दैलेख : कर्णाली लगायत आसपासमा रहेको छाउपडी प्रथा हटाउन विभिन्न अभियान सञ्चालनमा आए । उक्त अभियालाई प्रहरीले पनि साथ सहयोग गर्यो । निरन्तरता दियो । छाउगोठहरु भत्कायो । छाउगोठ भत्किएपनि मनको छाउगोठ भत्किन भने सकेन । छाउपडी ज्युँका त्युँ रह्रो । विशेषतय यसको उदाहरण दैलेखमा कायम छ ।
धेरै जसो छाउप्रथा भएका गाउँमा छुट्टै छाउगोठ बनाएर पहिला जस्तो नभएपनि अहिले पनि महिला महिनावारी भएको बेला घरभन्दा बाहिर छुट्टै टहरा, त्रिपाल टागेर, पिडिमा,गाई भैंसीको गोठमा सुत्न बाध्य भएका छन ।
महिनावारीको बेला छाउगोठमा बस्दा सर्पले डसेका घटनाहरु बाहिर आएका छन । महिलाहरु कठ्याग्रिंदो चिसोमै रात बिताउँन बाध्य भएका छन । कयौं महिलाहरूले छाउगोठमै ज्यान गुमाएकी छन । अझै ग्रामीण क्षेत्रका महिला र युवतीहरुले यस्तो पीडा खेपिरहेकी छन ।
दैलेखको दुल्लु नगरपालिकाका विभिन्न वडामा छाउँगोठहरु भत्किए । उक्त गोठ भत्किएपनि गाई र भैंसीका गोठहरु महिलाका लागि तयार भए । दैलेखी महिलाहरु महिनावारी भएको दिनदेखि ७ दिनसम्म गाई भैंसीको गोठ र घरभन्दा बाहिर बस्दै आएकी छन । यसरी घर बाहिर बस्दा विभिन्न किसिमका हिंसाहरु खेप्न बाध्य भएका छन । महिनावारी भएको बेला ताजा खाना खानुपर्ने गाउँघरमा दूध–दही खुवाउने सट्टामा नुनसँग रोटी दिने गरेका छन ।
गाउँले भन्छन्, ‘देउता रिसाउँछन्, घरमा नराम्रो हुन्छ ।’ महिनावारी भएका महिलालाई घरको नजिक ल्याउँदा अझै पनि दैलेखका ग्रामीण बस्तीहरुमा गाई भैंसी रुख चड्छन् भन्ने अन्धविश्वास रहेको त्यहाँका जानकारहरु बताउँछन ।
महिनावारी संसारभरी निश्चित उमेर समूहका सबै महिलाहरुमा हुने प्रकिृया हो । तर हाम्रो समाजमा महिनावारी भएपछि देउता रिसाउँछन भन्दै महिलालाई छाउगोठमा राख्न बाध्य गरिएको ठाटीकाँध गाउँपालिका- ५ तोलीपाटाकी सुरजा शाहीले बताइन् ।
उनी भन्छिन्, ‘महिला जनप्रतिनिधिहरु घरबाहिर मात्र छाउप्रथा हटाउनु पर्छ भन्छन्, घरमा आएर आफै छाउगोठमा बस्न बाध्य भएका छन । हामीलाई देउताको भन्दा समाजको डर बढी लाग्ने गरेको छ । त्यसैले पनि हामी छाउगोठमा बस्न बाध्य भएका हौं ।’
उनी जस्तै दैलेखी महिलाहरु महिनावारी हुँदा छुट्टै छाउगोठमा बस्छन् । ढुङ्गा,माटोले बनाएको एक छाने पिटुवा ओसिलो घर जहाँ ढोका पनि छैन् पराल,खर र एकसरो लुगा निकै कठिन पुर्वक बस्न बाध्य भएका हुन्छन् ।
महिनावारी हुदा घरभन्दा टाढा बस्नुपर्ने, खाना पकाँउन,पानी छुन, फलफूललाई छुन,पुजा गर्न र मन्दिर जान समेत बञ्चित गरिएको अर्की युवती सोनामी शाहीले बताइन । महिनावारी भएको बेला आफु लगायत आफ्नो साथीहरु बिद्यालयमा नजाने गरेको शाहीले भनिन् ।
गाउँ पसेर छाउगोठ मुक्त अभियान भन्दै आस्था र संस्कृतिसँग जोडिएको गोठ/घर भत्काए पनि छाउपडी भने ज्युँका त्युँ रहेको छ । उक्त प्रथालाई मनको डरबाट हटाउन जरुरी भएको त्यहाँका विज्ञहरु बताउँछन ।
विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले छाउपडी प्रथा अन्त्य गर्ने नाटकमा करोडौं खर्च गर्छन् । तर समुदायमा चेतनाको दियो भने बाल्न सकेका छैनन् । ‘ अभियान भौतिक रुपमा छाउगोठ भत्काए पनि मनको छाउगोठ कसैले भत्काउन सकेनन् ।
छाउगोठमै बसेर अकालमै ज्यान गुम्यो
दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–६ लैनचौरकी १९ वर्षीय तुलसी शाहीको ०७५ असार २२ मा साँघुरो छाउगोठमा सुतेका बेला सर्पले डस्यो । उनको अकालमै ज्यान गयो । यस्तै चामुण्डा विन्द्रासैनीकै २४ वर्षीय लालसरा विकको पनि ०७५ जेठ ८ गते छाउगोठमा ज्यान गयो । छाउगोठमा बस्दा भएका मृत्युका यी प्रतिनिधिमूलक घटना मात्र हुन् ।
यस्तो हुँदा पनि जिल्लामा छाउगोठमा बस्ने चलन अझै हटेको छैन । छाउगोठमुक्त घोषित ठाउँका महिलासमेत छाउगोठमै बसिरहेका छन् । देवीदेवता र समाजका डरले महिला अझै छाउगोठमै बस्छन् । एक सर्वेक्षणका आधारमा दैलेख जिल्लामा अझै ४ सय छाउगोठ छन् ।