सुर्खेतः सिम्ता गाँउपालिकाले ल्यायो ५० करोडको बजेटसुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाको गाउँ सभाले आगामी आर्थिक वर्षको लागिको ५० करोड ८० लाख ३० हजार एकसय ५३ रुपैयाँको बजेट विनियोजन गरेको छ ।
केन्द्रको प्रधानमन्त्री स्वरोजगार, प्रदेशको मुख्यमन्त्री रोजगार जस्तै स्थानीय तहको अध्यक्ष स्वरोजगार कार्यक्रमका लागि यो बजेट अधिवेशनले दुई करोड वजेट विनियोजन गरेको छ ।
गाउँ सभाको महत्वपूर्ण कार्यक्रम समेत रहेको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले बताए । उनले प्रस्तुत गरेको निति तथा कार्यक्रममा युवा रोजगार र अध्यक्ष स्वरोजगार कार्यक्रमलाई महत्व दिइएको छ ।
आगामी वर्षको बजेट प्रस्तुत गर्दै उपाध्यक्ष चन्द्रकला शाहीले आन्तरिक स्रोत बाट दुई करोड पाँच लाख, राजश्व बाँडफाँड ८ करोड ९९ लाख २४ हजार,संघीय सरकार सामानिकरण तर्फ १० करोड ७३ लाख,संघकै चालू तर्फ २३ करोड १२ लाख,संघकै पुजींगत तर्फ १ करोड,समपुरक ७० लाख,प्रदेश सरकार समानिकरण १ करोड १३ लाख, प्रदेशकै पुजिगत तर्फ एक करोड ५७ लाख, समपुरक एक करोड १५ लाखको स्रोत परिचालन हुने जनाएको छ ।
योसँगै आगामी वर्षको खर्च तर्फ गाउँपालिकाको ठुला गौरवका आयोजना इन्द्र विसि फास्ट्र्याक र ऋृषि स्मृति चक्रपथको लागि २ करोड बहुवर्षीय योजना,चालू वर्षको अधुरा बाँकी काम रहेका योजना पुरा गर्नेका लागि एक करोड ५० लाख,खानेपानी सरसफाइ तथा एक घर एक धारा अभियानका लागि एक करोड, सोहि योजनाको विभिन्न निकायसँग साझेदारी अनुरुप एक करोड ८५ लाख,कृषि तर्फ ३५ लाख, पशु तर्फ २५ लाख,शिक्षा तर्फ कए करोड ६० लाख,स्वास्थ्य तर्फ १ करोड ४५ लाख,महिला तथा न्याय कानुनी तर्फ ३० लाख, सहकारी तथा आयुर्वेद तर्फ १० लाख,कोभिड–१९ का लागि ४३ लाख ४१ हजार र वडास्तरको सिलिंग १५ लाखका दरले जम्मा १ करोड ३५ लाख बजेट व्यय तर्फ विनियोजन भएको जनाएको छ ।