काठमाडौं, १९ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुन्धान आयोगमा उजुरी परेको छ । बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको भन्दै आयोगमा उजुरी परेको अख्तियार स्रोतले जनाएको छ ।
मन्त्री ढकालविरुद्ध विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले उजुरी दिएका हुन । उनले आइतबार अख्तियारको वेबसाइटमार्फत उजुरी दर्ता गराएका अख्तियार स्रोतले जनाएको छ । उजुरी दर्तापछि अख्तियारले यो विषयमा चाँसो बढाएको छ ।
आफ्नो क्षेत्राधिकारभित्र नपर्ने विषयमा अख्तियारले बोलिसकेको छैन । अख्तियारले मन्त्रीपरिषद निर्णयको विषयमा मात्रै छानबिन गर्न पाउदैन । तर उसले मन्त्रालयका निर्णयहरुमा छानबिन गर्न पाउने भएपनि नेताहरुको दबाबमा अख्तियार पन्छिदै आएको छ ।
‘मिडिया अनि आम नागरिकले प्रश्न उठिरहँदा पनि स्वास्थ्य मन्त्री अनि प्रधानमन्त्रीबाट जवाफ दिन नपर्ने भन्ने अभिव्यक्ति आउँदा थप शङ्का उब्जिएको भनी उक्त उजुरीमा उल्लेख गरिएको छ' पौडेलले उजुरीमा थप लेखेका छन, 'साथै विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्यापिड टेस्टिङ किट सात करोड भन्दा बढीको लागतमा किनेको कुरा समेत मिडियामा आइसकेको छ। तसर्थ, यी छानबिनका विषय हुन्।’
नेता पौडेलले उजुरी दिए लगत्तै अख्तियारको प्रवक्तासँग कुरा गरि उजुरी दर्ता भएको जानकारी समेत लिइसकेका छन्। उजुरीमा बुँदागत विवरण समेत राखिएको जनाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनसँग कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री किन्दा करोडौ घोटाला भएको समाचार सञ्चारमाध्यममा आइरहेको छ ।
तर यसबारेमा मन्त्री ढकालले अहिलेसम्म मुख खोलेका छैनन । प्रधानमन्त्री ओलीले भने यस विषयमा थप कुरा नगरौ भनि मिडियालाई जवाफ दिने गरेका छन ।