काठमाडौ । सुर्खेतको चौकुने गाउँपालिकाले सबै झोलुंगे पुल, फेरि र डुंगामा आवतजावत गर्न रोक लगाएको छ । छिमेकी कैलाली जिल्लामा समेत कोरोना भाइरसका संक्रमित फेला पर्न थालेपछि चौकुनेले आफ्ना १० वटै वडाका झोलुंगे पुल र डुंगामा आवतजावत गर्न रोक लगाएको हो ।
गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले आइतबार एक विज्ञप्ती जारी गर्दै कोरोनाको त्रास र जोखिम बढेकाले सबै झोलुंगे पुल र डुंगाको आवतजावत बन्द गर्न वडाहरुलाई निर्देशन दिएका छन । स्थानीय विपद व्यवस्थापन समितिको बैठकले गाउँपालिकामा रहेका १२ वटै झोलुंगे पुल र डुंगाको आवतजावत बन्द गर्ने निर्णय गरेको अध्यक्ष शाहीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
‘यस विषम परिस्थितीमा समग्र नागरिक समाजको सहयोगबाट लकडाउनलाई पालना गर्न जरुरी छ’ गाउँपालिकाले जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘हाल विश्वभरी फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलिन नदिन गाउँपालिकामा रहेका सबै झोलुंगे पुल वडाध्यक्षको नेतृत्वमा बन्द गराउने निर्णय गरिएको छ ।’
भेरी तथा कर्णाली नदीमा अहिलेसम्म १२ वटा झोलुंगे पुल छन । चौकुने ९ घाटगाउँ – कुइने जोड्ने भेरीनदीमाथिको पुल, चौकुने १० कुमाला–सोल्टा जोड्ने कर्णाली नदीमाथिको पुल, चौकुने १० झाला–मलेखा जोड्ने कर्णाली नदीमाथिको पुल, चौकुने ३ शोभानचौर–सावा–ताम्चा कर्णाली नदीमाथिको झोलुंगे पुल, चौकुने २ बोला–पाया कर्णाली नदीमाथिको झोलुंगे पुल बन्द गराउन गाउँपालिकाले निर्देशन दिएको छ ।
यस्तै चौकुने ६ कोलीमारा कर्णाली नदीमाथिको झोलुंगे पुल, चौकुने ६ काइरालबास–मालुमेला झोलुंगे पुल, चौकुने ४ रुदेव पुच्मा–टटाली झोलुंगे पुल, चौकुने १ पुके–बलाता झोलुंगे पुल, चौकुने १ तालागाउँ – कटाई झोलुंगे पुलमा आवतजावत बन्द गर्न गाउँपालिकाले वडाहरुलाई निर्देशन दिएको हो ।
यस्तै विज्ञप्तीमा छुटेका चौकुने वडा ३ मा रहेका गौरीवन र डन्डने झोलुंगे पुल पनि बन्द गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको निर्देशन पाउनेवित्तिकै वडाहरुले आइतबार नै सबै पुल बन्द गर्नुका साथै आवतजावतमा रोक लगाइसको छन । साथै गाउँपालिकाले यसबेला नदीमा पौडी खेलेर गाउँ छिर्ने, डुंगा तरेर आउनेलाई पनि रोक लगाइएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए ।
शनिबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई थप कडाई गर्नेगरी एक गाउँदेखि अर्को गाउँसम्म जान पनि नपाउने निर्णय गरेपछि गाउँपालिकाले सबै सीमानाका, झोलुंगे पुल, डुंगा र फेरीको आवतजावत पनि बन्द गरेको हो ।
सीमानाका, झोलुंगे पुल बन्द गर्न चौकुने गाउँपालिकाले जारी गरेको विज्ञप्ती