हुम्ला जिल्ला कर्णाली प्रदेशको उत्तर-पश्चिम कुनामा अवस्थित हिमाली जिल्ला हो । यसको पूर्वमा मुगु, पश्चिममा बझाङ, दक्षिणमा बाजुरा जिल्ला र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ । यहाँ मूलतः दुई किसिमको हिन्दु र बौद्ध धर्म, संस्कृति र भाषा विद्यामान रहेको छ, भने हिन्दु वर्णाश्रम अनुसार वर्गीकरण भएका जातजातिमा बाहुन, ठकुरी, क्षेत्री, ब्याँसी, तामाङ, दलित र भोटे-लामा गरी सात थरीका छन ।
जिल्ला सदरमुकामदेखि माथि (उत्तर-पश्चिम) नाम्खा गाउँपालिकाको पुरै बस्तीमा र सिमकोट पूर्वतिर आसपास क्षेत्रका केहि गाउँ समुदायमा प्राचीनकालदेखि भोटे-मूलका जनजातिहरूको बस्ती रहेका छन । भोटे-लामाहरू ऐतिहासिक कालदेखि यहाँको भूगोल र अन्तराष्ट्रिय सम्बन्ध, व्यापार, ब्याबसाय, कैलाश-मानसरोवरको तीर्थयात्राका साथै जीवन निर्वाह र रोटीवेटीको सम्बन्ध उत्तरतिर तिब्बतसंग रहदै आएको थियो र छ पनि ।
यहाँका भाषा, धर्म, संस्कृति, कला, रहनसहन, भेषभूषा, जीवनशैली भौगोलिक परिवेश पनि मिल्दो जुल्दोछ । विशाल नेपालको एकिकरण, जुम्ला खस मल्ल राज्यको पतन, १९५९ मा तिब्बत चीनको अधिनस्त पश्चायत यस क्षेत्रका भोटे-लामाहरूको जाति, भाषा, संस्कृति र पहिचान आधुनिक विकास संगै खुम्चिदै ओझेलमा पर्न थालेको छ ।
प्रस्तुत यस लेखमा हुम्ली भोट–लामा मातृभाषाको अवस्था र मौलिक पहिचानका बर्तामान सन्दर्भको विषयमा उठान गरिएको छ । यस क्रममा यस भाषाको नामकरण, नेपालमा भोट बर्मेली भाषा समूहको वर्गीकरण, तिब्बती र भोट–लामा भाषा बिचको अन्तरसम्बन्ध केलाई भाषिक समुदाय र जनसंख्या, शिक्षामा मातृभाषाको प्रयोगको अवस्था तथा यसका सम्भावना र चुनौतीहरूका साथै यसको विकासका लागि गरिनु पर्ने प्रयासहरूका बारेमा उल्लेख गरिएको छ ।
भोट-लामा भाषाको वर्तमान अवस्था बारे बुझ्न कथ्य बोल्ने भाषा, लेख्य लिखित भाषा बिचको तुलनात्मक अध्ययन र विविध पक्षको जानकारी स्थानीय भाषाविद्, लामा, शिक्षक र जानकार व्यक्तित्वहरूसित अन्तरवार्ता, छलफलको माध्यमले अवस्था पहिचान गरी प्रयोग र संरक्षणको पहलमा ध्यानकर्षण गर्ने प्रयास गरिएको छ ।
भाषिक पृष्ठभूमि र भाषाको नामकरणः
तिब्बतमा पहिले बोन धर्म थियो रे । बोन शब्दबाट प्होद् नाम रहन गएको भन्ने एक थरीको बुझाई रहेकोछ । ईतिहासमा प्होद् शब्द तिब्बत आफैले भन्ने र बुझ्ने नाम हो, भने वरिपरिका छिमेकी देश चीन, मंगोलिय, लादाख, काश्मिरले तुफोद, तोद्पोद् आदि नामले चिन्थे । पछि त्यही नामबाट पश्चिमा मुलुक तथा अन्य देशले तिब्बत नामले विश्वभर ब्यापकता पायो ।
नेपालमा प्होद् शब्दको अप्रभंश हुन गई भोट हुन गएको भन्ने भनाई रहेकोछ । तिब्बतमा प्होद् शब्दमा उनीहरुको व्याकरणीय नियम अनुसार ‘पा’ थपेर प्होद्पा (तिब्बती) र नेपालमा भोटमा ‘ए’ कार व्युत्पति प्रत्याय जोडेर विशेषण भोटे नामकरण हुन गएको प्रष्ट हुन्छ ।
आज तिब्बतीलाई प्होद्पा र नेपालको हिमाली मूलका बासिन्दहरू भोटे शब्दको प्रारम्भिक एउटै नाम भए पनि हाल यस शब्दको रूपान्तरण भई दुई फरक फरक भाषाको शब्दले दिएको अर्थ दुई भिन्दा भिन्दै राज्यका नागरीक पहिचानको नाममा अर्थ अनुवाद भएकोछ र हामीले यही रूपले भोटे र तिब्बती बीचको फरकपनको बोध गर्छौ । तिनीहरुले आपसमा बोल्ने भाषाको नामकरण पनि यसरी नै भोटे भाषा भएको मान्न सकिन्छ ।
हुम्लोः
हुम्लालाई भोटे भाषामा हुम्लो (होम्ल्हो) भनिन्छ । कैलाश-मानसरोवर देखि दक्षिण बग्ने कर्णाली (माप्च्या खाबाब्) नदीको तीर, किनाराहरूमा लेकाली वनस्पतिको रूपमा पाईने छ्युसिङ होम्बु (Tamarisk) को वनस्पतिका बोट प्रसस्त हुने हुँदा, होम्बु पाउने ठाउँदेखि दक्षिणपट्टि भन्ने अर्थ (होम+ल्हो) बाट ‘होम्लो’ नाम रहन गएको भनाई छ ।
अर्को तिर गाउँघरमा अनौपचारिक र प्रसङ्गवस नामकरण खोजीको क्रममा हुम्ला नामकरण भोटेलामा भाषाको “हौ” र “लुङव” शब्दको अर्थ सन्दर्भ मिलेर हुम्ला नामको शब्द निर्माण भएको हुनसक्ने तर्क गरेको पनि पाइन्छन ।
यसमा ‘हौ’ ले हाम्रै वा आफ्नै र ‘लुङव’ ले ठाउँ, क्षेत्र वा भूमि जनाउने भएकाले यी दुई शब्द संयोजनले हाम्रो वा आफ्नै ठाउँ भन्ने अर्थ लाग्छ । यहि हौलुङव शब्दबाट हुम्लो ठाउँको नाम लिएको हुन सक्ने अनुमान र तर्क पनि राख्ने गरेकोछ ।
यी भोटे भाषालाई हुम्ली स्थानीय खस ठकुरीहरूले भोटे खाम भाषा पनि भन्ने गरेको पाइन्छ । खाम भाषाको अर्थ खाम भित्रको चिठ्ठी कसैले नदेख्ने र नबुझ्ने गोप्य हुने भएकाले त्यस अर्थमा भोटेले बोलेको बुझिदैन भनि अर्थ्याएको पाइन्छ ।
भोटे लामा भाषाका केही वर्ण लिपिका स्वरहरु देवनागरी लिपिले नसमेट्ने, उच्चारणको स्वरूप फरक फरक हुने हुनाले निकट स्वर उच्चारण शब्दको प्रयोगले प्होद्को भोट भए झै थुप्रै अप्रभंशका शब्दहरू भेटिन्छन् ।
देशको राजनितिक, प्रशासनिक अभिलेखको क्षेत्रमा भोटे भाषाका शब्दावलीको नेपालीमा उच्चारण र लेखन कार्य गर्न जटिल र अन्यौलता सृजना हुने भएकाले आफ्नो अनुकुल र सहजताको लागि कैयौं दोहोरो नामकरण र लेख्यमा प्रयोग भएका छन ।
लामाः
तिब्बतमा बि.सं. ७००–८०० को विचमा गुरु पद्यमा सम्भव (तान्त्रिक अवतारी गुरुलामा) को आगमन वा उदय पछि तिब्बत भर बौद्ध धर्मलाई गुम्बा शिक्षाको रूपमा ब्यापक विकास र विस्तार गरेको थियो ।
उत्तरी हुम्लाको सिमानासित जोडिएका तोद् ङरी प्रदेशसितको धर्म, संस्कृति, भाषा, ब्यापारको सम्बन्ध र कैलाश मानसरोवरको अवस्थिति समेत त्यहाँ रहेको हुनले धार्मिक तीर्थालु भक्तजनहरू घुइचो लागि रहन्थ्यो ।
यहाँका धार्मिक वा बौद्धमार्गीहरू लामा शिक्षा आर्जनका लागि ङरी प्रदेश स्थित प्रख्यात नाम्खा ख्यूङजोङ गुम्बाबाट दीक्षित हुने गर्थे । उत्तरी हुम्लाका पुरानो धर्म सम्प्रदायका गुम्बाहरूमा धर्मको नवीन शिक्षा दिन, ध्यान, तपस्या र धर्म प्रचारमा नाम्खा ख्यूङजोङ गुम्बाका अवतारी लामा हुम्लामा आगमन भइरहन्थ्यो त्यहाँका लामाहरू पनि धार्मिक शिक्षा लिन नाम्खा ख्युङजोङ गुम्बा आउने जाने गर्थे ।
आज भन्दा ३० बर्ष अघिदेखि नाम्खा ख्युङजोङ नामको गुम्बा समेत हुम्लाको नाम्खा-४, याल्वाङ्गमा स्थापना गरिएको छ । यस गुम्बामा हाल ३०० भन्दा बढी लामा भिक्षु वा टोपे (टावा) हरू अध्ययनरत छन् ।
गुम्बामा धार्मिक शिक्षाको ब्यपकता संगै सन १९५९ मा तिब्बत चीनको अधिनस्थ र दलाई लामाको निर्वासन पछि हुम्ला भएर तिब्बती धर्म गुरु, अवतारी लामाहरूको आवगमन झन बढदै र बाक्लिदै गयो यसले लामा भाषा, धर्म, संस्कृति र परम्पराको थलानी सिधै प्रभाव बढाउदै लग्यो । गुम्बामा रहने लामाको अर्थ पदवीबाट जाति, भाषा र समुदायको नाममा समेत स्थापित हुन पुग्यो ।
ऐतिहासिक कालमा भोट र त्यस पछि लामाको अवधारणा विकसित हुन गई हाल भोट–लामा जात संगै भाषाको नामकरण भएको मान्न सकिन्छ । यस बाहेक विगतका समयमा हिन्दु खस तथा स्थानीय ठकुरी राज्यको पक्षबाट भोटे लामालाई जाड, चुपे, तामाङ, शेर्पा, आदि जात र थरले पहिचान झुन्डाउने काम समेत भएको थियो ।
भाषिक विविधता र बर्गीकरणः
नेपाल बहुजाति, बहुभाषी, बहुधर्म र बहुसंस्कृतिको विविधताले भरिएको देश भएकाले नेपालका उच्च हिमाली भू–भागमा बस्ने भोटे वा भोट बर्मेली मूलका भाषिक परिवार भित्र पनि विभिन्न भाषिक समूहहरू छन । जुन यस प्रकारले बर्गीकरण गर्न सकिन्छ ।
नेपालमा ऐतिहाँसिक कालखण्ड, भौगोलिक क्षेत्र, धर्म र समुदाय अनुसार भोटभाषा बोल्ने समूहहरू फरक फरक रूपमा देखा परेको पाइन्छ । समयको आधारमा तिब्बतमा गुरु पद्यमा सम्भवको उदय अघि र पछिको समयले भाषामा निकै फरक पारेको उल्लेख गरेको पाइन्छ ।
बौद्ध धर्म र ज्ञानको जन्मदाता गौतम बुद्धलाई माने पनि तिब्बतमा आधुनिक बौद्ध धर्मको प्रचारक र विशेष चमत्कारी दूत वा महान अवतारी लामाको रूपमा गुरू पद्यमा सम्भवलाई नै मानिन्छ ।
उहाँ बौद्ध धर्मको जानकार महाविद्धान मात्र नभई तान्त्रिक विद्यमा पोख्त अवतारी लामा पनि थिए । उनले तिब्बतमा कथ्य परम्परामा रहेको भाषालाई लिखित भाषा र धर्मको संस्थागत विकास (गुम्बा शिक्षा) को प्रारम्भिक चरणको अवस्थालाई ब्यापक परिवर्तन र सुधार गरी तिब्बत लगायत हिमालय पर्वत क्षेत्र पाकिस्तान, काश्मिर, लादाक, नेपाल, सिक्किम, भुटान आदि देश सम्म विस्तार गरेका थिए । नेपालका भोट लामा भाषा (कथ्य र लेख्य) मा पनि तिब्बतमा गुरु पद्यमा सम्भव आगमन पूर्व र पछिको भाषिक प्रभाव र भिन्नता देखिन्छ ।
तिब्बतमा गुरु पद्यमा सम्भव आवगमन पूर्व कथ्य परम्पराको भाषा प्रभाव नेपालका उच्च पहाडी क्षेत्रमा धामी-झाँक्री परम्परा मान्ने बौद्ध र हिन्दु धर्म मिश्रित तामाङ, गुरुङ, नेवार समुदायहरु परेको देखिन्छ भने मध्यपहाडमा बासोबास गर्नेहरु झाँक्रीपरम्परा र हिन्दुधर्म मान्ने किराँत, राई, लिम्बु, मगर, ब्याँसी समुदायहरु पर्दछन ।
गुरु पद्यमा सम्भव तिब्बत आगमन पछि पुरानो कथ्य तिब्बती बोलि बोल्नेहरुमा हिमाली क्षेत्रमा बासोबास गर्ने जातिमा सुधारिएको बोन तथा लामा धर्म मान्नेहरु पर्दछन । यस अन्तरगत न्हिन्बा, चाङबा, मुगुम्पा, कार्मारोङबा, तिजिरोङबा, लोवा, (बाह्रगाउँले), ग्याल्सुम्ब, सेर्पा, होलुङपा, भोटे आदि समुदायहरु पर्दछन ।
तिब्बती लेख्य परम्परा अनुसार भाषा बोल्ने, तिब्बती बौद्धधर्म तथा लामाधर्म मान्ने उच्चहिमाली क्षेत्रमा बासोवास गर्नेमा लिम्याँ, युल्छोदुन्, टुक्छुलुङबा, लोवा, डोल्पो, छोसुम, नुब्रिवा, शेर्पा समुदायहरू पर्दछन ।
यहाँको भौगोलिक दुरी, समय अन्तराल र धर्म परम्परा अनुसार बाह्यिा वातावरणीय प्रभावको आधारमा कथ्य बोलि भाषामा फरक पारेको कुरा स्पष्ट हुन्छ । यस उदाहरणको लागि लोसार पर्वलाई लिन सकिन्छ ।
यी सबै जाति र समुदायमा हिउँदको पुस देखि फागुनसम्म (जाडो मौसममा) सबैले आफनो अनुकुल लोसार चाड मनाउने गर्छन । लोसारलाई कहि लोछार लेख्ने, कोहि ल्होसार लेख्ने, वर्षचक्र (लोखोर) १२ वर्ष नै हुने, सबै वर्ष जीवजन्तुको साझा नाम रहनु, विगतमा एउटै जाति भएको बलियो प्रमाण हो ।
मगर, गुरुङ, तामाङमा भोटको लिपि प्रयोग ब्यबस्था नहुदै पहिले नेपालमा रहेको र उनीहरूमा हिन्दु प्रभाव बढी परेकोले भाषालाई नेपाली र देवनागरी लिपि प्रयोगले शुद्ध उच्चारण र हिज्जेमा फरक परेको देखिन्छ ।
पछिल्लो चरणमा लोसार र लोखोरमा मनाइने विधि, प्रयोग हुने जन्तुहरुको नाम प्रयोग अभ्यास उस्तै देखिन आएकोछ । तामाङले पहिले देवनागरी लिपि साहयताले भाषा तम्यीक पाठ्यक्रम-पाठ्यपुस्तक तयार गरे भने पछि आफ्नो मौलिक पहिचानको आधारमा संभोटा लिपिमा मातृ-भाषामा पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेको अवस्था छ । पछिल्लो चरणमा तामाङहरू हिन्दु चाडपर्व दशैं, तिहार मान्न छोडेर लोसार मान्न थालेका छन ।
उच्च हिमाली भेगका जनजातिहरूको भाषामा विविधता हुनका मूल कारणः
- भौगोलिक क्षेत्रको विविधता र विशिष्टता ।
- देशको प्रशासनिक विभाजन र नामकरण ।
- स्थानिय विशिष्ट नाम वा स्थानिक नामकरण ।
- अलग मूलथलो र पृथक पहिचानको विकास ।
- विभिन्न काल खण्ड र समयान्तरले पार्ने प्रभाव ।
- भौगोलिक विविधता र बिकटताले आम-सञ्चारमा पारेको अवरोध ।
- स्थान अनुसार बाहिरी सामाजिक, सांस्कृतिक र धार्मिक प्रभाव ।
- कथ्य भाषा खुला एवं स्वतन्त्र हुने भएकाले निश्चित सीमाभित्र रहन नसक्नु ।
- लेख्य भाषा गुम्बा शिक्षा, लामा र प्रबुद्ध वर्गमा सीमित रहनु ।
- कतिपय शब्दहरू अप्रभंशको रूपमा प्रयोग हुँदै जानु ।
- विज्ञान प्रविधिको नयाँ अविस्कारबाट निर्मित शब्द आगन्तुक शब्दको रुपमा भित्रिनु ।
- आफ्नो मौलिक भाषाको प्रयोग घट्दै जानु वा अप्रचलित हुदै जानु आदि ।
- मातृभाषा र नेपाली भाषा बीच मौलिक भाषा उच्चारण, लेखन पद्धति र प्रयोगले पारेको प्रभाव वा लेखन त्रुटी ।
- मातृ-भाषालाई वर्ण, लिपिको प्रयोग गरी भाषा सबलीकरण हुन नसक्नु ।
भाषाको स्वरूप
यस भाषाको स्वरूपका विषयमा अध्ययन गर्दा यसको कथ्य (बोली) र लेख्य (लिखित) गरी दुई प्रकारका छन ।
कथ्य भाषा (युल्का वा फाल्का) “हुम्लो प्होद्का”, भाषिक समुह चिनियाँ-भोटबर्मेली परिवार भित्र पर्ने तिब्बतीको भगिनी भाषाको रूपमा बुझिन्छन् । तिब्बतको उचाङ प्रदेशको दक्षिण पश्चिम ङरी प्रान्तको सेरोफेरोमा बोल्ने भाषासंग मिल्दोजुल्दो पाईन्छ । तिब्बती लेख्य र स्थानीय मौलिक कथ्य बोलिमा संरचित दुवै मिश्रित बोलीभाषा नै यहाँको मूलभाषा बनेको छ ।
यहाँको भौगोलिक क्षेत्रबिशेष चार उपभाषिक समुदायमा विभक्त छन् - लिम्याँ, युल्छो दुन, टुक्छ्यु लुङ र न्हिन्बा, न्हिन्बा भित्र चाङवा उपसमूह पर्दछन् ।
२०६८ को जनगणना अनुसार यी चार भाषिक उपसमुदाय अन्तरगत नाम्खा गाउँपालिकामा १८ र सिमकोट गाउँपालिका भित्र ७ गरी जम्मा २५ वटा गाउँ-बस्तीहरूमा ११५० घरधुरी र कूल जनसंख्य वा वक्ता संख्या ६५०० रहेको छ ।
यो भोट लामा बासोबास गर्ने क्षेत्र प्राचीन कालदेखि जुम्लाको (मल्ल) खस ठकुरी राजा तथा तिब्बतको ङरी प्रदेश पुराङको राज्य विस्तारको प्रभाव बीचको भूखण्डका रूपमा शासित हुँदै आएको देखिन्छ ।
लेख्य भाषा (क्षोइका)
बुद्ध युगको झन्डै १२५० वर्ष पछि अर्थात ई.पू. ६४० तिर तिब्बतमा थुमी सम्बोधाले संस्कृत र तिब्बती (भोटबर्मेली) को स्वर/ध्वनी समात्ने खालको सम्भोटा लिपि वा वर्णको निर्माण तथा निर्धारण गरेका थिए ।
लिपिबद्ध व्याकरणको निर्माण गरी सोही लिपिको माध्यामले बौद्ध धर्म दर्शनको गुम्बा शिक्षाको रूपमा विकास र बिस्तार गरिदै आएको थियो । गुम्बामा अध्ययन गर्ने धार्मिक शिक्षा लेख्य रूपमा रहदै आएकाले यसलाई लामा भाषाको रूपमा स्थापित गरियो र यसको विशेष अर्थ बोध गर्ने चलन छ ।
यसले मूल तिब्बती भाषाको धार पक्रेको पाइन्छ । यसमा बुद्धका ज्ञान, पूजापाठ, आदर्श विचार, वाणी, प्रार्थना, ध्यान, तपस्या, साधना, योग गर्ने विधि र अभ्यासका विषयवस्तु समेटेको पाईन्छ ।
त्यतिखेर संग्रह गरिएका तिब्बती लिखित भाषाको ज्ञान भाण्डारणलाई हुम्लाका भोटे-लामाहरूले आफ्नो लिखित भाषाको स्रोत र संभोटा लिपिलाई आफ्नो भाषाको लिपि मान्दै आएकोछ ।
झन्डै १२०० वर्ष पुरानो तिब्बती भाषा कथ्य र लेख्य समान रूपले विकास र विस्तार हुदै आज विश्वको (चौथो) संबृद्द भाषाको रूपमा देखा परेकोछ भने त्यसैको भागिनी भाषाको रूपमा बोल्दै आएको हुम्ली भोट-लामा भाषा कथ्य र आख्यानमा मात्र सीमित छ ।
भाषाको वर्तामान अवस्थाः
हामीले बोल्ने भाषा कुन अवस्थामा छ र कसरी प्रयोग भईरहेको सन्दर्भमा बुझ्न र थाह पाउन भाषा वैज्ञानिक अध्ययन र निष्कर्षमा आधारीत तथ्य बारे जानकारी हुनु आवश्यक छ ।
यस बारे ( Lewis and Simon 2009 ) अनुसार कथ्य र लेख्य भाषाको लोपन्मुख र सबलीकरण अवस्था वुझ्न निम्न सोपान (तह) मा आधारीत हुने तथ्यले पुष्टि गरेका छन । कथ्यमा कुनै मातृभाषा आमाबाबु सरह छोराछोरीले बोल्न सक्छन भने त्यो भाषा जीवन्त ( Vigorous ) भाषा हो । बाबुआमाको भन्दा छोरछोरीले बोल्ने सामार्थ्य कम छ भने त्यो भाषा सङ्कटापन्न (Threatened) भएको मानिन्छ । छोराछोरीतिर सार्न सकेन वा अघिल्लो पुस्तातिर सीमित, अपसरित भए त्यो भाषा अपसृत (Shifting) हुन थालेको बुझिन्छ । अघिल्लो पुस्ताले समेत बोल्न छोड्दै गयो भने मरणसन्न (Moribund)भाषा हुन्छ । तीन पुस्ता अघि सर्यो वा हजुर बा हजुर आमामा सीमित रहे त्यो लोपन्मुख (Nearly extinct) भाषा हुन्छ । भाषा चार पुस्ता माथि सर्यो भने सुसुप्त (Dormant) भाषा हुन्छ, जुन कसैले प्रयोग गर्दैनन । त्यो मृत Dead भाषा बन्छ र ईतिहासमा सीमित रहन्छ । अधिकाँस नेपालमा बोलिने मातृभाषाहरू यहि प्रकृयाले लोपन्मुख दिशातिर उन्मुख भएको पाईन्छ ।
त्यसै गरी भाषालाई जीवन्त राखी त्यसको जगेर्ना र उत्थान संगै सवलीकरण गर्न वर्ण/लिपिको साहयताले लेख्य वा लिखित गर्नु उतिकै आवश्यक रहन्छ । त्यसै गरी भाषालाई लेख्य परम्पराको दृष्टकोणले यसको अवस्था बुझ्न कुनै मातृभाषाको पाठ्यपुस्तक बनाएर विद्यार्थीहरूलाई पढाउन थाल्यो भने त्यसको शैक्षणिक (Educational language ) भाषाको रूपमा सामार्थ्य बढ्छ । भाषालाई किनमेल, व्यापार, व्याबसायमा प्रयोग गरि व्यापारिक भाषा ( Trade language ) बनायो भने यसको सामार्थ्य झन बढ्छ ।
भाषालाई बोलीचाली, सूचना सञ्चार, सरकारी कामकाजी बनाउन सके स्थानीय बाट क्षेत्रिय (Regional वा Provincial )प्रादेशिक भाषा बन्छ । भाषालाई वैज्ञानिक सिद्धान्त र बनोटको आधारमा निर्माण र प्रयोग राष्ट्रिय स्तरमा आम-सञ्चारको भाषा बनाउन सके राष्ट्रिय भाषा (National language) र अंग्रेजी भाषा जस्तो कुनै भाषाले विश्व आम-संचार र सार्वजानिक सम्पर्कको रूपमा स्थापित गर्न सके (International Language ) अन्तराष्ट्रिय भाषा बन्न सक्छ ।
यसैको आधारमा भोट-मातृभाषाको वर्तामान अवस्था विश्लेषण गर्ने हो भने लेख्यमा भाषा शुन्य अवस्थामा देखिन्छ भने कथ्य बोलीभाषाको आधारमा तेश्रो पुस्तामा अर्थात बाबुआमामा सीमित छोराछोरीमा कम हस्तान्तरित भएको देखिन्छ । यसले हाम्रो भाषाको वर्तामान अवस्था संकटापन्नबाट लोपन्मुखतिर रहेको प्रष्ट हुन्छ ।
यस लोपन्मुख अवस्थामा भएको मातृभाषाको संरक्षण, सम्बर्धन र सवलीकरण गर्न लेख्य कुरामा ध्यान दिनु आवश्यक देखिएको छ । भाषा सबलीकरण र सम्बृद्धिको यात्रामा हाल नेपालका २५ वटा मातृभाषाहरूमा आधारभूत तहसम्मका पाठ्यक्रम/पाठ्यपुस्तक निर्माण गरी पठनपाठन शुरू गरिएको अवस्था छ ।
लिपबद्ध र व्याकरणीय नियमले लेख्य भाषा सबैतिर समान रूपमा विकास र समृद्ध भई बिस्तार हुदै जान्छन भने कथ्य भौगोलिक क्षेत्र वा स्थान विशेष फरक, बाहिरी प्रभावको प्रत्यक्ष असर र भाषा परिवर्तन तथा रूपान्तरण मार्गमा अगाडि बढ्दै मौलिक भाषा लोप हुन पुग्छ । यसको उदाहरण जुम्ली खस भाषा देवनागरी लिपिमा लिखित भाषामा सम्वृद्ध भएको छ । त्यसै गरी तिब्बती, अंग्रेजी भाषा कथ्य, लेख्य रूप निर्माण र प्रचलित रहेकोले विश्व परिवेशमा भाषा स्थापित भएको छ ।
तिब्बती र भोट–लामा भाषा बिचको अन्तरसम्बन्ध
समान पक्षः मिल्दाजुल्दा भौगोलिक परिवेश, जात र भाषा, धर्म, संस्कृतिको मूल एउटै हुनु । फरक पक्षः भोटे लामा नागरीक र राज्य बिचको सम्बन्धमा भाषा प्रयोगको अवस्था, समयको अन्तराल, अन्तर जाति, भाषा, सस्कृति र धर्मको प्रभावले भिन्नताको खाडाल बढाउँदै लगेको छ । नेपालमा यस किसिमका भाषालाई पराधिन भाषाको नजरले हेर्दै आएकोछ ।
यस भोटेलामा भाषाको उत्थान र विकास गर्नु भन्दा राज्यका उपेक्षाले झन दमित हुदा ह्रासन्मुख हुदै गएको । पहिले पहिले यस भाषालाई हिन्दु खस आर्यहरुले अपमानको रूपमा गाईखाने भाषा पनि भनिन्थ्यो रे । जसले भाषा दबाउन र हरण गर्न मनोबैज्ञानिक साथ दिएको पाइन्छ ।
(लेखकः कन्जोक लामा भाषा, संस्कृतिको अध्येता तथा आधार-नेपालका शिक्षा अधिकृत हुन्)