काठमाडौ । कोरोना अर्थात कोभिड १९ भाइरसका कारण मृत्यु हुनेको संख्या झण्डै ३४ हजार पुुगेको छ । यो समाचार तयार पार्दासम्म कोरोनाका कारण ३३ हजार ५ सय ५० जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । पछिल्लो २४ घण्टामा मात्रै २७ सय जनाको ज्यान गएको छ ।
कोरोनाले ज्यान गुमाउने सबैभन्दा धेरै इटालीमा छन । पछिल्लो २४ घण्टामा इटालीमा ७ सय ५६ जनाभन्दा धेरैको ज्यान गएको छ । यससँगै इटालीमा कोरोनाले मृत्यु हुनेको संख्या १० हजार ७ सय ७९ पुगेको छ । इटालीमा पछिल्लो २४ घण्टामा ५ हजार २ सय १७ जना नयाँ संक्रमित फेला परेका छन । यससँगै इटालीमा संक्रमितको संख्या ९७ हजार ६ सय ८९ पुगेको छ ।
इटालीपछि स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै ६ सय २४ जनाको ज्यान जाँदा मृत्यु हुनेको संख्या ६ हजार ६ सय ६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार बढी संक्रमित फेला पर्दा स्पेनमा कुल संक्रमित हुनेको संख्या ७८ हजार ७ सय ८९ नाघेको छ । चीनमा ३३ सयको ज्यान गएको छ ।
इटाली र स्पेनपछि इरानमा २ हजार ६ सय ४० जनाले ज्यान गुमाएका छन । फ्रान्समा २६ सय ६ र अमेरिकामा २३ सय ६३ जनाले ज्यान गुमाएका छन । बेलायतमा अहिलेसम्म १२ सयको ज्यान जाँदा जर्मनीमा ४ सयको मृत्यु भएको समाचार एजेन्सीले जनाएका छन ।
अमेरिकामा एकैदिन १० हजारमा संक्रमण
अमेरिकामा एकैदिन फेरि १० हजारमा संक्रमण फैलिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा ९ हजार ५ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख ३३ हजार १ सय ३१ पुगेको छ । एक लाख बढी संक्रमित पुग्ने अमेरिका एक मात्रै देश हो ।
अमेरिकापछि इटालीमा संक्रमणको दर बढ्दै गएको छ । इटालीमा पनि एक लाखको हाराहारीमा संक्रमण थपिदै गएको छ । यस्तै जर्मनी, फ्रान्स, इरान र बेलायतमा पछिल्लो २४ घण्टामा २ हजार बढी संक्रमित थपिएका छन ।
संक्रमितको सख्ंया थपिदै जाँदा सञ्चो भएर घर फर्किनेको सख्ंया पनि बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म १ लाख ५० हजार बिरामी उपचारपछि घर फर्किएका छन । यसरी घर फर्किनेमा सबैभन्दा धेरै चीनका छन । जहाँ ७५ हजार भन्दा धेरैलाई सञ्चो भइसकेको छ । चीनमा ८२ हजार जना संक्रमित छन ।
दक्षिण एसियामा कोरोनाका कारण भारतमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ जनाको ज्यान गएपछि मृत्यु हुनेको सख्ंया २७ पुगेको हो । भारतमा १ हजार भन्दा धेरै संक्रमित छन । भारतपछि पाकिस्तानमा १५ सय बढी संक्रमित छन । थप नयाँ दुई जनाको मृत्यु भएपछि पाकिस्तानमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।
नेपालमा अहिलेसम्म ५ जनामा कोरोना पुष्टि भएको छ । पाँचमध्ये ४ जनाको उपचार भइरहेको छ भने एक जना उपचारपछि घर फर्किएका छन ।