सुर्खेतः कर्णालीका विभिन्न ठाउँहरुमा जारी निषेधाज्ञा खुकुलो बन्दै गएको छ । गत बैशाख १४ गतेदेखि सुर्खेत लगायत अन्य कर्णालीका जिल्लाहरुमा खुकुलो बन्दै गएको हो । कोभिडको दोस्रो भेरियन्ट सुरु भएलगत्तै कर्णालीका सबै जिल्लाहरुमा निषेधाज्ञा जारी भएको थियो । उक्त जारी निषेधाज्ञा कर्णालीका दशै जिल्लाहरुमा खुकुलो बन्दै गएको छ । भने ठप्प सार्वजनिक तथा नीजि सवारी साधनहरु सञ्चालनमा आएका छन ।
नागरिकको जीवनलाई सामान्य अवस्थामा फर्काउन निषेधाज्ञा जारी राख्ने तर खुकुलो भने गर्ने सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । ‘निषेधाज्ञा खुकुलो भएपछि असार १८ गतेदेखि सार्वजनिक यातायात समेत चल्ने छन । जोर–विजोर प्रणालीमा सुर्खेत जिल्लाभर सार्वजनिक यातायात चलाउन पाउने छन । जोर बारमा जोर नम्बर प्लेट र बिजोर बारमा बिजोर नम्बर प्लेटका गाडीहरु सञ्चालन हुनेछन् । साथमा गाडीले पूर्णक्षमतामा यात्रुहरु बोक्न पाउने छन ’ प्रजिअ रिजालले भने ।
‘असार १० गतेदेखि नै वीरेन्द्रनगरमा निषेधाज्ञा खुकुलो पारिएको थियो । हाल सुर्खेत जिल्लाभर बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म सबै प्रकारका पसलहरुलाई संचालन भइरहेका छन् । असार यता सुर्खेतसहित प्रदेशभर निषेधाज्ञा खुकुलो पारिएको छ । कोरोना संक्रमण नघटे पनि निषेधाज्ञा खुकुलो पारिएको हो । हाल प्रदेशका सबै जिल्लामा सबै प्रकारका पसल तथा निजी सवारी साधन सञ्चालन हुँदै आएका प्रजिअ रिजालले बताए ।
त्यस्तै दैलेखमा विहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म सबै प्रकारका व्यवसाय संचालन गर्न दिइएको छ । दैलेखमा सार्वजनिक यातायात खुला गर्न दिइएको छ । नीजि सवारी साधनलाई भने मजदुर बोक्नेगरी संचालन गर्न दिइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद प्याकुरेलले जनाए । यस्तै सल्यानमा पनि अत्यावश्यकका पसलहरु बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म संचालन गर्न दिइएको छ । निजी सवारी साधनलाई पनि जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिइएको सल्यान प्रजिअ लक्ष्मीदेवी हुमागाईले बताइन् ।
त्यस्तै रुकुमपश्चिममा पनि निषेधाज्ञा खुकुलो पारिएको छ । सवारी साधन सञ्चालन गर्न दिएको छैन । उपभोग्य पसल पसल व्यवसाय बिहान ६ बजेदेखि १० बजेसम्म सम्म र हाडर्वयर फेन्सी पसलहरु बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म खुला गरिएको छ । भने जाजरकोटमा पनि बिहान ६ बजेदेखि १० बजेसम्म पसल व्यवसाय सञ्चालन गर्न दिइएको छ । जाजरकोटमा १५ देखि नै सार्वजनिक यातायात खुला गरिएको छ ।
जुम्लामा पनि निषेधाज्ञा असार २१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । सबै प्रकारका पसलहरु बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला गरिएको छ । तर सवारी साधान सञ्चान बारे कुनै निर्णय गरिएको छैन । त्यस्तै मुगुमा भने आधा यात्रु बोक्ने गरी यातायात सञ्चालन गरिएको छ । मुगुमा बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म पसलहरु खुल्ला गरिएको छ । कालिकोटमा पनि नीजि तथा सार्वजनिक सवारी साधन सञ्चालन भइरहेको छ ।
कर्णालीभर एक हजारभन्दा बढी सक्रिय संक्रमित
हाल कर्णाली प्रदेशभर एक हजार एक सय सात जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्क अनुसार कर्णालीका १० वटै जिल्लाको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै कोरोनाका सक्रिय संक्रमित सुर्खेतमा र सबै भन्दा कम डोल्पामा रहेको छन । त्यस्तै सुर्खेतमा दुई सय ४६, दैलेखमा ९४ जना, कालीकोटमा एक सय १७ जना, जाजरकोटमा ४१ जना, सल्यानमा ७० जना रुकुमपश्चिमा दुईसय दुई जना कोरोना सक्रिय सक्रमित रहेका छन् । त्यस्तै जुम्लामा एकसय सात जना, डोल्पामा १७ जना, मुगुमा एकसय ७५ जना र हुम्लामा १९ जना कोरोनाका सक्रिय बिरामी संख्या रहेको निर्देशनालयले जनाएको छ ।
संक्रमित हुनेहरुमा महिला ३६ प्रतिशत र पुरुष ६४ प्रतिशत रहेका छन । भने उमेरका आधारमा सबै भन्दा धेरै २१ देखि ३० बर्ष उमेर समुहमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । जसमा १० बर्ष मुनिका ४ प्रतिशत बालबालिकामा, ११ देखि २० बर्ष सम्मका उमेर समुहका १४ प्रतिशत, २१ देखि ३० बर्ष उमेरका ३६ प्रतिशत, ३१ देखि ४० बर्षका उमेर समुहका २५ प्रतिशत, ४१ देखि ५० उमेरका १२ प्रतिशत, ५१ देखि ६० बर्षका ६ प्रतिशत र ६१ बर्ष भन्दा माथिका उमेर समुहका ३ प्रतिशत व्यक्तिहरुका कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म कर्णालीमा कोरोनाबाट तीन सय २७ जनाका मृत्यु भएको निर्देशनालले जनाएको छ । असार पहिलो सातादेखि कर्णालीका जिल्लाहरुमा निषेधाज्ञा खुकुलो छ । तर संक्रमित घटेपनि कोरोनाको जोखिम कायम रहेकोले निषेधाज्ञालाई निरन्तरता दिइएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १७, २०७८ १७:५६