काठमाडौ । सुर्खेतको चौकुने गाउँपालिकामा भारतबाट आएकाहरुको कोरोना परीक्षण हुने भएको छ । केहिदिनअघि कैलालीमा भारतबाट आएकाहरुमा कोरोना संक्रमण पुष्टि भएपछि चौकुने गाउँपालिकाले पनि कोरोना भाइरसको परीक्षण गर्ने तयारी गरेको हो ।
गाउँपालिकाले कोरोना परीक्षणका लागि स्वाब संकलन गर्नेबारे सार्वजनिक सुचना नै निकालेको छ । १०० दशमलव ४ डिग्री फरेनहाइटभन्दा धेरै ज्वरो आएका, टाउको धेरै दुखेका र सास फेर्न गाह्रो भएकाले कोरोना परीक्षणका लागि गाउँपालिकामा सम्पर्क गर्न अध्यक्ष धीरबहादुर शाहीले सार्वजनिक सुचनामार्फत आग्रह गरेका छन ।
चौकुनेमा संकलन भएको स्वाब अर्थात कोरोना भाइरसको परीक्षण सुर्खेतको प्रदेश अस्पतालमा हुनेछ । एक हप्ताअघि मात्रै प्रदेश अस्पतालमा कोरोना परीक्षण शुरु भएको हो ।
कुनै लक्षण नदेखिएपनि कोरोनाको संक्रमण रहने भएकाले गाउँपालिकाले भारतबाट आएका सबैको एकपटक कोरोना परीक्षण गर्ने तयारी गरेको छ । नेपालमा अहिले कोरोना दोस्रो चरणमा प्रवेश गरेकाले यसबेला कोरोना परीक्षण गर्नैपर्ने र पोजेटिभ देखिए तुरुन्तै उपचार शुरु गर्नुपर्ने विज्ञहरुको भनाई छ ।
अन्यथा कुनै लक्षण नदेखिएका व्यक्तिले कोरोना अरुलाई पनि सार्न सक्ने भएकाले परीक्षण एक मात्रै विकल्प भएको विज्ञहरु बताउँछन ।भारतबाट फर्केकामा कोरोना संक्रमण देखिएपछि मन्त्रिपरिषद बैठकले कर्णाली र सुदुरपश्चिममा तत्कालै भारतबाट आएर क्वारेन्टाइनमा बसेका सबैको परीक्षण गर्ने निर्णय नै गरेको छ ।
सोही अनुसार गाउँपालिकाले पनि भारतबाट आएकाहरुको परीक्षणका लागि स्वाब संकलन शुरु गर्न सार्वजनिक सुचना जारी गरेको हो । भारतबाट आएकाहरुले एकपटक कोरोना परीक्षण गरेपछि मात्रै ढुक्क हुने अवस्था आउँछ ।
अन्यथा कुनै लक्षण नदेखिएपनि कोरोना संक्रमण अरुमा पनि सर्ने जोखिम भएकाले सिंगो गाउँ नै महामारीको चपेटामा पर्न सक्ने डर जनप्रतिनिधिमा छ ।
स्वाब संकलनका लागि गाउँपालिकाको सूचना !