काठमाडौं । अब भारत लगायतका ठाउँबाट आएका व्यक्ति सोझै क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । त्यति मात्रै होइन । क्वारेन्टाइनमा बसेपछि अनिवार्य स्वास्थ्य परीक्षण गर्ने व्यवस्था सरकारले गरेको छ । क्वारेन्टाइनमा बसेकाहरुमा लक्षण नदेखिएपनि संक्रमण हुन सक्ने भएकाले स्वास्थ्य परीक्षणलाई अनिवार्य गरिएको सरकारले जनाएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य परीक्षण, उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको पनि परीक्षण र पुरा १४ दिन अवधि पूरा भएपछि मात्रै घर पठाउने निर्णय गरेको हो ।
पछिल्लो समय कैलालीमा क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कोरोना पुष्टि भएपनि कुनै लक्षण नदेखिएपछि सरकारले अनिवार्य कोरोना परीक्षण गर्ने निर्णय गरेको हो ।
युवा स्वयंमसेवक र स्वयंमसेविका परिचालन
कोरोनाको बढ्दो जोखिम न्युनिकरणका लागि लकडाउनलाई कडाई गर्न सरकारले युवा स्वंयमसेवक तथा ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ । आइतबार बसेको बैठकले गाउँ गाउँमा युवा स्वयंमसेवक र स्वास्थ्य स्वयंमसेविका परिचालन गर्ने पनि निर्णय गरेको हो ।
युवा स्वयंमसेवकलाई गाउँपालिका र वडाले परिचालन गर्नेछ भने स्वास्थ्य स्वयंमसेविकालाई स्थानीय स्वास्थ्य चौकीले परिचालन गर्नेछ । यसका लागि ५० हजार स्वयंसेविका खटाउने निर्णय सरकारले गरेको छ ।
युवाहरुका लागि गाउँ तथा वडाले आर्थिक व्यवस्थापन गर्नेछ भने स्वास्थ्य स्वंयमसेविकाका लागि विमा र पारिश्रमिकको व्यवस्था गरिएको छ । यस्तै सरकारले कोरोना आंशका गरिएका र पुष्टि भएका बिरामीलाई अस्पतालसम्म ल्याउनका लागि स्वास्थ्यकर्मी, स्थानीय प्रशासन र नेपाली सेनालाई पनि खटाउने निर्णय गरेको उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले जानकारी दिए ।