काठमाडौ । कोरोना रोकथामका लागि सीमानाका बन्द गरेको निर्णय कार्यान्वयको अनुगमनमा निस्केको चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही लगायतका जनप्रतिनिधिलाई बाघले लखेटेको छ ।
चौकुने गाउँपालिका वडा नं. २ का लगामको झोलुंगे पुल बन्द गरेको अनुगमन गरेर फर्किदै गर्दा कर्णाली नदीमा पानी पिउन गएका बेला अध्यक्ष शाही, उपाध्यक्ष निर्मला मगर, प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेल, स्वास्थ्य अधिकृत डिल्लीराम घिमिरेलाई दुई वटा बाघले लखेटेका अनुगमनमा सहभागि नन्दु खनालले जानकारी दिए ।
झोलुंगे पुल बन्द गरेपछि गाउँपालिकासहितको अनुगमन टिम कर्णाली नदीमा पानी पिउन गएका बेला सेल्फी समेत खिच्दै थिए । पानी पिउदै सेल्फी खिचेर केही समय आराम गरिरहेका बेला कैलाली मोहन्याल गाउँपालिकाका एक स्थानीयले दुई वटा बाघ उनीहरुतिर आउँदै गरेको जानकारी गराएका थिए ।
नभन्दै दुईवटा बाघ आफूतिर आउँदै गरेको देखेपछि अध्यक्षसहितको टिम त्यहाँबाट दौडिएर कर्णाली किनार नजिकै पार्क गरिएको गाडीभित्र गएर बसेको थियो । बाघ देखिने गरी नजिकै आउँदै गएर गाडीमा बसेपछि सबैजना सुरक्षित भएको खनालले बताए ।
बाघ झम्टिन नआउँदै दौडिएर गाडीमा बसेपनि केही जना भने डरले थुरथुर बनेका थिए । पछिल्लो समय पश्चिम सुर्खेतमा बाघ आतंक बढेको छ । वनजंगल सरक्षण गरेपछि घाटगाउँ, कुमाला, केवडी, लगाम, बेतान लगायतका ठाउँमा बाघले गाईबाख्रा खाने र मान्छेलाई पनि आक्रमण गर्ने गरेका स्थानीयको गुनासो छ ।
