सुर्खेतः सुर्खेतमा व्यवसायिक किसानलाई कृषि उपकरण तथा औजार वितरण गरिएको छ । सुर्खेतको लेकवेशी–४ दशरथपुरमा व्यवसायिक कृषकहरुलाई मिनिटेलर हर्स पावर वितरण गरिएको हो ।
कर्णाली प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारी नेपालीले लेकवेशी नगरपालिका–४ दशरथपुरका कृषकहरुलाई व्यवसायिक खेती गर्नका लागी मिनिटेलर प्रदान गरेकी हुन् ।
सांसदको प्रत्यक्ष निगरानी तथा सिफारिसमा लागु हुने कार्यक्रम भएकोले मन्त्री नेपालीले आफनो क्षेत्रको कार्यक्रम यहाँ संचालन गर्न सिफारिस गरेको बताइन् । कृषकलाई सामग्री हस्तास्तरण गर्दै मन्त्री नेपालीले विपन्न समुदायको जीवनस्तर बदल्नका लागि सरकारले दलित तथा अति विपन्न समुदायका लागि लक्षित वर्ग विशेष कार्यक्रम संचालन समेत गरेको मन्त्री नेपालीले बताइन ।
कृषि लाई व्यवसायिक र आधुनिकीकरण गर्न प्रदेश सरकार लागेको भन्दै मन्त्री नेपालीले अनुदानलाई सदुपयोग गर्न आग्रह गरिन् । सरकारी अनुदान लिएर काम नगर्ने तथा अनुदानलाई दुरुपयोग गर्ने गरेको पाइएमा कारबाही पनि गरिने पनि नेपालीले बताइन् । सरकारको अनुदानलाई सदुपयोग गरेर आफ्नो लगानी बढाइ आत्मनिर्भर बन्न कृषकहरुलाई आग्रह गरिन् ।
दलित तथा अति विपन्नलाई कृषि औजार
त्यस्तै कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक विकास कार्यक्रम अनुसार कर्णाली प्रदेश सभाका सदस्यहरुको प्रत्यक्ष निगरानी हुने गरि दलित अति विपन्न लक्षित वर्ग विशेष कार्यक्रम अन्तरगत कृषि औजार वितरण गरिएको कृषि विकास निर्देशनालयका प्रमुख चित्रवहादुर रोकायाले बताए ।
रोकायाका अनुसार प्रदेश सरकारको ७५ प्रतिशत र समुदायको २५ प्रतिशत लगानी हुने कार्यक्रम संचालन गरिएको थियो । उक्त कार्यक्रमबाट दशरथपुरमा ७ हर्स पावरको १३ वटा मिनिटेलर, एक वटा रोटाभेटर तथा ५० हजार बराबरको तरकारीको बिउँ वितरण गरिएको छ ।
समुदायमा बसोबास गर्ने दलित तथा अति विपन्न परिवारलाई लक्षित गरेर कार्यक्रम संचालन गरिएको हो । दलित तथा अति विपन्न लक्षित वर्ग विशेष कार्यक्रम अन्तर्गत सम्बन्धित प्रदेश सांसदको सिफारिसमा सिंचाइ संरचना निमार्ण, तरकारी खेतीका लागी पलाष्टिक टनेल निमार्ण, जमिन जोत्नका प्रयोग हुने मिनिटेलर तथा तरकारी खेती गर्नका लागी बजेटलाई कार्यान्वयन गरिएको कृषि विकास निर्देशनालयले जनाएको छ ।
सुर्खेतका सांसदको एक करोड रकम कृषिमा खर्च
त्यस्तै कृषि विकास निर्देशनालयका कार्यक्रम फोकल कृषि अधिकृत यामवहादुर रानाका अनुसार दलित तथा अति विपन्न समुदायका घरपरिवारका लागी कृषि तर्फ सुर्खेतबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने १० जना प्रदेश सांसदको १० लाखका दरले एक करोड रकम कृषिमा खर्च गर्ने गरि विनियोजन भइ आएकोे बताए । कार्यक्रम संचालन कार्यविधिको उद्देश्य अनुसार सांसदको सिफारिसमा सिंचाई संरचना निर्माण तीन वटा, तरकारी खेतीका लागी पलाष्टिक टनेल निमार्ण पाँच वटा, जमिन जोत्नका प्रयोग हुने मिनिटेलरका एक वटा तथा तरकारी खेतीका लागी एक वटा कार्यक्रम संचालन गरिएको अधिकृत रानाले बताए ।
कृषि अधिकृत रानाका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका–५, लेखवेशी नगरपालिका–४, वीरेन्द्रनगर नगरपालिका–२, ४ र १३, बराहताल गाउपालिका–६, ७ र १०, सिम्ता गाउपालिका–७ र गुर्भाकोट नगरपालिका–५ वडाहरु छनौट भइ कार्यक्रम कार्यान्वयन भइरहेको मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्षको बजेटमा प्रदेश सभाका प्रति सांसदका लागी कृषि मन्त्रालयले कृषि मा १० लाख र पशुसेवा तर्फ १० लाख विनियोजन गरेको थियो ।