दैलेखः कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपालीले महिला पत्रकारलाई पेशामा टिकाइ राख्न सरकारले सम्बोधन गर्ने बताएकी छन । शनिबार मन्त्रालयको आयोजना र सञ्चारिका समूह कर्णाली प्रदेशको सहजिकरण वीरेन्द्रनगरमा भएको अन्तरक्रिया तथा छलफल कार्यक्रमका मन्त्री नेपालीले महिला पत्रकारका सवालहरुलाई प्रदेश सरकारले सम्बोधन गर्ने प्रतिवद्धता जनाएकी हुन् ।
'कर्णालीमा रहेका संचार माध्यम र पत्रकारहरुका लागि विभिन्न कार्यक्रम ल्याएको छ । त्यसले महिला पत्रकारलाई पनि सहयोग पुग्ने छ, उनले भनिन्, ‘अहिले प्रदेशले प्रशारण ऐन बनाइ सकेको छ । आम संचार विधेयक संंसदमा टेबुल भएको छ । अब प्रदेश सरकारले संचार नीति बनाउँदै छ । यसमा हामीले पत्रकार महिलाका सवाललाई पनि समेट्छौँ ।”
“सरकारले कल्याणकारी कोष, कल्याणकारी बजेट, पत्रकार महासंघका लागि पूर्वाधार सहयोग, पत्रकारहरुलाई छात्रवृत्ति लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिएको मन्त्री नेपालीले थपिन । कार्यक्रममा सञ्चारिका समुह कर्णाली प्रदेशकी अध्यक्ष टिका विष्टले संचार नीति र पत्रकार महिलाहरुको सवालका बारेमा प्रस्तुत गर्दै सरकारले पत्रकार महिलाहरुलाई पेशामा टिकाइ राख्न र उनीहरुको नेतृत्व क्षमता वृद्धि गर्न सम्बोधन गर्नुपर्नेमा जोड दिइन ।
उनले प्रदेश सरकारले बनाउने संचार नीतिमा पत्रकार महिलाहरुलाई प्रोत्साहन गर्ने, उनीहरुले संचालन गरेका संचार माध्यमलाई विभिन्न सहुलियत प्रदान गर्ने, आवश्यक अनुदान लगायतका विषयहरुलाई समेट्नुपर्ने सुझाव दिइन । “संचार माध्यमहरुले लैंगिक संवेदनशिलतालाई कतिको ध्यान दिएका छन । भनेर जेण्डर अडिट्को व्यवस्था पनि गर्नुपर्ने उनले बताइन् । सञ्चार माध्यममा न्यूनतम पारिश्रमिक कार्यान्यन गर्न पनि सरकारको महत्वपूर्ण भूमिका हुने उनको भनाइ छ ।
उनले भनिन्, ‘पत्रकारितामा महिलालाई टिकाउन विभिन्न समस्या छन् । यसमा राज्यले पनि ध्यान दिनुपर्छ । पत्रकार महिलाका लागि छुट्टै कार्यक्रम ल्याउन आवश्यक छ ।’ कार्यक्रममा सुर्खेत दैलेखस्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार महिलाहरुको सहभागिता रहेको थियो । उनीहरुले आवश्यक नीति तथा कानुन गराउने पर्ने र कार्यान्वयनमा जोड दिनुपर्ने बताएका थिए ।