कर्णाली: सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट ल्याएको छ । नगरपालिकाको नवौं नगर सभा मार्फत नगर विहिबार उपप्रमुख मोहनमाया ढकालले आर्थिक वर्ष २०७८/०७९ को लागि एक अर्ब ५६ करोड बराबरको बजेट प्रस्तुत गरेकी छन् ।
नगरपालिकाले चालु तर्फ १ अर्ब १३ करोड १९ लाख २६ हजार र पुँजीगत तर्फ ४३ करोड ३३ लाख ३६ हजार गरी जम्मा १ अर्ब ५६ करोड ५२ लाख ६२ हजार ६ सय ३५ रुपैयाँको बजेट सार्वजानिक गरेको हो ।
स्वास्थ्य, शिक्षासँगै कृषि, पर्यटन प्राथमिकतामा
नगर–उपप्रमुख ढकालले आगामी आर्थिक बर्षको बजेटमा कोरोना रोकथामको लागि मध्यनजर गर्दै स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, कृषि, पर्यटन, पूर्वाधार निर्माण र पर्यावरण लगायतका विषयलाई प्राथमिकतामा राखिएको बताइन् ।
नगरपालिकाले बजेट व्यक्तव्यमा आगामी आर्थिक वर्षमा अक्सिजन प्लान्ट सञ्चालन गर्ने घोषणा गरेको छ । कर्णाली प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा अक्सिजन प्लान्ट सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट मार्फत नगरभित्रै गुणस्तरीय बिउँ र खाद्यान्न उत्पादन गर्नका लागि ‘एक वडा एक सामुदायिक बिउँ बैंक’ स्थापना गर्ने गर्ने भएको छ ।
यस्तै ‘एक सहकारी एक उत्पादन, एक गाउँ एक उत्पादन’ कार्यक्रम, ‘कृषिमा व्यवसायिकता, युवामा उद्यमशीलतालाई पनि जोड दिँदै आवश्यक बजेट विनियोजन गरिएको ढकालले बताइन् ।
वीरेन्द्रनगरलाई उप–महानगरपालिका बनाइने
वीरेन्द्रनगर नगरपालिकालाई उप–महानगरपालिका बनाइने भएको छ । विहिबार नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउने नगर सभामा घोषणा भएको छ ।
नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपप्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरलाई उपमहानगरपालिका घोषणाका लागि प्रदेश तथा संघीय सरकारसँग अनुरोध गरेकी हुन् ।
उपमहानगरपालिका बनाउनका लागि प्रदेश र संघ सरकारसँग आवश्यक समन्वय गरिने भएको उपप्रमुख ढकालले बताइन । हाल कर्णाली प्रदेशमा उप–महानगरपालिका छैनन् ।
काँक्रेविहार जंगललाई चिडियाखानाका विकास
त्यस्तै काँक्रेविहार जंगललाई चिडियाखानाका रुपमा विकास गरिदिने भएको छ । संघीय सरकार र प्रदेश सरकारको सहकार्यमा काँक्रेविहार क्षेत्रलाई चिडियाखानाको बनाउने जनाएको हो । काँक्रेविहार जंगल क्षेत्र संरक्षित वन क्षेत्रमा पर्दछ ।
स्वयं सेविकालाई १२ हजार प्रोत्साहान भत्ता
त्यस्तै नगरपालिकाले छोरीलाई सेनेटरी, आमालाई सिप र रोजगारी, महिला स्वयं सेविकालाई १२ हजार प्रोत्साहान भक्ता दिने भएको छ । साथै बसपार्क निर्माण गर्ने, सडक बालबालिका मुक्त नगर घोषण गर्ने, सौर्य उर्जा र वायोग्याँस विस्तार गर्ने, कोरोनाबाट प्रभावित उद्योग व्यवसायलाई सहुलियत तथा प्रोत्साहन गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।