सिमकोट : खेर जाने मुहानको पानीलाई व्यवस्थापन गरेर एउटा योजनावाट दुई वटा कामसँगै सुरु भएका छन् । यसबाट एकातिर पानीको सदुपयोग भएको छ । भने अर्कोतिर सुधारिएको घट्ट घुमेको छ । खेती योग्य जमिनहरु सिंचाइ गर्न पाइने भएको छ ।
हुम्लाको नाम्खा गाउँपालिका–१ को धिंगामा एउटा योजनाबाट दुई वटा कामसँगै भएका छन । चार हजार आठ सय मिटर टाढाँको मुहानबाट पानी ल्याएर सुधारिएको घट्ट र सिंचाई गर्न सफल भएको स्थानीय राव्देन लामाले बताए ।
‘सिंचाइ कुलो निर्माण भएर सञ्चालनमा आएपछि वर्षौदेखि आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका अब सधैं काम गर्न सहज भएको उनले भने, ‘पानी नपरेका बेला बिउँ छर्न पर्खनु पर्ने र समय चुकेपछि अन्य बाली लगाउनु पर्ने बाध्यता खेप्दै आएका थियौं । सिंचाई योजना सञ्चालनमा आएपछि अन्नबाली उत्पादन राम्रो हुने धिंगा गाउँको तीन हेक्टर खेती योग्य जमिन सिंचाइ गर्न भएका हुन । उक्त धिंगा गाउँमा उवा, जौं, कोदो, फापर, सिमि, आलु बढी उत्पादन राम्रो हुने गर्छ ।
योजनाको नामै बहुउदेश्यीय राखिएको उक्त योजनाबाट सुधारिएको घट्ट पनि सञ्चालनमा आएको वडा अध्यक्ष प्रेम बहादुर लामाले जानकारी दिए । घट्टको सञ्चालनपछि डेढ घण्टा पैदल लाग्ने हेक्पा खोलामा परम्परा देखिका पानी घट्ट धाउनु पर्ने बाध्यता हटेकोमा उनले खुशी व्यक्त गते ।
गाउँमै दैनिक तीन क्विन्टल पिस्ने सुधारिएको घट्ट निर्माण भएपछि स्थानीयका समय पनि बचत भएको छ । यस बहुउद्देश्यीय योजनाबाट सिंचाइ र घट्ट पिस्ने काम संगै सुरु भएको ग्रामीण जलश्रोत ब्यबस्थापन परियोजनाका जिल्ला सल्लाहकार बिरेन्द्र थापाले बताए ।
‘योजनाबाट चार हजार आठ सय मिटर पाईपलाइन, एउटा इन्टेक र सुधारिएको घट्ट निर्माण गरिएको छ । यसका लागि परियोजना, गाउँपालिका र स्थानीय सेवाग्राहीको ६५ लाख ३९ हजार लागत साझेदारीमा रहेको उनले भने, ‘मुख्यगरी सिंचाईबाट उत्पादनमा वृद्धि गर्नु र टाढाँको घट्ट पिस्न लाग्ने समयलाई बतच गरे अन्य आयमुलक काममा स्थानीयलाई लगाउनु परियोजनाको उदेश्य रहेको छ ।’