काठमाडौँ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघसहितका संघ संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुमाथि निष्पक्ष छानबिन र कारबाहीको माग गरेका छन । बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार महासंघ, प्रेस युनियन, सम्पदक समाज, क्रियाशील दलित पत्रकार संघ, नेपालको उपत्यका समन्वय समिति लगायतका संघ संस्थाले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा, राजनीतिक सल्लाहकार विष्णु रिमाल र सुचना प्रविधि (आइटी) सल्लाहकार अस्गर अलिमाथि छानबिन र कारबाहीको माग गरेका हुन ।
"अनलाईन पोर्टल तथा सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो भए खण्डन गर्ने अथवा कानुनी उपचार खोज्ने विधि विधान र स्थापित पद्धति हुँदाहुँदै राज्य सत्ताको आडमा समाचार हटाउन लगाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन गर्नु संविधान विपरित हो", महासंघका महासचिव रमेश विष्टको हस्ताक्षरसहित जारी गरिएको विज्ञप्तीमा भनिएको छ, "राज्यको जिम्मेवार निकायबाट भएको प्रेस स्वतन्त्रता विरोधी यस्तो कार्यको कडा शब्दमा भत्र्सना गर्दछ र घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दछ ।"
यस्तै क्रियाशील दलित पत्रकार संघ, नेपाल उपत्यका समन्वय समितिका अध्यक्ष शोचा सेन्चुरी र विष्णु परियारद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, "हामी संविधानको प्रस्तावनामा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताको मर्मविपरित यो प्रकरणमा सलंग्नबारे तत्काल छानबिन गरी कारबाहीको जोडदार माग गर्दछौ ।"
भएको के थियो ?
चीनबाट स्वास्थ्य सामग्री खरिद प्रकरणमा प्रधानमन्त्रीका सल्लाहकार र आफन्तको प्रत्यक्ष संलग्नता रहेको समाचार काठमाडौँ प्रेस डटकमले प्रकाशित गरेको थियो । जसमा उपप्रधानमन्त्री इश्वर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र उनका छोरा तथा प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलिको चीनबाट खरिद भएका स्वास्थ्य सामग्री प्रकरणमा प्रत्यक्ष संलग्नता रहेको उल्लेख थियो ।
बुधबार प्रकाशित समाचारमा आफ्नो नाम मुछिएपछि त्यो समाचार हटाउन प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रत्यक्ष दबाब पनि दिएका काठमाडौ प्रेस डटकमका प्रधानसम्पादक कसमस विश्वकर्माले विज्ञप्ती निकालेर जनाएका छन ।
तर समाचार हटाउन नसकिने र कुनै गुनासो वा आपत्ति भए खण्डन पठाउन प्रधानसम्पादक विश्वकर्माले आग्रह गरेका थिए । यसरी काठमाडौ प्रेसलाई प्रत्यक्ष दबाब दिने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, आइटी सल्लाहकार असगर अलि र प्रेस सल्लाहकार सुर्य थापा रहेको प्रधानसम्पादक विश्वकर्माको भनाई छ ।
सन्तोष भट्टराईको बाइलाइनमा छापिएको समाचार हटाउन दिएको दबाब नमानेपछि प्रधानमन्त्रीका आइटी सल्लाहकार अलिले काठमाडौ प्रेसको साइट बनाउने शिरान टेक्नोलोजीका सञ्चालकलाई समाचार हटाउन दबाब दिएका थिए । प्रधानमन्त्रीका सल्लाहकारहरुको दबाब खेप्न नसकेपछि शिरान टेक्नोलोजीले शुरुमा आग्रह गर्यो र नमानेपछि त्यो समाचार हटाइदियो ।
शिरान टेक्नोलोजीका सञ्चाल विश्वास ढकाल प्रधानमन्त्रीका आइटी सल्लाहकार अलिका सहयात्री हुन । उनीहरु मिलेर काम गर्छन । हरेक काममा उनीहरुले सहकार्य गरेर गर्ने गरेका छन । अनलाईन बिल भुक्तानी गर्ने इसेवा डटकमका सञ्चालक अलि एफवान सफ्टका मालिक हुन । एफवान सफ्ट कम्पनी र शिरान टेक्नोलोजी साझेदार कम्पनी हुन ।
अलिमार्फत नै शिरान टेक्नोलोजीका प्राविधिकले समाचार हटाएपछि काठमाडौँ प्रेसका प्रधानसम्पादक विश्वकर्माले प्रेस विज्ञप्ती जारी गरेर प्रधानमन्त्रीका सल्लाहकारहरुबाटै प्रेस स्वतन्त्रता उंल्लघन भएको र तत्काल छानबिन तथा कारबाहीका लागि कानुनी उपचार खोज्ने बताए । यसपछि नेपाल पत्रकार महासंघ लगायतका संघ संगठनले विरोधमा विज्ञप्ती जारी गरेका हुन ।