काठमाडौ । स्पेनमा कोरोनाका कारण दैनिक ५ सय जनाले ज्यान गुमाइरहेका छन । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ५ सय ३७ जनाको ज्यान गइसकेको छ । केही दिनयता लगातार स्पेनमा दैनिक पाँच सय जनाले ज्यान गुमाइरहेका समाचार संस्था एएफपीले जनाएको छ । अहिलेसम्म स्पेनमा ७ हजार ३ सय ४० जनाले ज्यान गुमाएका छन ।
मृत्युसँगै स्पेनमा संक्रमित हुनेको संख्या पनि दैनिक ५ हजारले बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ५ हजार ८५ जना नयाँ संक्रमित फेला परेका छन । यो आजको दिनमा अमेरिका र इटालीको भन्दा धेरै हो ।
शुरुमा यही गतिमा इटालीमा मृत्यु र संक्रमित हुनेको संख्या थियो । पछि अमेरिकामा दैनिक १० हजारका दरले संक्रमित फेला परिरहेका थिए । तर अहिले ५ हजारको रफ्तारमा स्पेनमा नयाँ संक्रमित फेला परिरहेका छन । युरोपभरीमा इटाली र स्पेनको हालत निकै नाजुक बनेको छ ।
जहाँ औषधि, स्वास्थ्यकर्मी र अस्पतालमा बेडको अभावमा युवालाई मात्रै उपचार गर्ने गरिएको छ । ५० बर्षभन्दा माथिका बृद्धबृद्धालाई प्राथमिकता दिनै छाडिएको छ ।
इटाली, अमेरिकासँगै स्पेनले पनि चीनलाई उछिन्यो
कोरोनाबाट संक्रमित हुने र क्षतिका हिसाबले स्पेनले चीनलाई पनि उछिनिसकेको छ । चीनमा ८१ हजार संक्रमित हुँदा स्पेनमा ८५ हजार भन्दा धेरै संक्रमित छन । स्पेनभन्दा अगाडी अब इटाली र अमेरिका छन । इटालीमा ९७ हजार र अमेरिकामा १ लाख ४२ हजार संक्रमित छन ।
यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै इटालीमा १० हजार ७ सय ७९ पुगेको छ भने स्पेनमा ७ हजार ३ सय ४० ले ज्यान गुमाएका छन । अमेरिकामा अहिलेसम्म २ हजार ४ सय ९० जनाको ज्यान जाँदा चीनमा ३३ सयको मृत्यु भएको छ ।