जेठ र असार लागेपछि संघ प्रदेशहरु बजेट ल्याउने तयारीमा हुन्छन् । संघीय सरकारले पनि बजेट ल्याइसक्यो । कर्णाली प्रदेश सरकारले पनि ल्यायो । बाँकी कर्णालीका पालिकाहरुमा बजेट ल्याउने तयारी भइरहेको छ । यतिबेला गाउँ र नगरका सभा चलिरहेका छन । छलफल चलिरहेका छन । पालिकाको बजेटमा जनताका समस्याहरु प्राथमिकतामा छन त ?। बजेट ल्याउँदा के के प्राथमिकतामा पारेका छन ?। के कस्ता कार्य योजनाहरु बनाएका छन ?। यस वर्ष मुख्य के-के काम गरेका छन ?। संघ प्रदेश सरकारले बजेट के कस्तो व्यवस्था गरिदिएको छ ?। आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी के कस्तो गरिरहेको छ ?। यी नै प्रश्नहरुसँगै हुम्ला नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामासँग गरिएको कुराकानी:
- आर्थिक वर्ष सकिनै लागेको छ । यस वर्षमा मुख्य उपलव्धिहरु के के भए ? । र, मान्नु हुन्छ ?
चालु आर्थिक वर्षको भन्नुपर्दा पर्दा योजना तर्जुमादेखि कार्यान्वयनको चरण रहँदासम्म कोरोना महामारीकै बीचमा चल्नुपर्ने अवस्था छ । गाउँपालिकासँग भएको श्रोत साधनलाई प्रत्यक्ष रुपमा देखिने गरी कार्य गरिरहेका छौं ।
उक्त योजनाहरु पुराना भइसकेका छन । केही योजनाहरु कार्यान्वयनको चरणमा छन् । मुख्य कुरा गाउँपालिकाको पर्यटनको गुरुयोजना तयार भएको छ । ६ मध्य ५ वटा वडाका सडक जोडिएको छ ।
सिंचाइ खानेपानी, स्वास्थ्य भवन, खानेपानी, सुधारिएको घट्ट जस्ता पुर्वाधारका काम थिए । ती पुरा भएका छन् । स्वास्थ्यमा सबै वडास्तरमा स्वास्थ्य संस्था स्थापना गर्ने कार्य पुरा भएको छ । गाउँपालिकाले चिकीत्सकको व्यवस्था गर्न सफल भएको छ । अहिलेको जटिल अबस्थामा स्वास्थ्यकर्मी खटिएका छन् ।
- आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट प्रस्तुत गर्ने तयारीमा हुनुहुन्छ के छ तयारी र?
आगामी १० गते गाउँपालिकाले सभामा बजेट प्रस्तुत गर्ने अन्तिम तयारी भइरहेको छ । आगामी आर्थिक वर्षको बजेट प्रदेश सरकारबाट प्राप्त हुने बजेट बाहेक २३ करोड ७६ लाख बजेट तथा कार्यक्रम ल्याउने तयारी हामी सबै छौं ।
बस्ती, वडा स्तरबाट योजना तर्जुमा भएर आइसकेको छ । त्यसलाई बिषयगत र एकिकृत तर्जुमा बैठक चली रहेको छ । आफ्नो आन्तरिक आयश्रोत नभएको कारण सबै कुरा संघ र प्रदेशको मुख ताक्नु पर्ने अबस्था छ । मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकहरुबाट केही आम्दानी हुने गरेको थियो । त्यो पनि कोरोनाले खोसेको छ ।
- यसबाट प्राथमिकता दिनु पर्ने कार्यहरु के के हुन सक्छन् ?
गाउँपालिकाले धेरै मेहनत गरेर विज्ञद्धारा तयार पारिएको पर्यटन गुरु योजनाले निर्दिष्ट गरेका कुराले पहिलो प्राथमिकता पाउनेछ । स्वास्थ्यलाई पनि उच्च महत्व दिनै पर्नेछ । त्यसै गरि सडक जोडिन बाँकी बस्तीमा पनि सडक निर्माणका योजना समेटिने छन् ।
महिलाहरुलाई उद्यमशिलता बनाएर आत्म निर्भर बनाउने कार्यक्रम पनि समेट्ने छ । त्योसँगै स्वास्थ्य र कृर्षिलाई पनि अर्को प्राथमिकताका बिषय हुनेछ । शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखिनेछ ।
अर्को महत्वपुर्ण कुरा निर्माण भएका पुर्वाधारतर्फका कार्यक्रमहरुको दिगोपनका कार्यक्रमलाई पनि समेटिनेछ । त्यसै गरि गाउँपालिका दक्षिणी क्षेत्र फलफुल खेतीका लागि उपयुक्त भएको कारण कृर्षि क्षेत्रले पनि भएको साधन श्रोत अनुसार प्राथकिमतामा पर्नेछ । जनताको जीवनस्तर उकास्ने कार्यक्रमलाई पनि प्याकेजमा समेट्ने छौ । बाँकी अरु नियमित गर्नु पर्ने कार्य त हुने नै छन् ।
- प्राथमिकता अनुसार बजेटको व्यवस्था के हुन्छ ?
बजेटको सीमा ज्यादै न्यून छ । कुल गाउँपालिकामा आउने बजेट मध्ये निशर्तको बजेट झन थोरै छ । भूगोलका हिसाबले देशकै ठुलो गाउँपालिका हो । नाम्खाको विकासको मेरुदण्ड पर्यटन क्षेत्र हो ।यसको महत्वपुर्ण पक्ष डकुमेण्ट तयार गर्ने कार्य पुरा भएको छ । अब त्यसको कार्यान्वयन गर्न कार्यक्रम ल्याउन पर्नेछ । ६ वटै वडाहरुलाई भएको श्रोतका आधारमा बजेटले प्राथमिकतामा राखिनेछ ।
भएकै बजेट सिमालाई ध्यानमा राखेर कार्यक्रम ल्याउने तयारी छ । अर्को लगानी कम तर प्रतिफल बढी आउने कार्यक्रमलाई ध्यान दिइनेछ । साझेदारीका कार्यक्रमलाई पनि समेट्नु पर्ने बाध्यता छ । त्यसमा पनि बजेटको व्यवस्था गर्नुछ । यसका लागि समन्वय गरिरहेका छौं ।
- जनताको जीवनस्तर उकास्ने कार्यक्रम भन्नु भएको छ, कस्ता कार्यक्रम हुन ?
कम लगानी गरेर तत्कालदेखि दीर्घकालिन प्रतिफल प्राप्त हुने कार्यक्रमलाई बढी ध्यान दिएका छौं । जस्तो पर्यटन क्षेत्रको बिकास, फलफुल खेती, तरकारी खेती, चौरी पालन व्यवसायको प्रर्बद्धन, आयआर्जनका कार्यक्रम यस भित्र पर्छन् ।
पर्यटन प्रर्बद्धन मुख्य कुरा हो । अघिल्ला आर्थिक वर्षमा पनि यसलाई महत्वका साथ कार्यक्रम गरिएका छन् । न्यून आय भएकालाई यसमा समेटिनेछ । महिलालाई उद्यमी बनाउन प्रोत्साहन गरिनेछ । देखिने र लावान्भित हुने कार्यक्रमहरु यसमा पर्छन ।
- बजेट तर्जुमा गर्दाका चुनौती के भोग्नु पर्योे
यसमा मुख्य कुरा ठाउँ, भूगोल र अबस्थाले गर्दा बजेटको सिमा कम हुनु मुख्य चुनौती रहेको छ । बजेट सिमाकै कारण गाउँपालिकाले गर्न सक्ने चाहना भएका काम पनि गर्न सकिने अबस्था छैन । गाउँपालिका हरेक कुरामा चीन प्रति आश्रित छ ।
हाम्रो जस्तो महंगी रहेको ठाउँका लागि अहिलेको बजेट निक्कै कम हो । जनताका मागहरु धेरै छन् । यसलाई व्यवस्थापन गर्न मुख्य चुनौती हो । अरु आफ्नै श्रोत नभएको बेला संघ र प्रदेशको मुख ताक्नुको अन्य विकल्प छैन । यो पनि समस्या कै रुपमा छ ।
आन्तरिक श्रोतका रुपमा रहेको पर्यटन क्षेत्र हो । कोभिडको कारण मानसरोवर कैलाशका लागि आउने पर्यटकहरु आउन सक्ने अबस्था छैन । समस्या धेरै छन् । अर्को कुरा संघ र प्रदेशबाट अहिलेको बजेट बिनियोजित गर्ने प्रर्णालीमा सुधार गर्नु आवश्यक देखिन्छ ।
अन्तमा थप केही भन्नु छ ?
नाम्खा गाउँपालिका जिल्लाको सात वटा गाउँपालिकाको तुलनामा कोरोनाका हिसावले हालसम्म ग्रीन जोनका रुपमा रहेको छ । भूगोल ठुलो छ । जनसंख्या कम छ ।
बास्तवमा यसलाई व्यवस्थापन गर्न निक्कै चुनौतीपुर्ण कार्य हो । गतवर्ष अन्तिम समयतिर नाँखा गाउँपालिकाको एक विद्यालयमा ५६ जना एउटै विधार्थीहरुमा कोरोना संक्रमण देखिएपछि निक्कै तनाव व्यहोर्नु परेको थियो । त्यति बेलादेखि नै गाउँपालिका सजक र सतर्क तथा आवश्यक तयारीमै लाग्नु पर्ने देखिन्छ ।
त्यो तयारी यस दोस्रो चरणको पुर्व तयारीका रुपमा लिनु पर्ने देखियो । ठुलो संख्यामा संक्रमित देखिएपछि ठुलै लगानी गरेर कोरोनाविरुद्धका किट, उपकरण, सामग्री र औषधीको व्यवस्था गर्नु पर्यो ।
त्यतिखेर आन्तरिक छलफल गर्दा अर्को वर्ष पनि कोरोना वा यस्तै अन्य कुनै प्रकोप नआउला भन्न नसकिने कुरा पनि भएको र यस्तो समस्या व्यहोर्नु नपरोस् भन्नका लागि पुर्व तयारी स्वरुप पनि त्यो व्यबस्था गरिएको हो ।
जसको परिणाम स्वरुप यस वर्ष त्यो व्यवस्थाले ठुलो काम गर्यो । अझै भनौ हालसम्म गाउँपालिकालाई ग्रीन जोन राख्नमा यसले ठुलो सहयोग गरेको छ ।
अब यो बजेट तर्जुमा अहिलेको यो कार्यकालको अन्तिम हो । कोरोना महामारीलाई झेल्दै यसको चुनौती खेप्नुपर्ने अवस्था जारी नै छ । यससँग लड्ने काममा सबैलाई सहयोग गर्न आग्रह गर्दछु । हालसम्म केही कामहरु भएका छन् ।
जो जनताका पक्षमा छन् । अब नयाँ कार्यक्रमले पनि जनता कै चाहना र इच्छा अनुसारका कार्यक्रम ल्याउने छौ । यसका लागि जनताको पनि सहयोगको अपेक्क्षा राखेका छौ । धन्यवाद
र, यो पनि पढौं
सिमकोट गाउँपालिकाले ४३ करोड बजेट ल्याउने
न्युन आय भएका जनताका लागि बजेट ल्याउँछौँ