मुगु: पर्यटकीय मार्गका रूपमा रहेको रारा पुग्ने गमगढी–नाग्मा सडक बर्खा लागेसँगै अवरुद्ध भएको छ । यसले हिमाली जिल्ला मुगुको सडक सम्बन्धविच्छेद भएको छ । घुच्चीलेकको सातमोडमा पहिरोसँगै रूख ढलेका छन् ।
माथिल्लो मोडमा आएको पहिरो चौथो मोडमा पुगेको छ । ताल्चा नजिकै पनि पहिरोले सडक अवरुद्ध भएको छ । जुम्लाको सिँजास्थित रोकायाबाडाको सडक पनि हिलाम्मे भएको छ । डिभिजन सडक प्रमुख लीलाबहादुर भण्डारीले सशस्त्र प्रहरी बलको सहयोगमा सडक खुलाउने काम भए पनि निकै गाह्रो भएको बताए । ‘मुस्किलले पहिरो पन्छाए पनि माथिबाट फेरि खस्ने क्रम रोकिएको छैन,’ उनले भने, ‘यस्तो अवस्थामा त्यहाँ सवारी साधन चलाउन सकिने अवस्था छैन ।’ बिहीबारसम्म सडक खुलाउने गरी काम भए पनि वर्षा नरोकिएकाले समस्या भएको उनले बताए ।
सडक अवरुद्ध हुँदा बिरामीलाई एम्बुलेन्सबाट जुम्ला, नेपालगन्जतर्फ लिन पनि गाह्रो भइरहेको छ । करिब दुई दर्जन मालवाहक सवारीसाधन बाटोमै अलपत्र छन् । सुर्खेत र नेपालगन्जदेखि कार्गो गरी ल्याइएका सामान बाटोमै रोकिँदा गमगढीमा महँगी पनि चुलिन थालेको छ । ‘पसलमा बेच्ने सामान छैन, नेपालगन्जदेखि ल्याएको सामान बाटोमै छ,’ छायानाथरारा नगरपालिका–१ का पदमराज मल्लले भने, ‘यस्तै हो भने त केही दिनमा महँगीले आकाश छोउलाजस्तो छ ।’
बजेट अभाव
पर्याप्त बजेट नहुँदा गमगढी–नाग्मा सडक निर्माण कार्य प्रभावित हुँदै आएको छ । चालु आर्थिक वर्षमा ग्राबेल, ढल र पर्खाल बनाउन संघीय सरकारबाट ९ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको थियो । उक्त बजेटअनुसारको काम असोजमै सकिएको छ । डिभिजन प्रमुख भण्डारीका अनुसार उक्त कामका लागि २० लाख रुपैयाँ आवश्यक पर्नेमा बजेट अभावमा काम अधुरै छ ।
भण्डारीका अनुसार हालसम्म उक्त सडकको ३४ किमि मात्र ग्राबेल भएको छ । ५९ किमि ग्राबेल हुन सकेको छैन । गमगढीदेखि नाग्मासम्म सडक ग्राबेलका लागि विभिन्न ७ वटा निर्माण कम्पनीले जिम्मा लिएका छन् । चालु आर्थिक वर्षभित्र पूरै ९९३ किमि० ग्राबेल गर्ने लक्ष्य राखिएको भए पनि बजेट अभावले अधुरै रहेको डिभिजन सडक प्रमुख भण्डारीले बताए । उनका अनुसार सडक कालोपत्रेका लागि करिब ३ अर्ब रुपैयाँ माग गरिएको छ ।
'राजबहादुर शाहीले तयार पारेको यो सामग्री हामीले इकान्तिपुरबाट लिएका हौं"