काठमाडौँः यामलाल कँडेलका कारण कर्णाली प्रदेश सरकार बन्धकीमा छ । एमालेकै सांसदको भोट चोरेर जोगाएको सरकारमा हात खुट्टा बाँधिएको अवस्थामा प्रदेश सरकार छ । मुख्यमन्त्री महेन्द्र शाही सत्ताको कुर्सीमा छन् । तर उनको कुर्सी उनीसँग छैन । एमालेका चार जना सांसदको भरोसाले उनको कुर्सी जोगिएको छ । तर उनी चैनले त्यो कुर्सीमा बस्न पाएका छैनन । त्यसमाथि यामलालले अहिलेसम्मकै बल लगाएर महेन्द्र शाहीको कुर्सी भाच्न लागिरहेका छन् ।
यसै पनि सधै शक्तिहीन देखिने महेन्द्र शाही यसपटक यामलालको गर्जनले राम्रोसँग सत्ताको कुर्सी भोग गर्न पाएका छैनन । एमालेका चार जना, कांग्रेसका ६ जना सांसद चोरेर महेन्द्र शाहीले देशभर एउटै मात्रै माओवादीको सरकार जोगाइरहेका छन् । त्यो पनि अब केही महिनाका लागि मात्रै । त्यसपछि उनको हातमा न कुर्सी हुनेछ । न त माओवादीको सरकार नै । केवल सम्झना मात्रै रहनेछ । त्यसपछि त चुनाव पनि आउँला । त्यो भविष्यकै कुरा हो ।
यामलालको आक्रामक रुप
सत्तारुढ हुँदा पनि यामलाल कर्णाली प्रदेशसभामा यामलाल गर्जिन्थे । जसकारण सत्तारुढ नेताहरु हल्लिन्थे । तत्कालिन नेकपामा उनी सत्ताका प्रतिपक्षी थिए । माओवादीकै सरकार भएपनि उनले पछाडिबाट सरकार चलाउँथे । उठ भने उठ । बस भने बसको अवस्थामा महेन्द्र शाहीको सरकार पुर्याएका थिए । तर सर्वोच्चले नेकपा फुटाएर एमाले र माओवादी ब्युताएपछि यामलाल प्रतिपक्षमा झरे ।
मुख्यमन्त्रीको सपना पालेर प्रदेशसभाको राजनीतिमा होमिएका कँडेल शीर्ष नेताहरुको बचनबद्धताका कारण सपनाबाट टाढिए । उनले यसबीचमा मुख्यमन्त्री बन्ने प्रयास नगरेका होइनन् । तर सकेनन् । अहिले पनि उनी सकिरहेका छैनन । पहिले अविश्वास प्रस्ताव ल्याएर उनी सफल बनेनन् । अहिले आफ्नै पार्टीका सांसदले साथ नदिँदा उनी असफल बनेका छन् ।
जब जब उनी मुख्यमन्त्री बन्ने लक्ष्यको नजिक पुग्छन् । त्यतिबेला केही न केही राजनीतिक फन्डाले उनको सपना तुषारापात पार्छ । उनी मुख्यमन्त्री सपना पालेरै कर्णालीमा राजनीति गरिरहेका छन् । तर यतिबेला घाइते बाघको जस्तो उनको आक्रामक रुप देखिन्छ । आठौँ प्रदेशसभाको बजेट अधिवेशन उनले ठप्प पारेको झण्डै एक महिना पुग्न थाल्यो ।
यसबीचमा उनले बजेट ल्याउन दिए । तर नीति तथा कार्यक्रम ल्याउँदा नै सरकारलाई आच्छु आच्छु पारे । सरकारलाई रुन मात्रै बाँकी राखे ।
आफ्नै पार्टीका सांसद चोरेर बनाएको सरकारप्रति कटाक्ष गर्न उनले केही बाँकी राखेनन् । पहिलो दिनदेखि नै बैठक अवरुद्ध गर्न लागेका कँडेल प्रदेशसभाका दर्जन बढी बैठकमा हैकम जमाइसकेका छन् । तर पनि उनले आफ्नो आक्रामक रुप देखाउन छाडेका छैनन् । पूर्ण बहुमतमा रहेर पनि मुख्यमन्त्री बन्न नसकेका कँडेल त्यही रिसमा आगो छन् ।
राजनीतिक पद्धति अनुसार सबै कुराले साथ दिएपनि केन्द्रको विवादले गर्दा उनी कर्णालीमा सबैभन्दा धेरै विवादित र आरोपित छन् । अहिले पनि उनी मुख्यमन्त्रीका लागि तिकडम गरिरहेका छन् । कहिले प्रदेशसभा बैठक अवरुद्ध, कहिले मन्त्री भएका आप्नै सांसदमाथि छेडछाड पारेका छन् । तर पनि उनी आफ्नो उद्धेश्यमा सफल भएका छैन ।
एमालेको चरम गुटबन्दी राजनीतिले गर्दा सुर्खेत र कर्णाली प्रदेश अस्पताल यतिबेला ध्वस्त बनेको छ । राजनीतिक रुपमा पूर्ण अधिकार पाएको देखिदैन् । जसकारण एमाले प्रतिपक्षी पार्टी बनेर विरोध गर्ने झुन्ड बन्यो । जसकारण देश प्रतिगमनमा छ । कर्णाली यामलालको बन्धकमा छ । दिनौं बित्यो बजेट ल्याएको । छलफल हुन सकेको छैन ।
यो पनि पढौं
कर्णालीमा एमालेद्धारा प्रदेश सभाको बैठक पटक पटक अवरुद्ध