रुकुम पश्चिमः महिला हिंसाविरुद्ध, आयआर्जन तथा सचेतिकरणका लागि काम गर्दै आइरहेको महिला पुर्नस्थापना केन्द्र (ओरेक) नेपालले रुकुम पश्चिमले राहत वितरण कार्यक्रम सुरुवात गरेको छ । जिल्लाका द्वन्द्व प्रभावित, सुत्केरी, गर्भवती, अपाङ्गता भएका र अति विपन्न, एकल लगायतका महिलालाई लक्षित गरेर ओरेकले आइतबारदेखि राहत वितरण सुरुवात गरेको जनाएको छ ।
आज पहिलो दिन ५० बाँफिकोट गाउँपालिका १ लागिनका ५० जना महिलालाई राहत वितरण गरिएको ओरेक नेपाल रुकुमका जिल्ला कार्यक्रम संयोजक दिपा धितालले बताइन् । उनकानुसार वडाध्यक्ष हर्कु मल्लको उपस्थितिमा राहत वितरण गरिएको हो ।
‘सातामै जिल्लाका अन्य विभिन्न ६ वटा वडामा रहेका ३ सय परिवारलाई राहत वितरण गर्ने भएका छौं । त्रिबेणी गाउँपालिकाको वडा नं. ३, ४ र ५, बाँफिकोट गाउँपालिका वढा नं. १ र २ र मुसिकोट नगरपालिकाको वडा नं. ८ मा राहत सामग्री वितरण गर्ने छौं ।” धितालले भनिन् ।
आज वितरण गरिएका राहत सामग्रीहरुमा चामल, दाल, चना, तेल, नुन, सेनेटरी प्याड, साबुन र सरफ लगायत रहेका छन् । त्यसैगरी महिलाका लागि अत्यावश्क सुरक्षित सामाग्री (डिग्नीटी किट) पनि बितरण गरिएको छ । जसमा म्याक्सी, पेटिकोट, भित्रि कपडा, टवेल, ब्रस, मन्जन, स्याम्फु, साबुन, सरफ, नङकट, लोसन, काईयो, टिका, रबर, झोला, टर्च लगायतका सामग्री रहेका छन् ।
कोरोना महामारीका समयमा बेरोजगारी बढेपछि दैनिक छाक–टार्न अप्ठ्यारो परेका परिवारलाई ओरेकको यो सहयोगले सहज हुने बताइएको छ । सहयोगले विपन्न र समस्यामा परेकाहरुलाई दैनिक जीवनयापनमा सहजता हुने स्थानीयले बताएका छन ।