रुकुम पूर्वः रुकुम पूर्वमा अनियमित हुने गरेको बिद्युत सेवाले जनतालाई हैरानी बनाएको छ । विद्युत सेवामा हुने अनियमितताको कारण यहाँका जनता मर्कामा परेका छन् । सदरमुकाम समेत रहेको रुकुमकोटमा आकाशमा पानी पर्दा र हावा चल्ने वित्तिकै विद्युत सेवा अवरुद्ध हुने गरेको छ । अत्यावश्यक विद्युत सेवामा लामो समयसम्म सुधार नहुँदा विभिन्न कार्यालयको काममा प्रभाव पर्नुका साथै सर्वसाधारणहरु समेत त्यसको प्रत्यक्ष मारमा परेका छन् ।
स्थानीय केशव थापाले हावा चल्दा र पानी पर्दा यहाँको बिद्युत गैहाल्ने समस्या लामो समयदेखि भएतापनि हाल सम्म सुधार नभएको बताए । थापाले बिद्युत प्राधिकरणको काम पोल गाड्ने र तार तान्ने मात्रै भएको भन्दै सर्वसाधारणहरुले गुनासो गरिरहेको उल्लेख गरे । ‘विगतमा स्थानीय लाईन हुँदा यसरी समस्या आउदैनथ्यो’ थापाले जानकारी दिदै भने, ‘स्थानीय लाईन काटेर जबरजस्ति केन्द्रिय लाईन जोडेपछि बिद्युतमा समस्या आएको आम गुनासो छ ।’ स्थानीय लाईन हुँदा कम भोल्टेजको समस्या रहेको थियो ।
जिल्ला समन्वय समिति रुकुम पूर्वमा कार्यरत शाखा अधिकृत बिमला रोकाले विद्युत अनियमित हुँदा नियमित कामकाजका साथै आवश्यक समन्वय, पत्राचार तथा प्रतिवेदनको काम गर्न निकै समस्या भएको बताइन् । कार्यालयमा विद्युतको वैकल्पिक व्यवस्था नुहँदा विद्युत लाइन कुर्नैपर्ने अवस्था रहेको उनेल उल्लेख गरिन् । विद्युत लाइन आउँला र काम गरौंला भनेर काम गर्दा खोज्दा कामै नहुने भएकोले त्यस्तो बेला अफलाइन गर्न मिल्ने काम गरेर विद्युत आपुर्ति हुने वित्तिकै अनलाइनमा गर्नुपर्ने काम गर्ने गरेको शाखा अधिकृत रोकाले बताइन् ।
प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जिल्ला सदरमुकाममै विद्युत आपूर्ति अनियमित हुनले सरकारी कामकाजका साथै अन्य काममा प्रत्यक्ष प्रभाव परेको बताए । उनले भने, ‘कार्यालयले पनि सेवा सुधारको लागि पहलकदी लिइरहेकोले अहिले विद्युतको आपुर्ति र सेवा प्रवाह सन्तोषजनक छ । ”
बिद्युत अनियमितताको बिषयमा नेपाल विद्युत प्राधिकरण, रुकुम पुर्व वितरण केन्द्रका प्रमुख युवराज रावतले जिल्लामा सव–स्टेशन नभएकोले बेला बेला विद्युत जाने समस्या भएको बताए । ‘बर्षायाममा अलिअलि समस्या बढ्ने देखिन्छ । पानी पर्यो भने पहिरो जाने, पोल ढल्ने, रुख बिरुवाले विद्युतका तारमा असर गर्ने भएकोले समस्या हुने गरेको छ ।’ प्रमुख रावतले भने, ‘सल्यानको श्रीनगरमा रहेको सव स्टेशनबाट रुकुम पश्चिम हुँदै आउने विद्युत लाइनमा समस्या आउँने गरेकोे तर सेवा सुचारु गर्न कार्यालयले तत्काल पहल गर्ने गरेको छ ।’
यसको समस्या समाधानको लागि रुकुम पूर्वको रुकुमकोट र काँक्रिमा दुई ओटा सव–स्टेशन बनाउनको लागि पहल भरहेको र त्यसको लागि कार्यालयले समन्वय गरिरहेको उनले जनाए । काँक्रिमा सव स्टेशनको लागि जग्गा लिने काम भैसकेको र रुकुमकोटमा दुई चरणमा आएर जग्गाको लागि छलफल गरिएको छ । त्यसको लागि भने छुट्छै अरु कम्पनीले जिम्मा लिने भएकोले आफुले सहकार्य गरिदिएको उनले बताए ।