काठमाडौ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि चौकुने गाँउपालिकाले नागरिक सचेतनालाई पहिलो प्राथमिकतामा राखेको छ । यसक्रममा चौकुने गाउँपालिका वडा नं. ९ घाटगाउँका अध्यक्ष नवराज आचार्य पनि बाइकमा साउण्ड सिस्टम राखेर माइकिङ गर्दै सचेतना फैलाउन थालेका छन ।
खासगरी भारतबाट आएका परदेशी घरमै होम क्वारेन्टाइनमा नबसी गाउँघर डुल्नुका साथै बजार पसलमा गएर घुमघाम गर्न थालेपछि माइकिङ गर्न थालिएको वडाध्यक्ष आर्चाले बताए ।
‘भारतबाट आएका दाजुभाईले कोरोनाबारे विस्तृतमा नबुझेको देखियो’ वडाध्यक्ष आचार्यले घाटगाउँबाट टेलिफोनमा भने, ‘उनीहरुलाई सचेत गराउन र अरुलाइ पनि घरमै बस्न माइकिङ गरिरहेका छौ ।’
भारतबाट अहिलेसम्म १९ जना गाउँ भित्रिएका प्रारम्भिक विवरण सार्वजनिक भएको छ । नेपाल तथा भारतमा लकडाउन भएपनि खुल्ला सीमाबाट नेपालीहरु गाउँ फर्किरहेका छन । उनीहरु गाउँ फर्केपनि घरमै नबसी बाहिर हिड्न थाल्नुका साथै अरुसँग जथाभावी भेट्दै हिडन् थालेपछि समस्या थपिएको वडाध्यक्ष आचार्यको भनाई छ ।
‘अहिलेसम्म कोही संक्रमित छैनन् । त्यो अवस्था नआओस भनेर शुरुदेखि नै लागिरहेका छौ’ उनले अगाडी थपे, ‘तर लकडाउनका बेला पनि खुल्ला सीमाबाट गाउँ फर्केका परदेशीबाट जोखिम धेरै छ ।’
कोरोनाबाट बच्ने मुख्य उपाय भनेकै घरमै बस्नु, अरुको सम्पर्कमा नजानु र बाहिरबाट आएकासँग नजिक नभई दुरी कायम राखेर व्यवहार गर्नु हो । तर गाउँघरमा चेतनाको स्तर साँघुरो भएकाले लकडाउनका बेला पनि बाहिर हिड्ने र केटाकेटीलाई सुरक्षित राख्न नसक्दा चुनौति थपिएको आचार्यको भनाई छ ।
‘अहिलेसम्म सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युट्युबमा भिडियो हालेर धेरैले सुरक्षित बसौ, घरमै बसौ, साबुन पानीले हात धोऔँ भनेर चर्चा गरेको देखियो । तर वास्तविकता भने फरक छ’ चुनौतिको सार सुनाउँदै आचार्य भन्छन, ‘शहरमा जस्तो गाउँमा फ्याट्टै भनेको मान्दैनन् । त्यसमाथि सुरक्षाकर्मी पनि पर्याप्त छैनन् । यस्तो अवस्थामा कम्तीमा सचेतना फैलाउनुको विकल्प नभएकाले माइकिङ गरिरहेका हौ ।’
यसअघि चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले गाडीमा साउण्ड सिस्टम राखेर सबै वडामा माइकिङ गर्दै साबुन समेत वितरण गरेका थिए ।