काठमाडौं । भारत लकडाउन भएर घर हिडेपनि सीमा बन्द भएपछि अलपत्र परेका नेपालीलाई सरकारले बेवास्ता गरेको छ । एक हप्तादेखि नेपाली सीमानाकामा अलपत्र परेका उनीहरुलाई नेपाल आउन नदिने र भारत सरकारले नै व्यवस्थापन गर्नुपर्ने जिकिर सरकारको छ ।
भारत लकडाउन भएपछि घर आउन खोजेका अधिकांश नेपाली कर्णाली र सुदुरपश्चिमका छन । संघीय सरकारले खासै वास्ता नगरेपछि कर्णाली र सुदुरपश्चिम प्रदेश सरकारले पनि उनीहरुप्रति दयाभाव नराख्दा सीमामा अलपत्र परेका लाखौ नेपालीको दैनिकी कष्टकर बनेको छ ।
लकडाउन दोस्रो हप्ता प्रवेश गरेको दिन संघीय सरकारले सीमामा अलपत्र परेका नेपालीलाई भारत सरकारले व्यवस्थापन गर्ने र त्यसको प्रक्रिया शुरु भइसकेको दाबी गरेको छ । तर धेरैजसो नेपाली अहिले पनि "हामीलाई घर आउन देउ, आफ्ना नागरिकको उद्धार गर" भन्दै नाराबाजी गरिरहेका छन ।
सीमा खोल्दा संक्रमणको जोखिम बढ्ने भएकाले सीमामा रोकिएका नेपालीलाई प्रवेश नदिने सहमति दुई देशबीच भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईको दाबी छ । तर त्यो माथिल्लो सहमति भनेपनि भारत सरकारले नेपालीप्रति कुनै दयाभाव राखेको छैन । बरु उल्टै उनीहरुलाई सीमा नाकाका होटलमा बस्न समेत दिइएको छैन ।
प्रदेश सरकार मुकदर्शक
आफ्ना नागरिक सीमामा अलपत्र परिरहदा प्रदेश सरकार मुकदर्शक बनेका छन । संघीय सरकारले सीमानाका बन्द गरेपनि प्रदेश सरकारका प्रतिनिधि आफै सीमामा पुगेर उनीहरको उद्धार गर्न सक्थ्यो । तर यसबारेमा न कर्णाली प्रदेश सरकारले चाँसो दिएको छ । न त आगँनमा रोइरहेका आफ्ना नागरिकलाई उद्धार गर्नेबारेमा सुदुरपश्चिम प्रदेश सरकारले वास्ता गरेको छ ।
अहिले प्रमुख जिल्ला अधिकारी सिडिओको निर्देशनका भरमा प्रदेश सरकार चलिरहेका देखिन्छन । संघीय सरकारले सिडियोलाई आवश्यक निर्देशन दिएर उनीहरुलाई आउन दिइएको छैन । महाकाली नदी तरेर आएका नेपालीहरुलाई उल्टै पक्राउ गरिएको फोटो तथा भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
भाइरल भएका भिडियो हेरेर धेरैले उनीहरुको उद्धार गर्नुपर्ने आवाज उठाएका छन । तर तिनै तहका सरकारले उनीहरुलाई बेवास्ता गरेपछि सीमामा अलपत्र परेका नेपाली आक्रोशित भएका छन ।