दैलेख : दैलेखको गुराँस गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ५५ करोड १७ लाख ५४ हजार बजेट प्रस्तुत गरेको छ । प्रस्तुत बजेटमाथि असार २८ छलफल गर्ने भएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले जानकारी दिए ।
आर्थिक बर्ष २०७८/०७९ को नीति कार्यक्रम मार्फत गाउँपालिकाले तेश्रो लिङ्गिलाई मासिक दुई हजार भत्ता दिने घोषणा गरेको हो । आठौं गाउँ सभामा प्रस्तुत नीति कार्यक्रममा भित्र रहेका तेस्रो लिङ्गीहरु अझै समाजको मुलधारमा आउन नसकेको भन्दै भत्ताको व्यवस्था गरिएको उल्लेख छ । यस्तै ‘मेरो छोरी जीवन भरी’ नयाँ कार्यक्रम गाउँपालिकाले ल्याएको छ ।
जसमा एक वा दुईवटा छोरीमै परिवार नियोजन गर्नेलाई पाँच हजार प्रोत्साहन भत्ता दिने बताइएको छ । यसले छोरी माथीको विभेद कम हुने गाउँपालिकाको दाबी छ । त्यसैगरी, डाक्टर पढ्नेलाई ११ लाख, इन्जिनियर, पाइलट र पिएचडी पढ्नेका लागि एक लाख प्रोत्साहन रकम दिने नीति पनि ल्याएको छ । भने कृषिमा उत्पादन बढाउन व्यवसायिक कृषक सहयोग र कृषक स्वयंसेवक परिचालन गर्ने कार्यक्रम बनाएको छ ।
असोजभित्र सबै घरमा विद्युत बालि सक्ने कार्यक्रम मार्फत लक्ष्य लिएको छ । गुराँस गौरव मार्ग, गुराँस चक्रपथ, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतमा अघिल्लो आर्थिक बर्षका कार्यक्रमलाई निरन्तरता दिएको छ ।
बालबालिकाका लागि संचालन गरेको जिवन सुरक्षा कोषको विस्तार गर्ने, जोखिम वालवालिका कोष, गुराँस रोजगार कार्यदल कार्यक्रमलाई पनि निरन्तरता दिएको छ ।