मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा आउने बाह्य तथा आन्तरिक पर्यटकहरुका लागि सहजका लागि नेचर गाईट तयार पारिएका छन् । रारा राष्ट्रिय निकुञ्जले राराको जैविक विविधता, वन्यजन्तु, चराचुरुङ्गी र पदमार्ग र नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरी ३३ जना नेचर गाइड तयार गरेको हो ।
रारा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज बनाउन फागुन १ गतेदेखि ६ गतेसम्म नेचर गाइड तालिमको आयोजना गरिएको हो । रारा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई रारा पुग्ने पदमार्ग, वन्यजन्तु, चराचुरुङ्गीदेखि राराको जैविक विविधताबारे जानकारी गराउन नेचर गाईड तयार गरिएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।
राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०२९, हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६, अनुसार प्रत्येक निकुञ्जले अनिवार्य नेचर गाइड राख्नुपर्ने व्यवस्था भए पनि रारा राष्ट्रिय निकुञ्जले हालसम्म नेचर गाइड तयार गरेको थिएन । स्थापना भएयता पहिलो पटक नेचर गाइड तयार पारिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए ।
आन्तरिक तथा बाह्य पर्यटकहरुलाई राराका बारे सहजै जानकारी गराउनुका साथै निकुञ्जभित्र रहेका जैविक विविधता, वन्यजन्तु, वनस्पति, चराचुरुङ्गी धार्मिक तथा सांस्कृतिक परम्पराका बारे सहजैरुपमा पर्यटक आतिथ्यउद्देश्य र रोजगारको सिर्जन हुनुका साथै नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउने उद्देश्यले नेचर गाइड उत्पादन गरेको संरक्षण अधिकृत भण्डारीले बताए ।
रारामा मात्र २ सय ७२ प्रजातिका चराचुरुङ्गी छन् । विश्वमा नपाइने असला जातको माछा विभिन्न प्रकारका वनस्पतिका साथै यहाँको छुट्टैखाले जैविक विविधता छ ।
यहाँ पुग्ने जो कोही पर्यटहरुले सबै जानकारी लिन खोज्छन् । योभन्दा अगाडि यी सबै विषयमा ज्ञान भएका जनशक्ति नहँुदा जानकारी बिना पर्यटक फर्किन्थे । अब राराको बारे ज्ञान भएका नेचर गाइड उत्पादन भएपछि पर्यटकहरुले सबै जानकारी पाउनेछन् ।
यो पेशामा लागेका नेचर गाइडको आर्थिक स्थितिमा समेत मजुबुद हुने तालिमका प्रशिक्षक चरा विज्ञ टीकाराम गिरीले बताए । विगतका दिनमा रारा पुग्ने पर्यटकहरु बीच बाटोमा ठगिएका घटना धेरै आएका छन् ।
रारा पुग्ने जो कोही पर्यटक नठगियोस् राराका बारे सबैखाले जानकारी पर्यटकहरुले पाउन् भन्ने हेतुले नेचर गाइड उत्पादन गरिएको हो । मध्यवर्ती क्षेत्रका बेरोजगार युवालाई यो पेशाले आर्यआर्जनको पाटो पहिल्याउन सक्ने मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष बलराम साहनीले बताए ।
छायाँनाथ रारा नगरापालिका—८ झयारी गाँउका दानबहादुर रावल नेचर गाइडको तालिम पाएपछि अबका दिनबाट व्यवसायिक रुपमा नेचर गाइडको पेशा अगाल्ने बताए ।
बेरोजगारीका कारण आफू विदेश जाने तयारीमा रहेको बताए । मध्यवर्ती क्षेत्र विकास समितिले आफूलाई नेचर गाइडको तालिममा छनौट गरेपछि यो पेशामा लागे भविष्य उज्जवल देखिने र नेचर गाइड पेशाले राराको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने र आफूलगायत समुदायको समेत आर्थिक उन्नति राम्रो हुने भएकाले यो पेशालाई प्राथमिकता दिने रावलले बताए ।