काठमाडौ । कुनै बेला पुल नहुँदा गाउँलेलाई नदीले बगाउँथ्यो । कतिपय बीच नदीमा डुंगा दुर्घटना हुँदा डुबेर पनि ज्यान गुमाउँथे । बर्षौ काठको डुंगामा साउने भेल तरेर पनि गाउँका मानिसहरु जीउ ज्यान जोगाउँथे । ग्रामीण भेगमा नदी वारपार गर्ने एक मात्रै साधन डुंगा हुन्थ्यो । गाउँतिर डुंगालाई नाउ भनिन्छ ।
ती नाउ कहिल्यै बन्द भएनन । द्धन्द्धकालमा गाउँमा नेपाली सेना आएपछि माओवादीको आदेशमा डुंगा बन्द हुने बाहेक बाह्रैमास चलिरहन्थे । हिउँदमा जो कोहीले नदी तार्न सक्ने भएपनि बर्षायाममा राजी समुदायले डुंगा तार्ने जिम्मेवारी बोक्थे । र पनि सकुशल मान्छेहरुलाई वारपार गराउँथे । भेरी र कर्णाली नदीको सबै जोखिम मोलेका गाउँले यसलाई खासै ठूलो दुःख मान्दैनथे ।
तर अहिले केही बर्षयता भेरी र कर्णाली नदीमा पक्की जस्तै लाग्ने झोलुंगे पुल बनेका छन । एक दुई बर्षपछि गाडी चल्ने पक्की पनि पुल पनि निर्माण हुदैँछन । नदीको डर इतिहासमा सिमित भइसकेको थियो ।
तर समय निकै बलवान हुने रहेछ । असार साउनमा कर्णाली र भेरीमा आउने बाढी र भेलसँग नडराएका गाउँले अहिले विश्वव्यापी महामारीको रुप लिएको कोरोनाबाट थुरथुर छन । कोरोनाबाट बच्न हरसम्भव उपाय अपनाइरहेका गाउँले अहिले बर्षाैपछि नदी वारपार गर्ने तिनै झोलुंगे पुल पनि बन्द गराउन बाध्य भएका छन ।
भारत लगायतका देशबाट आउने नागरिकमा कोरोनाको जोखिम उच्च भएपछि माथिल्लो निकायको निर्देशनमा अहिले गाउँका सबै झोलुंगे पुल बन्द गरिएका छन । यसैअनुसार चौकुने गाउँपालिकाले आइतबार निर्देशन दिनेवित्तिकै भेरी र कर्णाली नदीका पुलमा तारबार लगाएर बन्द गरिएको छ ।
कैलालीसँग जोड्ने चौकुने ९ र १० नम्बर वडाका भेरी र कर्णाली नदीमाथिका झोलुंगे पुलमा तारबार गरी आवतजावत बन्द गरिएको स्थानीय ज्वाला खनालले जानकारी दिए । उनका अनुसार कोरोनाको विपत्तिबाट जोगिन वडा कार्यालय, जनप्रतिनिधि, प्रहरी र स्थानीय युवाहरुले आवतजावत ठप्प हुने गरी तारबार गरेका हुन ।
अब भारतबाट आएका परदेशी भागेर आउन खोजेपनि गाउँ छिर्न पाउने छैनन् । शनिबार मात्रै छिमेकी जिल्ला कैलालीमा एकैदिन ३ जना नयाँ संक्रमित फेला पर्ने वित्तिकै चौकुने गाउँपालिकाले आफ्ना सबै वडाका झोलुंगे पुल, डुंगा, फेरिबाट हुने आवतजावतमा रोक लगाएर सीमानाका बन्द गरिदिएको छ ।
सुदुरपश्चिममा अहिलेसम्म ४ जनामा कोरोना संक्रमण देखिएपनि कर्णाली प्रदेशमा संक्रमित भेटिएका छैनन् । नेपालमा भने अहिलेसम्म ९ जनामा संक्रमण देखिएकामा १ जना उपचारपछि घर फर्केका छन । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
फोटो :सामाजिक सञ्जाल फेसबुक