काठमाडौँ । चौकुने गाउँपालिकाले गुटुमा क्वारेन्टाइन निर्माण गरेको छ । भारत तथा विदेशबाट आएका व्यक्तिलाई राख्नका लागि गुटुको झकमकेमा रहेको जीवन ज्योती माविलाई क्वारेन्टाइन निर्माण गरिएको गाउँपालिकाले विज्ञप्ती निकालेर जानकारी दिएको छ ।
गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले भारत लगायतका देशबाट आउनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएकाले उनीहरुलाई राख्नका लागि क्वारेन्टाइन निर्माण गरिएको जानकारी दिए । चौकुनेमा चैत १ गतेदेखि अहिलेसम्म भित्रिएका ४ सय २१ जनालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको र उनीहरुको स्वास्थ्य अवस्था राम्रो भएको पनि अध्यक्ष शाहीले बताए ।
कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि अब भारत लगायतका देशबाट आउनेलाई राख्न क्वारेन्टाइन निर्माण गरिएको अध्यक्ष शाहीले बताए । उनीहरु कम्तीमा १५ दिन क्वारेन्टाइनमा बसेपछि मात्रै घर जान पाउनेछन ।
कर्णाली प्रदेश सरकारको सहयोग
गाउँपालिकाले बनाएको क्वारेन्टाइनलाई कर्णाली प्रदेश सरकारले प्रत्यक्ष सहयोग गरेको छ । मंगलबार मात्रै कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र उद्योग, पर्यटन, वन तथा वातवारणमन्त्री नन्दबहादुर बुढा आफै गुटु पुगेर क्वारेन्टाइनका लागि आवश्यक सामग्री चौकुने गाउँपालिकालाई हस्तान्तरण गरेका छन ।
क्वारेन्टाइनमा बस्नेका लागि १५ सय किलो चामल, नुन, तेल, खुर्सानी, बेसार, चिनी, चियापति लगायत एक ट्रक सामान मंगलबार गाउँपालिका अध्यक्ष शाहीलाई कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातवारणमन्त्री नन्दबहादुर बुढाले हस्तान्तरण गरेका हुन ।
क्वारेन्टाइनका लागि चाहिने आवश्यक स्वास्थ्य सामग्री भने संघीय सरकारका राज्यमन्त्री नवराज राउतले उपलब्ध गराएका हुन ।
यो चौकुनेमा बनेको दोस्रो क्वारेन्टाइन हो । यसअघि सोमबार मात्रै चौकुने गाउँपालिका १० घाटगाउँले सरस्वती माविलाई क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो । तर क्वारेन्टाइनमा बस्नेका लागि आवश्यक सुरक्षा, व्यवस्थापन र बन्दोबस्तीका हिसाबले गुटुको जीवन ज्योती स्कुलको क्वारेन्टाइनलाई नै प्रयोग गर्ने गाउँपालिकाको योजना छ ।
नेपालमा अहिलेसम्म ५ जनामा कोरोनाको संक्रमण देखिएको छ । तीमध्ये ४ जनाको उपचार भइरहेको छ भने एक जना उपचारपछि घर फर्किसकेका छन । तर अहिलेसम्म कर्णाली प्रदेशमा भने कोरोना संक्रमित भेटिएका छैनन् । यद्यपी भारतबाट चौकुने आएका धेरैबाट जोखिम बढेकाले कर्णाली प्रदेश सरकार र चौकुने गाउँपालिकाले उच्च सतर्कता अपनाएका हुन ।
क्वारेन्टाइन निर्माणबारे चौकुने गाउँपालिकाले निकालेको विज्ञप्ती