काठमाडौँ । सुर्खेत घाटगाँउका समीर (नाम परिवर्तन) भारतको उत्तराखण्डमा काम गर्दै थिए । कोरोना महामारीको सन्त्रास भारतमा पनि फैलिएपछि उनको होसह्वास उड्यो । विश्वमा हजारौको ज्यान लिइसकेको कोरोना भाइरस भारतमा समेत देखिएपछि सरकारले लकडाउन घोषणा गर्यो ।
महामारीमा ज्यान जोगाउन आवश्यक ठानेर समीर घर हिडे । रेल, गाडी सबै बन्द हुदै थिए । एक दुई दिन बाँकी रहदा मुश्किलले एउटा रेल चढेर उनी नेपाली सीमा गड्डाचौकीसम्म पुगे । तर सीमा नाका पुगेपछि अर्को आपत आइलाग्यो । नेपाल प्रहरीले सीमा पार गर्नै दिएनन् । आफ्नै देशका सुरक्षाकर्मीले आफ्नै नागरिकलाई रोकेपछि समीर आक्रोशित बने ।
तर पनि सुरक्षाकर्मीले नेपाल लकडाउनको आदेश पालना गर्दै समीर लगायत हजारौलाई देश फिर्न दिएनन् । उनले नयाँ जुक्ति लगाए । खुल्ला सीमाबाट बोर्डर क्रस गरेर गाँउ लागे । गाडी बाटो सबै बन्द । तर पनि उनले हार खाएनन् ।
हिडेरै गाउँ पुगे । घाटगाउँ पुग्दा घरपरिवारको माया पाउने विश्वास थियो । तर गाउँ छिर्नेवित्तिकै कोरोना ल्याइसकी भनेर उल्टै हकार्न थाले । कारण उनलाई त्यत्ति धेरै थाहा थिएन । भन्नेले भनुन भनेर उनी घर, आफन्त, बजार सबैतिर साथीभाई भेट्न हिडे ।
तर कोही पनि बोल्न तयार थिएनन । सरकारले घरमै बस्नु, बाहिर ननिस्कनु भनेपनि उनले यसलाई गम्भिरतापूर्वक लिएनन् । बाहिर हिड्दै जाँदा उनको रिर्पोट चौकुने गाउँपालिकादेखि जिल्ला प्रशासन कार्यालयसम्म पुगिसकेको थियो ।
नभन्दै गाउँपालिका र वडाबाट उनलाई गुटु जान बोलावट भयो । किन ? 'क्वारेन्टाइनमा बस्ने । १४ दिन बसेर कुनै लक्षण देखिए स्वास्थ्य परीक्षण गर्ने । नभए घर फर्किने ।'
गाउँमा सबैले शंकाका दृष्टिकोणले हेरेपछि उनले वडा र गाउँपालिकाको आग्रह स्वीकार गर्दै गुटुको जीवन ज्योती माविमा बनेको क्वारेन्टाइनको पहिलो पाहुना बने ।
मन्त्री भन्छन,- 'पीडा सुनेर मर्माहत भए'
समीर चौकुने गाउँपालिकाको गुट जीवन ज्योती स्कुलमा बनेको क्वारेन्टाइनका पहिलो पाहुना हुन । उनी जस्ता धेरै युवाहरुको समस्या बल्झदै गएपछि गाउँपालिकाले क्वारेन्टाइन निर्माण गरेको हो । कर्णाली प्रदेश सरकारको सहयोगमा गाँउपालिकाले निर्माण गरेको क्वारेन्टाइन अवलोकन गर्न कर्णाली प्रदेशका गृहमन्त्री नरेश भण्डारी र उद्योग तथा पर्यटनमन्त्री नन्दबहादुर बुढा आफै गुटु पुगेका थिए ।
मन्त्रीद्धयले प्रदेश सरकारका तर्फबाट एक ट्रक खाद्यान्न र आवश्यक सामान गाउँपालिकालाई हस्तान्तरण गरे । हस्तान्तरणपछि पत्रकार नगेन्द्र उपाध्यायले मन्त्रीकै अगाडी समीरसँग कुराकानी गर्न खोजे । उनका पीडा र समस्या मन्त्रीलाई पनि सुनाउन आग्रह गरे ।
समीरले सबै बेलिबिस्तार लगाए । उनका पीडादायी कुरा सुनेर कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारी मर्माहत भए । भारतबाट हप्ता दिन लगाएर गाउँ आएपछि कोरोनाको जोखिम घटाउनुका साथै युवाले आफु र अरुलाई बचाउन क्वारेन्टाइन बस्न आएको कुराले प्रेरित गरेको पनि मन्त्री भण्डारीले फेसबुकमा उल्लेख गरेका छन ।
कर्णाली प्रदेश सरकारका मन्त्री, जनप्रतिनिधिसँग घाटगाउँका युवा तस्बिर : मन्त्री भण्डारीको फेसबुकबाट
कोरोनाका कारण भारतमा रहेको रोजगारी गुमेको र साहुले एक हजार रुपैयाँ दिएर घर पठाएको समीरको कुराले आफू मर्माहत भएको मन्त्री भण्डारीले फेसबुकमा पोष्ट गरेका छन ।
"७ दिनको पैदल यात्रा पश्चात् भारतबाट स्वदेश फर्केर क्वारेन्टाइनमा वसेका १ वेखर्ची युवाको दर्दनाक कथाले ज्यादै मर्माहत बनायो।" मन्त्री भण्डारीले फेसबुकमा घाटगाउँका ती युवाका पीडाबारे लेखेका छन, "आफु बाच्न र अरूलाई बचाउन स्वऐच्छाले क्वारेन्टाइन वसेको हु । भारतको रोजगारी टुट्यो, अब कसरी बाँच्ने ? साहुले १ हजार दिएर भारतबाट पठायो।"