सुर्खेत : कर्णाली प्रदेश सरकारले सुर्खेतको पश्चिम पञ्चपुरी नगरपालिका–२ सालकोटमा रहेको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमार्फत विशेषज्ञ सेवा दिने उद्देश्यले ‘मोवाइल शिविर’ सञ्चालन गर्ने भएको छ । सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाले असार १५ गतेबाट विशेषज्ञ सेवासहितको मोवाइल शिविर सञ्चालन गरिने प्रतिवद्धता जनाउँदै स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हुन ।
‘सामान्य बिरामी हुँदा पनि पश्चिम सुर्खेतका नागरिकहरु सदरमुकाम वीरेन्द्रनगर जानुपर्ने बाध्यता छ,’ मन्त्री बुढा भने,“पश्चिमका नागरिकहरुलाई घर आँगनमै सेवा दिने उद्देश्यले असार १५ बाट मोवाइल शिविर सञ्चालन गर्दैछौं ।’
बर्खाको समय भएकाले असार साउनका महिनामा दुई पटक कर्णाली प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकहरुले सेवा दिनेछन् । भदौबाट साप्ताहिक सेवा सुरु गरिने उनले जानकारी दिए । सालकोट स्वास्थ्य चौकी चौकुने, बराहताल गाउँपालिकाका साथै पञ्चपुरी नगरपालिकाको केन्द्र हो । सालकोटमा विशेषज्ञ सेवा सुरु भएपछि छिमेकी जिल्ला अछाम र कैलालीका नागरिकहरुले पनि सहज स्वास्थ्य सेवा पाउने छन् ।
मन्त्री बुढाले सालकोटलाई पश्चिमको ‘स्वास्थ्यहरुमा विकास गरिने बताए । ‘त्यसको सुरुवात यहीँ १५ गतेबाट हुँदैछ,’ उनले भने, ‘असार र साउनमा महिनाको दुई पटक र भदौबाट साप्ताहिक विशेषज्ञ सेवा पुर्याइने छ ।’ उनले सालकोटबाटै पश्चिम क्षेत्रका नागरिकहरुले बालरोग, स्त्रीरोग, नाक, कान र घाँटी, फिजिसियनलगायतका सेवाहरु पाउने बताए ।
बुढाले सालकोट स्वास्थ्य केन्द्रलाई औषधि र उपकरण सम्पन्न बनाउनका लागि पनि पहल भइरहेको बताए । ‘विशेषज्ञ सेवाका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण र औजारहरु चालू आर्थिक वर्षभित्रै खरिद गर्दैछौं । ” ‘भौतिक पूर्वाधार निर्माण र थप उपकरणहरु आगामी आर्थिक वर्षमा खरिद गर्ने योजना मन्त्रालयले भएको उनले भने ।
त्यस्तै सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले पश्चिम सुर्खेतका नागरिकहरुमा स्वास्थ्य सेवाको पहुँच पुर्याउनका लागि सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताए । ‘अहिले सामान्य बिरामी हुँदा पनि यो क्षेत्रका नागरिकहरु सदरमुकाम वीरेन्दनगर र कैलाली जानुपर्ने बाध्यता छ,’ उनले भने, “मन्त्रालयले पश्चिम सुर्खेतका जनतालाई सहज सेवा पु¥याउन सालकोट स्वास्थ्य केन्द्रलाई प्राथमिकतामा राखेको छ ।’
सचिव काप्रीले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने नीति सरकारले लिएको बताए । ‘त्यसका लागि आवश्यक स्वास्थ्य उपकरण, औषधि र जनशक्तिको व्यवस्थापनमा हामी लागेका छौं,’ घर आँगनमै गुणस्तरीय स्वास्थ्य सेवा नागरिकहलाई पुर्याउने काममा हामी लागेका छौं ।’उनले भने ।