सिमकोट : हुम्लाका स्थानीय उत्पादनहरुको ब्राण्डिङ सुरु भएको छ । माना पाथीका हिसावले बिक्री वितरण भइरहेका स्थानीय उत्पादनहरुको बिक्री वितरणमा आवश्यक परिणाम र गुणात्मकता दिनका लागि किलोमा नापतौल तथा ब्राण्डिङ गरिएको हो ।
हिमालय अर्गानिक एग्रो फार्मका सञ्चालक बिनोद लामाले अर्गानिक र स्वास्थ्यका लागि पोषिला उत्पादनका बस्तुलाई ब्राण्डिङ गरेर बिक्री वितरण सुरु गरिएको जानकारी दिए । यसअघि यी उत्पादनहरु ब्राण्डिङ नभइ बिक्री गरिरहदा जिल्ला बाहिरका ग्राहकबाट टिप्पणी हुने गरेको थियो । उनले बस्तु तथा उत्पादनलाई गुणात्मकता दिन ब्राण्डिङ सुरु गरिएको बताए ।
बिक्रीका लागि फार्ममा राखिएका उत्पादनको मुल्य समेत प्याकेजिङ गरि राखिएकोले ग्राहकलाई पनि मुल्य बारे स्पष्ट हुनेछ । यसअघि मानो पाथीका हिसावले यी उत्पादनहरु बिक्री हुँदै आएका थिए । लामाले प्योजिङमा उत्पादन भएका बस्तुको मुल्य, परिमाण, उपयोगीता र महत्वका बारेमा उल्लेख गरिएकोले कुनै अस्पष्टता नरहने बताए ।
फार्मले हुम्लामै उत्पादन हुने चिनोको चामल, मार्सी चामल, फाप, कोदो, गहुँ, उवा, जौको पिठो, सिस्नुको धुलो, डाले कुकको झोल, ओखर, मह, सिमि, स्याउको सुकुटी , गुच्ची च्याउ, घोडे मर्चाको चिया लगाएतका पन्द्र भन्दा बढी उत्पादनको ब्राण्डिङ गरि बिक्रीका लागि राखिएको छ ।
ब्राण्डिङ गरेर बिक्री सुरु गरिएपछि ग्राहकको संख्यामा वृद्धि भएको र बिना शोधखोज बिक्री हुन थालेको फार्मले जनाएको छ । कृषि बिकास कार्यालयका सुचना अधिकरी धर्मेन्द्र अधिकारीले जिल्लामा उत्पादन भएको अन्नवाली, फलफुल, जडिबुटीको प्रर्वधनका लागि ब्राण्डिङ कार्य सुरु गरिएको बताए ।
यसका लागि कार्यालयले फार्मसँग सहकार्य गरेको छ । यो कार्यले स्वास्थ्यका लागि लाभदायक स्थानीय रैथाने उत्पादनको गुणात्मक बिक्री बितरण कार्यमा सहयोग पुग्ने विश्वास लिएको कार्यालयले लिएको छ ।