काठमाडौ । चीनबाट ल्याइएका कोरोना रोकथाम तथा स्वास्थ्य सामग्री सुर्खेत पुर्याइएको छ । नेपाली सेनाको स्काईट्रक जहाजमा सामान सुर्खेत पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेश सरकारले सुर्खेतको प्रदेश अस्पताललाई कोरोनाका बिरामीको उपचार गर्ने अस्पताल तोकेपछि आवश्यक स्वास्थ्य सामग्री सुर्खेत पठाइएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
मन्त्रालयले सुर्खेतका लागि सर्जिकल मास्क, स्वास्थ्यकर्मीले लगाउने पोशाक, थर्मोमीटर, ग्लोब्स लगायतका सामान पठाएको हो । यी सामग्रीमध्ये केही सामान जुम्लाको स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुमको चौरजहारी अस्पताल पठाइनेछ ।
कर्णाली प्रदेश सरकारले सुर्खेत प्रदेश अस्पतालसँगै जुम्ला र चौरजहारी अस्पताललाई पनि कोरोनाको उपचार गर्ने अस्पतालका रुपमा तोकेको छ ।
कोरोना परीक्षण मेशिन केही दिनमा
चीनबाट ल्याइएको कोरोना परीक्षण गर्ने मेशिन केही दिनमा मात्रै प्रदेशमा पठाइने भएको छ । आइतबार बसेको कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले तत्कालका लागि प्रदेश २, प्रदेश ५, कर्णाली र सुदुरपश्चिममा एक एक मेशिन पठाउने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार केही दिनमा नै प्रदेशमा मेशिन पठाउने तयारी छ । अहिलेका लागि अरु अत्यावश्यक सामान पठाएपनि मेशिन केही दिनमा पठाइने मन्त्रायलका प्रवक्ता देवकोटाले जानकारी दिए ।
सुर्खेत अस्पतालमा मेशिन पुगेपछि अब कर्णाली प्रदेशमा क्वारेन्टाइनमा बसेकाहरुको नमूना काठमाडौँ पठाउनुपर्ने झन्झट हट्नेछ ।