काठमाडौ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या झण्डै ७० हजार नजिक पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाले ६९ हजार ५ सय ५ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । १२ लाख ७४ हजार भन्दा धेरै संक्रमित छन ।
कोरोनाका कारण सबैभन्दा धेरै इटालीमा १५ हजार ८ सय ८७ जनाको ज्यान गएको छ । १ लाख २८ हजार संक्रमित छन भने झण्डै ४ हजारको अवस्था गम्भिर छ । इटालीपछि स्पेनमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार ६ सय ४१ पुगेको छ । १ लाख ३१ हजार जना संक्रमित छन भने ६ हजारको अवस्था नाजुक छ ।
अमेरिकामा झण्डै १० हजारको मृत्यु
अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार नजिक पुगेको छ । यो समाचार तयार पार्दासम्म ९ हजार ६ सय १८ जनाको ज्यान गएको छ । ३ लाख ३६ हजार भन्दा धेरै संक्रमित छन । अहिलेसम्म १७ हजारलाई सञ्चो हुँदा ८ हजारको अवस्था भने गम्भिर छ ।
अमेरिकापछि फ्रान्समा कोरोनाले ८ हजार ७८ जनाको ज्यान गएको छ भने ९२ हजारभन्दा धेरै संक्रमित छन । बेलायतमा मृत्यु हुनेको संख्या झण्डै ५ हजार पुगेको छ । अहिलेसम्म त्यहाँ ४ हजार ९ सय ३४ जनाको ज्यान जाँदा ४७ हजार संक्रमित छन ।
यस्तै चीनमा ३३ सय जनाको मृत्यु भएको छ । इरानमा ३६ सय जनाले ज्यान गुमाएका छन । यस्तै जर्मनीमा १५ सय, नेदरल्याण्ड्समा १७ सय र बेल्जियमा १४ सय जनाको ज्यान गएको छ ।
दक्षिण एसियामा भारत र पाकिस्तानमा धेरै
अहिलेसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय १८ पुगेको छ । ४ हजार बढी संक्रमित छन । पाकिस्तानमा ५० जनाको ज्यान गएको छ भने ३२ सय जना संक्रमित छन । दक्षिण एसियामा सबैभन्दा धेरै भारतमा कोरोना फैलिने जोखिम छ । जुन सही पनि आकलन हुन थालेको छ ।
शुरुमा पाकिस्तानमा संक्रमितको संख्या धेरै थियो । तर अहिले भारतमा कोरोनाबाट संक्रमित हुने संख्या ४२ सय पुगेको छ । भारतमा कोरोनाबाट दैनिक १० जनाको ज्यान जाँदा अमेरिकामापछि सबैभन्दा बढी जोखिम मानिएको छ ।
जहाँ तीन हप्तादेखि लकडाउन छ । प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले अझै लकडाउन बढाउने तयारी पनि गरेको छ । नेपालमा भने अहिलेसम्म ९ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये १ जनालाई सञ्चो भइसकेको छ भने बाँकी ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
नेपालसँगै भुटान र माल्दिभ्समा पनि कसैको ज्यान गएको छैन ।