एजेन्सी : स्पेन समूह उपविजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सेभियामा बुधबार राति भएको खेलमा स्लोभाकियालाई ५–० गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम १६ मा प्रवेश गरेको हो ।
स्पेनलाई जित दिलाउन एम्रिक लापोर्ट,पाब्लो सराबिया र फेरान टोरेसले एक एक गोल गरे । स्पेनले दुई गोल आत्मघाती उपहार पाएको थियो । खेलको १२ औं मिनेटमा स्पेनका अल्भारो मोराटाले पेनाल्टीमा गोल गर्न सकेनन् । मोराटाको पेनाल्टी प्रहार स्लोभाकियाका गोलकिपर मार्टिन डुब्राभ्काले बचाए ।
तर, खेलको ३० औं मिनेटमा गोलकिपर मार्टिनको आत्मघाती गोलबाट स्पेनले सुरुवाती अग्रता बनायो । स्पेनका पाब्लो सराबियाको प्रहार क्रसबारमा लाग्दै फर्किएको बल क्लियर गर्न्ने क्रममा मार्टिनले आफ्नै पोस्टमा गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा लापोर्टले गोल गर्दै पहिलो हाफमा स्पेनलाई २(० को अग्रता दिलाए । जेरार्ड मोरेनेको पासमा उनले हेड मार्फत गोल गरेका हुन् ।
स्पेनको लागि उनको यो पहिलो गोल हो । लापोर्ट हालै फ्रान्सबाट स्पेन सरुवा भएका थिए । स्पेनको नागरिकता प्राप्त गरेसँगै फिफाले लापोर्टलाई स्पेनबाट अन्तराष्ट्रिय फुटबल खेल्न अनुमति दिएको थियो । २६ वर्षीय डिफेन्डरले यस अघि फ्रान्सको युवा टिमबाट खेलेका थिए । तर, उनले फ्रान्सको सिनियर टिमबाट भने खेल्ने मौका पाएका थिएनन् ।
खेलको ५६ औं मिनेटमा सराबियाले जोर्डी अब्लाको पासमा गोल गर्दै स्पेनलाई ३(० को अग्रता दिलाए । ६७ औं मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई ४(० को अग्रता दिलाए । मोराटाको स्थानमा परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका उनले सराबियाको पासलाई सदुपयोग गरे ।
त्यसपछि खेलको ७१ औं मिनेटमा स्लोभाकियाका जुराज कुच्काले आत्मघाती गोल गरेपछि स्पेनले ५(० को जित निकाल्यो । पाउ टोरेसको हेडर बल जुराजको खुट्टामा लाग्दै गोल भएको थियो । यससँगै समूह ई मा रहेको स्पेनले पहिलो जित समेत निकालेको छ । स्पेनले ३ खेलमा ५ अंक जोड्यो र समूहको दोस्रो स्थान हासिल गर्दै नकआउट चरणमा स्थान बनाउन सफल भयो ।
पहिलो खेलमा स्पेन स्विडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो । यस्तै दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १(१ गोलको बराबरी खेलेको थियो । स्लोभाकियाले ३ खेलमा ३ अंक जोड्यो । स्लोभाकिया समूहको तेस्रो स्थानमा रह्यो । पहिलो खेलमा पोल्याण्डलाई हराएको स्लोभाकिया दोस्रो खेलमा स्विडेनसँग १(० ले पराजित भएको थियो ।