वीरेन्द्रनगर : कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘सातौं अन्तर्राष्ट्रिय योग दिवस’को शुभकामना व्यक्त गरेका छन । सोमबार प्रमुख कलौनीले शुभकामना पत्र जारी गर्दै कर्णालीबासीलाई शुभकामना व्यक्त गरेका हुुन । ‘सातौं अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा सम्पूर्ण कर्णालीवासी दिदीबहिनी तथा दाजुभाइहरूमा आरोग्यताको लागि शुभकामना व्यक्त गर्दछु । पत्रमा उल्लेख गरिएको छ । ’
पत्रमा भनिएको छ:, ‘संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २०१५ देखि हरेक वर्ष जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन सुरु भएअनुसार आज देशभर सातौं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । नेपालमा प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस पनि मनाउने गरिएको छ । संस्कृत भाषाको ‘योग’ शब्दको अर्थ जोड्नु भन्ने हुन्छ ।
‘योगश्चित्तवृत्तिनिरोधः अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ । भगवान् शिवले पत्नी पार्वतीलाई पहिलो पटक योग शिक्षा दिएको विभिन्न शास्त्रीय ग्रन्थमा वर्णन गरेको पाइन्छ ।
योगको नियमित अभ्यासबाट सुस्वास्थ्य, कार्य क्षमतामा वृद्धि, चिन्ता मुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा वृद्धि, सकारात्मक सोचको विकास लगायत सकारात्मक गुणको विकास हुने कुरा हाम्रा पूर्वजहरूका खोज अनुसन्धान र व्यवहारबाट प्रमाणित भइसकेको छ, जसलाई आधुनिक चिकित्सा पद्धतिले पनि स्वीकार गरीसकेको छ ।
योग र ध्यानका लागि हाम्रो देश नेपाल एक पवित्र तपोभूमी हो । यही भूमिमा ऋषिमुनि तथा वैद्यहरूले जप, तप र ध्यानको माध्यमबाट नयाँ ज्ञान प्राप्त गरेको इतिहास छ । हामीले मनाउने यस प्रकारका अन्तर्राष्ट्रिय र राष्ट्रिय योग दिवसहरूले हरेक नागरिकमा योगाभ्यास गर्ने बानीको विकास गर्ने विश्वास गरेको छु ।
अन्तमा, कोरोनाभाइरसको महामारीको वर्तमान अवस्थामा योगको महत्त्व झन् बढेको छ । दैनिकीको रूपमा अगाडी बढाउन सके योगाभ्यास स्वस्थ जीवनयापनमा सहयोगी हुने स्मरण गराउँदै स्वास्थ्य मापदण्डहरू पालना गर्न, योगाभ्यास गर्न र योग दिवस विशेष कार्यक्रम गर्न आह्वान गर्दै पुनः सबैमा शुभकामना व्यक्त गर्दछु।