काठमाडौ । नेपालमा कोरोना संक्रमण देखिएपछि अहिलेसम्म घाटगाउँमा १९ जना भित्रिएका छन । चैत ३ गतेदेखि अहिलेसम्म १९ जना नेपाली चौकुने गाँउपालिकाको वडा नं. ९ घाटगाउँमा भित्रिएका हुन ।
९ नम्बर वडाले चौकुने गाउँपालिकालाई पठाएको विवरणमा १९ जना भित्रिएका र उनीहरु होम क्वारेन्टाइनमा नबसी गाउँमै खुल्लम खुल्ला हिड्दा गाउँलेमा जोखिम बढेको उल्लेख छ ।
केही व्यक्ति सबैको करकापमा घरमै बस्ने भएपनि बाँकी धेरै जना अरुको घर घर जाने, पसलमा गएर कुराकानी गर्ने, राती राती रक्सी खाने र गाउँलेलाई जोखिम र त्रासमा पारेका एक गाउँलेले जानकारी दिए ।
सम्झाउँदा मानेनन् : वडाध्यक्ष
शुरुदेखि नै उनीहरुलाई सम्झाउने प्रयास गरेपनि भनेको नमानेको चौकुने गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष नवराज आचार्यले गुनासो गरे ।
‘अहिलेसम्म १९ जना भित्रिएको साचो हो । तर भारतबाट आएका उनीहरु होम क्वारेन्टाइनमा नबसी बाहिर हिड्दा जोखिम बढेको छ’ वडाध्यक्ष आचार्यले भने, ‘अहिलेसम्म भन्नुपर्ने सबै कुरा भनेर पनि नमान्दा वडा र गाँउले चिन्तित छौ ।’
मान्छेबाट मान्छेमा सर्ने कोरोना भाइरस नजिक दुरीमा बोल्दा र हाछ्यु गर्दा मुखबाट जाने छिटाबाट झन छिटो सर्छ । तर यो कुरा गाउँलेले नमान्दा समस्या बढेको वडाध्यक्ष आचार्यको भनाई छ ।
‘सरकारले घरभित्रै बस्नु, बाहिर ननिस्कनु, अरुसँग भेटघाट नगर्नु, पसल, बजार र साथीभाईसँग जमघट नगर्नु भनेको छ’, वडाध्यक्ष आचार्यले गुनासो गर्दै फोनमा भने, ‘तर न गाउँले घरभित्रै बसेको पाइयो । न त भारतबाट आएर घरमै बस्नैपर्ने मान्छेले माने । चिन्ता थपिएको छ ।’