दमौलीः निरन्तरको वर्षाका कारण मस्र्याङ्दीमा आएको बाढीले भासिएको झोलुङ्गे पुलको लठ्ठा काटिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट र गोरखा नगरपालिका–१४ जोड्ने झोलुङ्गे पुल बिहीबार राति आएको बाढीले भासिएको थियो ।
पुलमा थप जोखिम हुन नदिन लठ्ठा काटिएको तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । बाढीले तनहुँतर्फको पुलको भाग भासिएर नदीमा पुगेको थियो । “पुल मर्मत नभइञ्जेल थप जोखिम हुन नदिन पुलको लठ्ठा काटिएको छ”, बरालले भने ।
पुलबाट दैनिक सयौँ सर्वसाधारण वारपार गर्दथे । गोरखास्थित अकला मन्दिर जाने बाटो पनि यही पुल थियो । पुल भत्किएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।
मुख्य राजमार्ग खुला, सहायक राजमार्ग अवरुद्ध
वर्षाका कारण पहिरो आउँदा जिल्लाका अधिकांश सहायक राजमार्ग अवरुद्ध भएका छन् । मुख्य राजमार्गको पहिरो हटाइए पनि सहायक राजमार्ग खुलाउन सकिएको छैन । सहायक राजमार्ग खुलाउने क्रम जारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी बरालले बताए ।
उनको अनुसार प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरवाराही जाने मार्ग पनि भासिएको छ । उक्त मार्गको प्राविधिकसहित अनुगमनको तयारी गरिएको छ । शुक्लागण्डकी नगरपालिकाकै दुलेगौडा लामागाउँ मोटरमार्ग पनि भासिएको छ । जिल्लाका अधिकांश ग्रामीण भेगका सडक पहिरोले अवरुद्ध भएको छ ।
बन्दीपुर–ढाडखोलाको पहिरो हटाउन शुरु
अविरल वर्षासँगै आएको पहिराले अवरुद्ध भएको बन्दीपुर गाउँपालिका–२ ढाडखोलाको पहिरो हटाउन शुरु गरिएको छ । बन्दीपुर–ढाडखोला मोटरमार्गमा विभिन्न ठाउँमा आएको पहिरो हटाएर सडक सुचारु गर्न शुरु गरिएको हो । शुक्रबार बेलुकीदेखि पहिरो पन्छाउने काम शुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् । पहिरोले ढाडखोला मोटरमार्गमा ठूलो क्षति पुर्याएको छ । ठाउँठाउँमा सडक भासिएको छ ।
त्यस्तै डुम्रे–बन्दीपुर सडकखण्डको पहिरो शनिबारदेखि हटाउन शुरु गरिनेछ । “पहिरोले गाउँपालिकाभित्रका विभिन्न वडाका सडक अवरुद्ध भएका छन्, क्रमशः अन्यत्र पनि पहिरो हटाउने काम गर्छौँ”, उनले भनिन् , “पहिराले विद्युत् पोलमा क्षति पु¥याएपछि बन्दीपुरका अधिकांश ठाउँ बिहीबारदेखि अन्धकार छ, बिजुलीको समस्या पनि शनिबार दिनभरमा समाधान हुन्छ । पहिराले गाउँपालिकाभित्रका सडक, विद्युत्, टेलिफोन, इन्टरनेट र खानेपानीमा क्षति पुगेको छ । रासस