सल्यानः शारदा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड ६१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले नवौं नगरसभामार्फत अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ ।
नगरपालिकाले बिहीबार नगरसभामा नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । नगरपालिकाकी उपप्रमुख सावित्रा बस्नेतले सभामा पेस गरेको बजेटमा पुँजीगततर्फ १६ करोड ३५ लाख र चालुतर्फ ४० करोड २६ लाख रुपैयाँ छ ।
उनका अनुसार संघीय ससर्त अनुदान २५ करोड ६८ लाख, संघीय राजस्व बाँडफाँटबाट ९ करोड ३४ लाख, वित्तीय समानीकरणबाट १२ करोड ३६ लाख, प्रदेश वित्तीय समानीकरणबाट १ करोड ३३ लाख, आन्तरिक स्रोतबाट ६ करोड २७ लाख, प्रदेश राजस्व बाँडफाँटबाट २० लाख ८३ हजार, प्रधानमन्त्री युवा रोजगारका लागि रूपान्तरण पहल परियोजनाबाट १ करोड ४० लाख रुपैयाँ छ ।
नीति तथा कार्यक्रममा व्यवस्था भएबमोजिम आर्थिक, सामाजिक, भौतिक, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास सुशासनसमेतका विषयलाई समेटिएको नगर उपप्रमुख बस्नेतले बताइन् ।
नगर प्रमुख सुरेश अधिकारीले कोरोना महामारीका कारण नगरवासीको ज्यान उच्च जोखिममा परेकाले महामारी नियन्त्रणलाई विशेष प्राथमिकता दिइएको बताए । महामारी नियन्त्रणका लागि एम्बुलेन्स र शव बाहनलगायत आवश्यक सामग्री खरिद गरिने उनको भनाइ छ ।
जिल्लाका १० स्थानीय तहमध्ये अहिलेसम्म ६ स्थानीय तहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । दार्मा गाउँपालिकाले ३९ करोड ७० लाख, त्रिवेणी गाउँपालिकाले ४४ करोड २० लाख, कालीमाटी गाउँपालिकाले ५२ करोड ३५ लाख, सिद्धकुमाख गाउँपालिकाले ३२ करोड ७० लाख, कपुरकोट गाउँपालिकाले ४७ करोड ५५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।