रुकुमः रुकुम पश्चिममा पशुवस्तुको स्वास्थ्य जाँचको लागि प्रयोगशाला भवन तयार भएको छ । जिल्ला पशु अस्पताल तथा पशु सेवा अस्पताल रुकुम पश्चिममा करिब २१ लाखको लागतमा प्रयोगशाला तयार गरिएको हो । यस प्रयोगशाला भवनबाट अव बिरामी पशुवस्तुको सम्पुर्ण जाँच जिल्लामै हुनेछ । नवनिर्मित प्रयोगशाला भवनबाट पशुवस्तुको एक्सरे गरिनुका साथै गोबर, पिसाव, रगत, दुधको जाँच हुने पशु अस्पताल तथा पशु सेवा अस्तालका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले बताए । निमित्त प्रमुख शर्माका अनुसार यस अघि बिरामी भएका पशुवस्तुको रगत, गोबर, पिसाब, दुध जाँचको लागि सुर्खेत, काठमाडौ पठाउनुपर्ने बाध्यता रहेको थियो ।अब उक्त समस्या समाधान भएको शर्माले जनाए ।
नव निर्मित प्रयोगशाला भवनको तीन ओटा कोठाबाट आगामी महिनादेखि सेवा सञ्चालन हुने गरी तयारी अवस्थामा राखिएको छ । प्रयोगशालामा अत्यावश्यक रहेका एक्सरे मेसिन लगायत रगत, गोबर, पिसाब, दुध जाँच गर्ने मेसिन समेत आईपुगेको छ । कर्णाली प्रदेश सरकारको २० लाख ९८ हजार रकममा भवन निर्माण सम्पन्न भएको हो । पशुपालनको लागि उत्तम मानिएको यस जिल्लामा रहेका पशुवस्तु बिरामी परेमा उपचारको लागि हुदै आएको समस्या समाधान भएको पशु अस्पताल तथा पशु सेवा अस्पतालका पशु स्वास्थ्य प्राविधिक बिरेन्द्र्र केसीले बताए ।
यसका साथै कार्यालयले यसै आ.व.को १० रकमबाट नर्सरी समेत तयार गरेको छ । पशुवस्तुको आहाराको कमीलाई पुर्ति गर्नको लागि कार्यालयले घासँका बिरुवा उत्पादन गर्ने गरी नर्सरी तयार गरेको हो । नर्सरीमा तयार भएका घाँसका बिरुवाहरु किसानहरुलाई निःशुल्क वितरण भैरहेको स्वास्थ्य प्राविधिक केसीले जनाए । उनका अनुसार नर्सरीमा मेन्दोल, भटमासे, मोरंगा, बकाइनो, इपिलइपिल, बाँसपाते, सिडलेस किम्बु, सुपर नेमीयर, मुलाटो, ग्वाटेमाल लगायतका घाँसका जातका बिरुवा तयार गरिएको छ ।
दैनिक जसो जिल्लाका बिभिन्न स्थानबाट किसानहरु आएर नर्सरीबाट बिरुवा लिइरहेको कार्यालयले जनाएको छ । पशु अस्पताल तथा पशु सेवा अस्तालका निमित्त प्रमुख ज्ञानुकुमार शर्माका अनुसार कार्यालयले नर्सरी तयारीका लागि ५ लाख रकम खर्च गरेको छ भने घासको बिउ तथा बेर्नको लागि ५ लाख रकम खर्च गरेको छ ।