काठमाडौ । कोरोनाका कारण दक्षिण एसिया अर्थात सार्क देशमा ८२ जनाको ज्यान गएको छ । अहिलेसम्म ४ हजार ४६ जना संक्रमित छन । भारतमा सबैभन्दा धेरै ४५ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ १० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
भारतमा कोरोना फैलिने क्रम पनि बढेको छ । पछिल्लो २४ घण्टामा झण्डै दुई सय जना नयाँ बिरामी फेला परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन । यो समाचार तयार पार्दासम्म १ हजार ५ सय ९० जना संक्रमित छन । तीमध्ये १३ सयको उपचार भइरहेको छ भने १ सय ४८ जनालाई सञ्चो भएको छ ।
भारतपछि पाकिस्तानमा अहिलेसम्म २६ जनाको ज्यान गएको छ । २ हजार भन्दा धेरै संक्रमित छन । भारत र पाकिस्तानमा कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । बंगलादेशमा अहिलेसम्म ५ जनाको ज्यान गएको छ । ५१ जना संक्रमित छन ।
अफगानिस्तानमा अहिलेसम्म ४ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै २२ जना नयाँ बिरामी फेला परेपछि संक्रमित हुनेको संख्या १ सय ९६ पुगेको छ ।
श्रीलंकामा अहिलेसम्म २ जनाको ज्यान गएको छ । १ सय ४३ जना संक्रमित छन । त्यहाँ पछिल्लो समय नयाँ बिरामी खासै फेला परेका छैनन् । नेपाल, भुटान र माल्दिभ्समा भने अहिलेसम्म कसैको ज्यान गएको छैन ।
माल्दिभ्समा १८ जना संक्रमित छन । नेपालमा ५ जना र भुटानमा ४ जना संक्रमित छन । सार्क देशको तथ्यांक हेर्दा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकाभन्दा साना देश नेपाल, भुटान र माल्दिभ्स बढी सुरक्षित देखिएका छन ।
तर बढ्दो जोखिमलाई घटाउनका लागि सार्क देशले पनि लकडाउन घोषणा गरेका छन ।