यस वर्षको बजेट सदुपयोग गरे ? कुन कुन विकास निर्माणका काम उनीहरुले गरे ? स्थानीय तहलाई केन्द्र र प्रदेश सरकारले बजेट दिन्छन् । तर त्यसलाई उनीहरुले नगरसभा तथा गाउँसभाबाट पारित गर्नुपर्छ । त्यतिबेला बजेट विनियोजन गरिएको हुन्छ । हुम्लाका स्थानीय तहले यस वर्षको आर्थिक वर्ष सकिनै लाग्दा कस्तो काम गरे । अनि आगामी बजेटको तयारी कस्तो छ ? यसबारे खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलसँग पत्रकार राजन रावतले गरेको कुराकानीको सम्पादित अंशः
आर्थिक वर्ष सकिन लाग्यो चालु आर्थिक वर्षमा मुख्य उपलब्धीहरु के के भए ?
योजना तर्जुमादेखि कार्यान्वयनको चरण रहँदासम्म कोरोना कहरकै बिचमा चल्नु परेको छ । भएको साधन र श्रोतबाट प्रत्यक्ष रुपमा देखिने गरि काय गर्ने योजनाहरु तर्जुमा गरिएका थिए । ती अहिले कार्यान्वयनका चरणमा छन् । त्यसमा गाउँपालिकाको थप भवन, दुई वटा वडा कार्यालय भवन, घेराबार, वडा जोड्ने सडक पुर्वाधारका काम थिए । ती पुरा भएका छन् । त्यसै गरि गाउँपालिकामा स्थापना भएको सामुदायिक अस्पताल चिकित्सकको व्यवस्था भएको छ । १०१ प्रकारका औषधी गाउँपालिकाले वडामा रहेका स्वास्थ्य संस्था मार्फत निशुल्क बितरण गर्ने कार्य गरिएको छ । अर्को कुरा स्वास्थ्यतर्फ घुम्ती उपचार सेवाले घरघरमा गएर उपचार गर्ने कामले नयाँ र प्रभाबकारी कार्यको थालनी भएको छ । यसवाट स्वास्थ्यमा सबै नागरिकको सहज पहुँच भएको छ ।
अब आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट प्रस्तुत गर्ने तयारीमा हुनुहुन्छ, के कस्तो छ तयारी ?
आगामी १० गते गाउँपालिकाले सभामा बजेट प्रस्तुत गर्ने अन्तिम तयारी भई रहेको छ । सबै बस्ती र वडालाई समेट्ने गरि योजना तर्जुमा गर्ने कार्य भई रहेको छ । सामाजिक सुरक्षा र राजस्व बाँडफाँड बाहेक २८ करोड बजेट सिलिङ आएको छ । त्यसमा गाउँपालिकाले सात करोड मात्र निसर्तमा आएको बजेटलाई स्वास्थ्य र प्रत्यक्ष रुपमा लाभ पुग्ने गरि बजेटले प्राथमिकता दिनेछ । त्यसै अनुसार गाउँपालिकाले वडालाई कार्यक्रम तर्जुमा गर्न आग्रह गरेको छ ।
यसबाट प्राथमिकता दिनु पर्ने कार्यहरु के के हुन सक्छन् ?
पहिलो कुरा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिनेछ । कोभिडलाई पनि यसैमा समेट्ने छौ । अर्को गाउँपालिकाका पाँच वटै वडाका नागरिकहरुको स्वास्थ्य बिमा निशुल्क गर्ने कार्यक्रम पनि समेटिनेछ । अर्को वडा नम्बर ४ र ५ को वडा कार्यालय भवन निर्माण हुन सकेको छैन । ती भवन निर्माण हुनेछन् । वडा नम्बर २ मा बिधुतीकरण हुन बाँकी छ । त्यो पनि आगामी आर्थिक वर्षको बजेटले समेट्ने छ ।
खानेपानी र सिंचाईलाई पनि प्राथमिकतामा राखिनेछ । यो भन्दैमा शिक्षालाई कम आकेको होईन । शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखिनेछ । हालसम्मको अवधिमा शिक्षालाई प्राथमिकतामै राखिएको छ । कृषि, खानेपानी, सिंचाईलाई प्राथमिकता दिएर उत्पादनमा वृद्धि गर्नुछ । स्वरोजगारी सिर्जना हुने खालका कार्यक्रमलाई पनि बजेटले समेट्नेछ । दलित, महिला र अन्य समावेशीताका कुरालाई ध्यान दिईनेछ ।
प्राथमिकता अनुसार बजेटको व्यवस्था के हुन्छ ?
ुबजेटको सीमा ज्यादै न्यून छ । कुल गाउँ पालिकामा आउने बजेट मध्य निशर्तको बजेट झन थोरै छ । तर पनि भएकै बजेट सिमालाई ध्यानमा राखेर कार्यक्रम ल्याउने तयारी छ । अर्को लगानी कम तर प्रतिफल बढी आउने कार्यक्रमलाई ध्यान दिईनेछ । साझेदारीका कार्यक्रमलाई पनि ध्यान दिनु आबश्यक छ । यसका लागि समन्वय पनि गरिनेछ ।
प्रत्यक्ष लाभान्वित हुने कार्यक्रम भन्नु भएको छ, ती कस्ता कार्यक्रम हुन ?
कम लगानी गरेर फाईदा बढी हुने कार्यक्रमलाई बढी ध्यान दिईनेछ । जस्तो फलफुल खेती, तरकारी खेती, आयआर्जनका कार्यक्रम यस भित्र पर्छन् । सम्भावना भएको आयआर्जनका नयाँ कार्यक्रम पनि छन् । न्यून आय भएका जनतालाई यसमा समेटिनेछ । देखिने र लाभान्वित हुने कार्यक्रमहरु यसमा पर्छन ।
बजेट तर्जुमा गर्दाका चुनौति र समेट्नुपर्ने विषय के के हुन् ?
यसमा मुख्य कुरा ठाउँ, भौगोलिक अवस्थाले गर्दा बजेट सिमा मुख्य चुनौती रहेको छ । हाम्रो जस्तो महंगी रहेको ठाउँका लागि अहिलेको बजेट निक्कै सानो हो । यसलाई व्यवस्थापन गर्न मुख्य चुनौती हो । अरु आफ्नै श्रोत नभएको बेला संघ र प्रदेशको मुख ताक्नुको विकल्प छैन । यो पनि समस्याकै रुपमा छ । यसका लागि अहिलेको बजेट विनियोजित गर्ने प्रर्णालीमा सुधार गर्नु आबश्यक छ ।
अन्तमा केही भन्नु छ ?
अब यो बजेट तर्जुमा अहिलेको यो कार्यकालको अन्तिम हो । हालसम्म केही कामहरु भएका छन् । जो जनताका पक्षमा छन् । अब नयाँ कार्यक्रमले पनि जनताकै चाहाना र इच्छा अनुसारका कार्यक्रम ल्याउने छाँै । यसका लागि जनताको पनि सहयोगको अपेक्षा राखेका छौँ ।