काठमाडौ । भारतमा रहेका नेपालीले आफूहरु अहिलेसम्म सुरक्षित रहेको बताएका छन । चैत १० गतेदेखि लकडाउन शुरु भएको भारतमा बाहिर निस्कन मनाही छ । बाहिर निस्कन नपाएपनि घर तथा रुमभित्रै सुरक्षित रहेको उनीहरुले बताएका छन ।
भारतका पुना, मुम्बई र केरला राज्यमा कोरोनाको संक्रमण धेरै देखिएको छ । तर गुजरातमा अहिलेसम्म कोरोनाको संक्रमण त्यति धेरै फैलिसकेको छैन । केही भारतीयमा संक्रमण देखिएपनि नेपालीहरु कोरोनाबाट संक्रमित नभएको गुजरातमा रहेका नेपालीहरुले बताएका छन ।
गएको आइतबारदेखि कोठाभित्रै बसिरहेका नेपालीको अवस्था कस्तो छ त ? घरमा आमाबुवा र गाउँलेले असाध्यै चिन्ता गरेको जस्तो अवस्था भयावह नै हो त ? हामीले गुजरातको मुर्मीमा कार्यरत सुर्खेत चौकुने गाउँपालिका ९ घाटगाउँका धर्मेन्द्र परियारसँग अनलाईन कुराकानी गरेका छौ । बाँकी कुरा उनकै शब्दमा :
गुजरातका नेपालीमा संक्रमण छैन !
भारत लकडाउन भएको आज आइतबार एक हप्ता पूरा भएको छ । गएको आइतबार जनता कप्mर्युका रुपमा शूरु भएको लकडाउन अहिलेसम्म जारी छ । यो अवस्था सरकारले अझै दुई हप्ता लम्ब्याएको छ ।
सायद चैत महिनाभरी हामीले यसैगरी कोठाभित्रै बस्नुपर्ने हुन सक्छ । तर खुशीको कुरा अहिलेसम्म भारतमा कोही नेपालीले कोरोनाका कारण ज्यान गुमाउनु परेको छैन ।
नेपालीहरु कोरोनाको संक्रमणमा रहेको खबर पनि सुन्न पाएका छैनौ । यद्यपी बाहिर के छ त्यति थाहा पाउन सकिएको छैन । गुजरातमा रहेका हामी सबै नेपाली भने सुरक्षित छौ ।
म बसेको मुर्मी वरिपरी केही भारतीयमा कोरोनाको संक्रमण भएको सुनेको छु । तर उनीहरु संक्रमित भएर घरमै बसेका छन वा अस्पताल पुगेका छन भन्ने बारे त्यति धेरै बुझ्न पाएका छैन् । बाहिर जान प्रतिबन्ध भएकाले त्यति चाँसो पनि दिएका छैनौ ।
समस्या छैन, तलब पनि पाउछौ होला !
लकडाउनको समयमा काम हुन सकेको छैन । बजार पुरै बन्द छ । मैले काम गर्ने होटल पनि बन्द छ । तर हामीलाई खानपिनको समस्या छैन । पुग्नेगरी कोठामै रासन राखेका छौ ।
सायद एक हप्ता भनिएको लकडाउन तीन हप्ता लम्बिएको छ । यसबीचमा तलब पाइदैन की भन्ने चिन्ता छ । तर साहुले तलब दिने कुरामा समस्या छैन भनेको छ । त्यसैले काम नभएपनि तलब नरोकिने हाम्रो विश्वास छ ।
घर, अपार्टमेन्टमा चौकीदारी अथवा ‘वाचमेन’को काम गर्नेलाई समस्या छैन । उनीहरु घरमै बस्ने काम हुन्छ । काम नै घरको रेखदेख गर्ने भएकाले उनीहरुलाई तलबमा समस्या छैन ।
तर होटल, रेष्टुरेन्ट, कम्पनीमा काम गर्नेलाई केही समय गाह्रो हुन सक्छ । हामी गुजरात मुर्मीमा रहेकालाई त्यो समस्या भने छैन । अरुलाई हुन सक्छ भन्ने हाम्रो अनुमान मात्रै हो ।
सब्जी पसल खुल्छ, बजार सुनसान छ !
सरकारले जारी गरेको लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले समातेर सम्झाई बुझाई गर्छ । हामी नेपाली अहिलेसम्म त्यस्तो गरी प्रहरीको कारबाही परेका छैनौ । बजार पसल बन्द हुने भएकाले बाहिर पनि निस्कदैनौ ।
तर बेलूकी केही घण्टाका लागि सब्जी मण्डी तथा पसल भने खुल्छन । निश्चित दुरी कायम राखेर पसलमा पुगेर सामान किन्न पाइन्छ । रासनको अभाव हुँदा किनमेल गर्न पनि प्रहरीले रोक्दैन ।
यताको चिन्ता नलिनुस, आफू सुरक्षित बस्नुहोला !
नेपालमा रहेका सबैलाई हाम्रो एउटै आग्रह छ, यताको चिन्ता नलिनुहोला । हामी सुरक्षित भएर बसेका छौ । तर आफू सचेत र सुरक्षित भएर बस्नुहोला ।
सुर्खेत घाटगाउँका हामी धेरै नेपाली गुजरात र मुर्मीमा छौ । मुर्मीमा रहेका सबै नेपाली सुरक्षित छौ । अहिलेसम्म कसैलाई संक्रमण पनि भएको छैन । अन्तजस्तो नेपाली कामदार सडकमै बस्नु परेको । सडकमै अलपत्र परेको सुन्नमा आएको छ । तर गुजरातमा त्यो समस्या छैन ।
बरु तपाई आफू सुरक्षित भएर बस्नुहोला । गाउँमा घर बाहिर नहिड्नुहोला । बाहिर जथाभावी हिड्दा संक्रमण हुन सक्छ । यो विश्वभरी फैलिएको महामारी हो । यसले धेरैको ज्यान लिइसकेको छ ।
घर बाहिर हिड्दा संक्रमित हुने डर भएकाले सरकारले लकडाउन गरेर घरभित्रै बस्न आग्रह गरेको हो । नेपालमा पनि सरकारले लकडाउन गरेको सुनेको छु ।
यस्तो बेलामा घरबाहिर नगई भित्रै बसेमा सुरक्षित हुन सकिन्छ । चिन्ता अरुको होइन । आफ्नो गर्नुहोला । आफू बच्न सकियो भने अरुलाई पनि बचाउन सकिन्छ ।
(विश्वभर फैलिएको कोरोना महामारीका बेला नेपालीहरु पनि धेरै देश पुगेका छन । आजदेखि हामी विदेशमा रहेका नेपालीहरुका भोगाई, अनुभव र समस्या उनीहरुबाटै सुन्ने कोसिस गर्दैछौ । आज सुर्खेत घाटगाउँका धर्मेन्द्र परियारको भोगाई र अनुभव पढ्यौ । अर्को दिन अर्को परदेशीको सुख दुःख समेट्नेछौ ।)